काठमाडौं । बुद्ध एयरले थप अर्को एटीआर–७२ जहाज भित्र्याएको छ । बुद्धले बुधबार साँझ ७२ सिटे जहाज ल्याएको हो । कलसाइन 9N-ANP रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ २ साताभित्र उडान सेवा दिने बुद्ध एयरले जनाएको छ ।
ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाईभाडादर पनि स्वतः सस्तो र सहज हुन्छ । त्यही अनुरुप बुद्ध एयरले ७२ सिटे जहाज भित्र्याएको हो । यससँगै बुद्ध एयरको जहाज संख्या १६ पुगेको छ । जसअनुसार ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा वीचएयरक्राफ्ट जहाज रहेका छन् ।
बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध छ । गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ ।
त्यस्तै नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुद्धले विज्ञिप्ति मार्फत जनाएको छ । यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्नेछ ।
नेपाली यात्रुहरुका लागि पनि बुद्ध एयरले हवाई उडानलाई सहज र सरल बनाएको छ । सस्तो भाडासँगै उडान संख्या उल्लेख्य मात्रामा वृद्धि गरेको छ, जसअनुसार यात्रुहरु आफ्नो समय अनुकल उडान भर्नसक्छन् ।
आन्तरिकतर्फ हवाई यात्रा समग्र रुपमै सस्तिएको छ । ‘बुद्ध एयर निरन्तर हवाईयात्रालाई सबैको पहुँच बनाएका छन् र यसलाई अझ सहज बनाउन प्रतिवद्ध रहेको’ बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने समेत बताए ।
बुद्ध एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ । नेपालगञ्ज, भैरहवा, भरतपुर र सिमराबाट उडान भइरहेको र मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान सुरु गर्न लागेको छ । त्यस्तै मार्चको १५ देखि भद्रपुरबाट पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना पनि रहेको जनाएको छ ।