धमाधम अघि बढ्दै भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, ५३ प्रतिशत काम सम्पन्न

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५३ प्रतिशत प्रगति हासिल गरेको छ ।

 

कोरोना भाइरस महामारीमासमेत काम नरोकेको आयोजनाले तोकिएको समयमा काम सम्पन्न गर्न सिभिल निर्माण कार्यलाई तीव्रता दिएको छ । हाल बाँध (हेडवर्क्स) र विद्युत्गृह (पावरहाउस) निर्माण, हाइड्रो मेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम)सम्बन्धी डिजाइनका काम भइरहेको आयोजनाले जनाएको छ ।

 

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनीयर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल तर्फका खरिद सम्झौता सम्पन्न भई डिजाइनको काम थालिएको बताए । “समग्रमा आयोजनाको प्रगति ५३ प्रतिशत भएको छ, दोस्रो चरणको सिभिल निर्माणका काम पनि झण्डै ४० प्रतिशत सम्पन्न भएको अवस्था छ”, उनले भने, “तोकिएको समयमै सम्पन्न गर्न दोस्रो र तेस्रो चरणका कार्य अघि बढाइएको छ ।”

 

आयोजनाले दोस्रो चरणमा सिभिल संरचना जसअन्तर्गत हेडबक्स, पावर हाउस (विद्युत् गृह), बाँध (कफर ड्याम), सर्ज साफ्टत थाहा इड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्यलाई तेस्रो चरणमा काम अघि बढाएको हो । पहिलो चरणमा सुरुङको निर्माण कार्य तोकिएको समयभन्दा एक वर्ष अगावै सम्पन्न भइसकेको थियो ।

 

उनका अनुसार सिभिल निर्माणअन्तर्गत बबई हात्तीखोलमा विद्युत्गृह निर्माणको जग खन्ने काम भइरहेको छ । “सुरुमा मुआब्जा विवादले पनि आयोजनाको काममा केही ढिलाइ भयो”, सिनियर डिभिजनल इञ्जिनीयर सुवेदीले भने, “स्थानीयवासीले रोजगारी मागेपछि पनि विवादले केही दिन काम रोकिएको थियो ।” अहिले योजनाका काम भइरहेको उनको भनाइ छ ।

 

आयोजनाको कुललागत रु ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म रु १४ अर्ब बढी रकम भइसकेको छ । सरकारले आयोजना काला गिचालू आवमारु तीन खर्ब ४ करोड ६ लाख बजेट पुँजीगत तर्फ विनियोजन गरेको छ । आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ ।

 

चिनियाँ कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिजप्रालि (कोभेक)ले टनेल बोरिङ मेसिन (टीबीएम) का सहायताले सुरुङ निर्माण गरेको थियो । दोस्रो चरणका मुख्य काम बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै कार्य आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ ।

 

सुर्खेतको भेरीगङ्गा नगरपालिका ५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गा नगरपालिका–११ हात्तीखोलामा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ ।

 

सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।

 

‘५१ हजार हेक्टर भन्न मिल्दैन’

 

भेरी–बबई आयोजनाले बबई सिँचाइ परियोजनाको सिञ्चित क्षेत्रलाई समेत आफ्नो कार्यक्षेत्रमा गणना गरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । अहिले ३६ हजार हेक्टरमा परियोजनाले सिँचाइ सुविधा पु¥याएको भए पनि भेरी–बबईले उक्त क्षेत्रलाई आफ्नो कार्यक्षेत्रमा गणना गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

 

भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने आयोजनाको भनाइ छ । “आयोजनाको कमान्ड एरिया ३६ हजार र सो योजनाले समेट्न नसकेको थप १५ हजार हेक्टरमा वर्षभरि सिँचाइ पुर्याउन भेरी नदीको ४० क्युसेक पानीलाई सुरुङका माध्यमबाट बबई नदीमा पुर्याउने उद्देश्यले भेरी–बबई डाइभर्सन आयोजना सञ्चालित छ”, प्रतिवेदनमा भनिएको छ, “आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा बबई सिँचाइ आयोजनाको स्रोत र सिञ्चित क्षेत्रलाई यस आयोजनाको कार्यक्षेत्रमा गणना गरेकाले दोहोरो गणना गरी आयोजना सम्भाव्य देखिएकोमा थप विश्लेषण भएको छैन ।” रासस

कोरोनाले शिथिल पर्यटन क्षेत्र ब्याजदर वृद्धिले झनै संकटमा, व्यवसायी भन्छन्-'ऋण तिर्नसक्ने अवस्था छैन' Read Previous

कोरोनाले शिथिल पर्यटन क्षेत्र ब्याजदर वृद्धिले झनै संकटमा, व्यवसायी भन्छन्-'ऋण तिर्नसक्ने अवस्था छैन'

सहकारीको ब्याजदर र सेवा शुल्कको सीमा तोकियो, कतिसम्म लिन पाउँछन् ? Read Next

सहकारीको ब्याजदर र सेवा शुल्कको सीमा तोकियो, कतिसम्म लिन पाउँछन् ?