काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसीसीबारे प्रतिनिधि सभामा छलफल हुने दिन आज अर्थमन्त्री जनार्दन शर्मा भने पर्वत पुगेका छन् ।
पर्वत उद्योग वाणिज्य संघको साधारण सभामा प्रमुख अतिथिको रूपमा सहभागी हुन भन्दै अर्थमन्त्री शर्मा आज पर्वत पुगेका हुन् । उनी हिजो श्रीमती (लक्ष्मी पौडेल)सहित बागलुङ पुगेका थिए ।
अर्थमन्त्री शर्माले बाग्लुङमा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफेमा बसेर खाजा खाएको भिडियो/फोटो सार्वजनिक भएको छ ।
कालीगण्डकी नदि खोँचमा नदी देखि २५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमतीसँगै बसेर आनन्द लिएका हुन् ।
सरकारले सत्ता गठबन्ध दलहरुको असहमतिका बीच फागुन ५ गते एमसीसी प्रतिनिधि सभा बैठकमा पेश गरेको थियो । सो दिन पनि अर्थमन्त्रीले पेश गर्ने कार्यसूची बनेको भए पनि अर्थमन्त्री शर्मा अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित भएका थिएनन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए ।