बैंकले ऋण नदिँदा घर निर्माण सुस्त, घट्यो सिमेन्टको भाउ

काठमाडौं । पूर्वाधार निर्माणको मुख्य निर्माण सामग्री सिमेन्टको भाउ घटेको छ । निर्माणको सिजन भए पनि सिमेन्टको मागमा कमी आउँदा मूल्य पनि घटेको हो ।

 

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार फागुन यता सिमेन्टको मूल्य प्रतिबोरा २० रुपैयाँसम्म घटेको छ । ‘पछिल्लो १५ दिनमै सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २० रुपैयाँ घटेको छ । यस्तै, भदौ यता प्रतिबोरा ६० देखि ७० रुपैयाँसम्म सिमेन्टको मूल्य घटेको छ,’ संघका अध्यक्ष ध्रुव थापाले भने ।  ओपीसी र पीपीसी दुवै सिमेन्टको भाउ घटेको थापाको भनाइ छ ।

 

विकास निर्माणको कामले गति नलिँदा सिमेन्टको माग बढ्न नसकेको थापाले बताए । ‘फागुन लागेसँगै विगतका वर्षहरूमा भवन निर्माण तथा भौतिक पूर्वाधार निर्माणको कामले गति लिनेगर्थ्यो । निर्माण गतिविधि हुँदा सिमेन्ट प्रयोग धेरै हुन्थ्यो । तर यो वर्ष फागुनको दोस्रोे साता बित्दा समेत पूर्वाधार निर्माण सुस्त देखिएको छ । जसले सिमन्टको माग बढ्न सकेको छैन,’ उनले भने ।

 

संघका अनुसार यस वर्ष साउनदेखि नै सिमेन्टको मूल्य घट्न थालेको हो । पछिल्लो ७/८ महिनाको अवधिमा सिमेन्टको मूल्य प्रतिबोरा ८० रुपैयाँसम्म घटिसकेको छ ।

 

पछिल्लो समय सरकारले पूँजीगत खर्च गर्न सकेको छैन भने बैंकिङ प्रणालीका चरम तरलता अभावका कारण व्यक्तिगत घर बनाउनेहरूले समेत ऋण नपाउँदा निर्माण कार्यले गति लिन सकेको छैन । घर बनाउने योजनामा रहेका व्यक्तिहरूले बैंकबाट ऋण नपाउँदा भवन निर्माण अघि बढाउन नसक्दा सिमेन्टको माग बढ्न नसकेको हो ।

 

सरकारी योजनाका सडक आयोजनाका साथै व्यक्तिघर निर्माणमा ठूलो मात्रामा सिमेन्ट खपत हुने गरेको छ । यी कामले गति लिन नसक्दा सिमेन्टको माघ बढ्न नसकेको व्यवसायी बताउँछन् ।

 

पछिल्लो समय नेपालमा सिमेन्टको उत्पादन वृद्धि हुँदै गए पनि भौतिक पूर्वाधार निर्माणका कार्य निरन्तर नभएको कारण सिमेन्टको मूल्य घटेको थापाको भनाइ छ ।हाल नेपालमा मागभन्दा बढी सिमेन्ट उत्पादन भइरहेको थापाले बताए । ‘पछिल्लो समय सिमेन्ट उत्पादन मागभन्दा बढी छ, बजारमा माग पनि छैन, जसले गर्दा सिमेन्टको मूल्य घटेको छ,’ अध्यक्ष थापाले चाणक्य पोष्टसँग भने ।

 

नेपालमा वार्षिक २ करोड ५० लाख मेट्रिकटन सिमेन्ट उत्पादन र खपत हुने सिमेन्ट उद्योग संघले बताएको छ । स्वदेशी उद्योगले नै सम्पूर्ण माग धान्ने अवस्था रहँदा नेपाल सिमेन्टमा आत्मनिर्भर समेत बनेको छ, तर पछिल्लो समय बजारमा माग नुहँदा उत्पादकले घाटा खाएरै मूल्य घटाएर सिमेन्ट विक्री गर्दै आएको संघको भनाइ छ ।

 

बजारमा हरेको वस्तुको मूल्य बढे पनि सिमेन्टको भने घटेकोघट्यै भएको उनले बताए । ‘पछिल्लो समय बजारमा हरेक वस्तुको मूल्य वृद्धि भएको छ, तर सिमेन्टको मूल्य घट्दा व्यवसायी नै चिन्तित बनेका छन्, घाटा खाएरै सिमेन्ट बेच्न बाध्य छौं, विगतमा हाम्रो उत्पादन कति थियो त्यसको ३० प्रतिशत खपत घटेको छ,’ थापाले भने ।

 

सिमेन्टको खपत वृद्धिएसँगै पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगको संख्या वृद्धि हुँदै गएको छ । सिमेन्ट उद्योग संघका अनुसार हाल नेपालमा ६४ वटा सिमेन्ट उद्योग संचालनमा आएका छन् भने कतियप संचालन हुने तयारीमा पनि छन् । ती सिमेन्ट उद्योगमा ३०० अर्ब रुपैयाँ बढी लगानी भएको छ । तर निरन्तर सिमेन्टको मूल्य घट्दा व्यवसायीहरू मारमा परेको संघको भनाइ छ ।

 

बेँसीसहर-चामे सडक १५ दिन बन्द हुने Read Previous

बेँसीसहर-चामे सडक १५ दिन बन्द हुने

नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ? Read Next

नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ?