काठमाडौं । पर्यटन व्यवसाय कोरोना महामारीले सबैभन्दा बढी प्रभावित क्षेत्र हो । दुई वर्षदेखि कोरोनाले शिथिल बनेका होटल, रेष्टुरेन्ट, ट्राभल, हवाई लगायत पर्यटन व्यवसाय अझै पूर्ण रूपमा संञ्चालनमा आउन सकेका छैनन् ।
कोरोनाका कारण २ पटक लकडाउन भोगेको पर्यटन व्यवसायीले लामोसमयसम्म व्यवसाय संचालन गर्न पाएनन् । जसले केही व्यवसायी आफ्नो पेशाबाटै पलायन भए भने अधिकांश व्यवसायी धरासायी बने ।
चालु वर्षको दशैं–तिहारपछि पर्यटन क्षेत्र केही चलायमान बनेको थियो । तर, त्यसपछि फैलिएको कोरोनाकै नयाँ भेरियन्टले थप आर्थिक संकटतर्फ धकेल्यो । अझैपनि बाह्य पर्यटकहरूको आगमन हुनसकेको छैन् भने पूर्ण रूपमा होटल तथा रेष्टुरेन्ट संञ्चालनमा आउनसकेका छैनन् । जसलेगर्दा पर्यटन व्यवसाय नै धरासाय बन्न्ने अवस्था आएको छ ।
विशेषगरी साना तथा मझौला होटल व्यवसायमा महामारीको सबैभन्दा बढी प्रभाव परेको व्यवसायीहरू बताउँछन् । सरकारले यसरी धरासाय बनेका पर्यटन तथा होटल व्यवसाय क्षेत्र उकास्नका लागि पुनरकर्जा, पुनरतालिकीकरण, सहुलितपूर्ण कर्जाको व्यवस्था गरे पनि त्यसबाट केही व्यक्तिले मात्रै फाइदा लिए । वास्तविक समस्यामा परेका व्यवसायीहरूको पहुँचमा सरकारले अर्थतन्त्रको पुनरुत्थानका लागि ल्याइएको उक्त सुविधा पुग्न सकेन ।
नेपाल राष्ट्र बैंकले चालु आवको अर्धवार्षिक रूपमा गरिएको मौद्रिक नीतिको समीक्षा मार्फत पुनरकर्जाको ब्याजदर दुई प्रतिशत बढाउने नीति लियो । जसको विरोध व्यवसायीहरूले गरेका छन् ।
महामारीले बैंकको ऋण तिर्न नसकेको अवस्थामा राष्ट्र बैंकको ब्याजदर वृद्धिको नीतिले अर्थतन्त्र संकटग्रस्त हुने उनीहरूको भनाइ छ । नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुले अहिलेसम्म व्यवसायीहरूले ऋण तिर्न नसकेको बताउँछन् । ‘केही मात्रामा अहिले होटल व्यवसायहरू संञ्चालनमा आएका छन् । समग्रमा व्यवसायीहरूले बैंकको ऋण तिर्नसक्ने अवस्था छैन्,’ उनले भने, ‘व्यवसायीहरूले उद्योग वाणिज्य महासंघ मार्फत पुनरकर्जाको ब्याजदर एक/दुई वर्षसम्म निरन्तर दिनुपर्ने राष्ट्र बैंकसँग माग गरिरहेका छौँ ।’
महामारीबाट सबैभन्दा बढी प्रभावित भएकाले सरकारले केही समय यस प्रकारका व्यवसाय उकास्न सहुलियतपूर्ण सुविधा निरन्तरता दिनुपर्ने उनले बताए । फागुन महिनामा बैंकहरूले ब्याजदर वृद्धि गरेर ११.३ प्रतिशतभन्दा माथि पुगिसकेको छ । राष्ट्र बैंकले तरलता समाधानको लागि अनावश्यक कर्जा प्रवाह निरुत्साहन गर्नभन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर बढाउन निर्देशन नै दिएको थियो ।
यसले व्यवसाय विस्तार तथा बैंकको ऋण तिर्न समस्या भएको व्यवसायीहरूको भनाइ छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल अहिले नै ब्याजदर वृद्धिको समस्या बैंकको कर्जामा नदेखिएको बताउँछन् । ‘अहिले त्यस्तो सारै इफेक्ट देखिएको छैन्, व्यवसायीहरूले थोरै भएपनि पैसा तिरिरहेकै छन्,’ उनले भने ।
पछिल्लो समय नेपालमा होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायको विस्तार बढ्दो क्रममा रहेको छ । लामो अवधिसम्म उपलब्धी दिइरहने भएकाले बैंक तथा वित्तीय संस्थाहरूले होटल तथा पर्यटन क्षेत्रमा कर्जा लगानी बढाउने गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ९१ अर्ब ६१ करोड रुपैयाँ पर्यटन, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कर्जा लगानी गरेका छन् ।