काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले भोलि (फागुन ११ गते)देखि प्राथमिक साधरण सयेर (आइपीआ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २८ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन हुने कुल सेयरमध्ये ०.५ प्रतिशत (१२ हजार ७५० कित्ता) संस्थाका कर्मचारी र ५ प्रतिशत (४१ हजार ४३७ कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
सञ्चालनमा आएको ३ वर्षमा ५६ शाखा विस्तार
यस वित्तीय संस्था कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७४ चैत २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो भने २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित पाएको थियो।
लघुवित्तले २०७५ फागुन ११ गते देखि औपचारिक रूपमा कारोबार सुरु गरेको थियो । यद्यपि, विगत २० वर्षदेखि लघुवित्तीय गैर सरकारी संस्था ‘राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल’ले कारोबार गर्दै आइरहेको थियो ।
नेष्डोले हाल राष्ट्रिय स्तरको लघुवित्तको रूपमा कारोबार गर्दै आएको छ । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय गण्डकी प्रदेश, पर्वत जिल्ला, कुश्मा नगरपालिका–६ मा रहेको छ ।
सञ्चालनमा आएको ३ वर्षको अवधिमा लघुवित्तले देशका १२ जिल्लामा शाखा संजाल विस्तार गरेको छ । हालसम्म लघुवित्तले ५६ वटा शाखा संजाल विस्तार गरिसकेको छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
५० करोड अधिकृत पूँजी रहेको लघुवित्तको जारी पूँजी २५ करोड ५० रुपैयाँ रहेको छ । हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न कम्पनीले ८ करोड २८ लाख ७५ रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।
आइपीओपछि कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ६७.५० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३२.५० प्रतिशत रहने छ ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्म १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ५० लाख रुपैयाँ कम हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले १३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो ।
हाल १७ करोड २१ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ५४ करोड ३ लाख संचित छ । समीक्षा अवधिसम्म लघुवित्तले ३३ करोड सापटी र २ अर्ब ३७ करोड निक्षेप संकलन गरी ४ अर्ब २१ करोड कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५३.८१ रुपैयाँबाट घटेर १२४.७८ रुपैयाँमा झरेको छ ।
आगामी वर्ष २०७९/८० मा लघुवित्तको प्रतिसेयर आम्दानी १२३.८९ रुपैयाँ र आव २०८०/८१ मा १३२.८२ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०७९/८० मा ३९० र २०८०/८१ मा ४०७.५९ रुपैयाँ पुग्ने प्रक्षेपण छ ।
गत आर्थिक वर्ष २०७७/७८ सम्म २५ करोड ३० लाख रुपैयाँ सञ्चित नाफा रहेको लघुवित्तले चालु आव २०७८/७९ मा यस्तो नाफा ३१ करोड ९६ लाख पुर्याउने प्रक्षेपण गरेको छ । त्यसैगरी, आगामी आव २०७९/८० मा ४३ करोड १२ लाख र आव २०८०/८१ सम्म ५७ करोड ४३ लाख पुग्ने प्रक्षेपण गरेको छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको संकेत गर्दछ।
को-को छन् प्रमोटर सेयर होल्डर ?
कुल चुक्त पूँजीको ६७.५० प्रतिशत संस्थापक सेयर स्वामित्व रहने लघुवित्तमा वाणिज्य बैंक, गैरसरकारी संस्था र विभिन्न व्यक्तिहरु प्रमोटर सेयर होल्डरका रूपमा रहेका छन् ।
लघुवित्तमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल , प्रभु बैंक, विश्वप्रकाश प्रसाई ठकुरी मुख्य लगानीकर्ताका रूपमा रहेका छन् । लघुवित्तको मुख्य संस्थापक सेयर होल्डरको रूपमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल नामक संस्था रहेको छ । संस्थामा यसको १२ करोड रुपैयाँ लगानी अर्थात् १२ लाख कित्ता सेयर हिस्सा रहेको छ ।
त्यसैगरी, लघुवित्तमा प्रभु बैंक पनि मुख्य सेयर होल्डर रहेका छन् । लघुवित्तमा बैंकको १ करोड २५ लाख रुपैयाँ लगानी अर्थात् १ लाख २५ हजार कित्ता सेयर रहेको छ ।
त्यस्तै, विश्वप्रकाश प्रसाई ठकुरीको ३७ हजार ५०० कित्ता, सावित्री खत्री क्षेत्री १५ हजार कित्ता, रत्नप्रसाद अधिकारी ५ हजार कित्ता र अन्य व्यक्तिहरुको ३ लाख कित्ता बढी सेयर स्वामित्व रहेको छ ।
लघुवित्तले आइपीओबाट प्राप्त पैसा कहाँ लगानी गर्छ ?
लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न आइपीओ जारी गर्न लागेको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरेको छ । साथै, लघुवित्तका उद्देश्य अनुसार गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आइपीओ निष्काशन गर्नु परेको जनाएको छ ।
लघुवित्तले आइपीओ विक्रीबाट प्राप्त हुने ८ करोड २१ लाख रुपैयाँमध्ये पशुपालन तथा कृषि कर्जामा ४ करोड १३ लाख रुपैयाँ, खुद्रा व्यापार र सेवा कर्जामा २ करोड ७ लाख रुपैयाँ र साना तथा घरेलु उद्योग कर्जामा २ करोड ७ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।