मुलुको व्यापार घाटा १० खर्ब नाघ्यो

काठमाडौं । नेपालको चालु आर्थिक वर्षको सात महिनामा व्यापार घाटा १० खर्ब बढी पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब रुपैयाँ पुगेको हो ।

 

गत वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले चालु वर्षको सात महिनामा (साउन-माघ)सम्म ११ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

 

गत आवको समीक्षा अवधिमा कुल नेपालले ८ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस अवधिमा नेपालको वस्तु आयात ४२.७२ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।

 

चालु आवको सात महिनामा नेपालले १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत वर्षको तुलनामा निर्यात भने ८८.३० प्रतिशतले बढेको छ । विभागका अनुसार नेपालले गत वर्षको उक्त अवधिमा ६९ अर्ब रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो ।

 

असन्तुलन व्यापार र स्वदेशी वस्तुको निकासी गर्न नसक्दा नेपालले उल्लेख्य व्यापार घाटा बेर्होदै आएको छ । नेपाल राष्ट्र बैंकले व्यापार घाटा बढेर भुक्तानी असन्तुलन भएको भन्दै केही समयअघि मात्रै वस्तु आयातमा कडाइ गरेको थियो ।

 

राष्ट्र बैंकले आयातमा कडाई गर्ने नीति लिएपनि वस्तु आयात भने घटेको छैन् । कुल वस्तु आयात वापत विभागले २ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

यी हुन् सबैभन्दा धेरै आयात भएका १० वस्तु

 

चालु वर्षको सात महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल पहिलो नम्बरमा रहेको छ । यस अवधिमा ७२ अर्ब रुपैयाँ बराबरको डिजेल आयात गरिएको विभागले जनाएको छ । स्वायाविनको तेल ४० अर्ब, खाना पकाउने ग्यास ३४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

 

विभागका अनुसार पेट्रोल ३३ अर्ब रुपैयाँ बराबरको, स्टिल र पाम तेल २९/२९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यसैगरी, मोबाइल सामाग्री २८ अर्ब, औषधी २६ अर्ब र सुन २५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

 

भारतसँग मात्रै करिब ६ खर्ब व्यापार घाटा

 

नेपालको व्यापार घाटा सबैभन्दा धेरै भारतसँग रहेको छ । चालु वर्षको सात महिनामा भारतसँग मात्र ५ खर्ब ८९ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको हो । यस अवधिमा भारतबाट ६ खर्ब ९६ अर्ब रुपैयाँ बरारबरको सामान आयात गर्दा १० अर्ब रुपैयाँ बराबरको मात्रै सामान निर्यात गरिएको विभागको तथ्यांक छ ।

 

भारतपछि नेपालको चीनसँग व्यापार घाटा धेरै रहेको छ । समिक्षा अवधिमा नेपालले चीनबाट १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा ४८ करोडको मात्रै सामान निर्यात गरेको छ । जसबाट नेपालको उक्त देशसँग १ खर्ब ६४ अर्ब रुपैयाँ व्यापार घाटा भोग्नु परेको छ ।

 

यसैगरी, इन्डोनेसियासँग ३५ अर्ब, यूएईसँग ३१, अर्जेन्टिनासँग २८ र अमेरिकासँग २० अर्ब बढी व्यापार घाटा पुगेको छ ।

 

८ करोडको आइपीओ ल्याएको नेष्डो लघुवित्तमा एनजीओ र बैंकसम्मको लगानी, यस्तो छ वित्तीय अवस्था Read Previous

८ करोडको आइपीओ ल्याएको नेष्डो लघुवित्तमा एनजीओ र बैंकसम्मको लगानी, यस्तो छ वित्तीय अवस्था

विदेशी सुपारीको आयात बन्द गर्न माग Read Next

विदेशी सुपारीको आयात बन्द गर्न माग