काठमाडौं । उद्योगीहरुले चिनी विक्री रोकेका छन् । माग अनुसार उत्पादन हुन नसकेको भन्दै विक्री रोकेका हुन् ।
उत्पादन हुन नसकेको भनिए पनि फेरि चिनीको भाउ बढाउन उद्योगीहरुले विक्री रोकेको जनाइएको छ । गत महिना मात्रै उखुको मूल्य बढेको भन्दै चिनी मिलहरुले प्रतिकेजी १६ रुपैयाँसम्म भाउ बढाएका थिए ।
गत महिना सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ५५ रुपैयाँ बढाएर ५९९ रुपैयाँ पुर्याइएको थियो । लगत्तै उद्योगीले चिनीको मूल्य प्रतिकेजी ८ देखि १६ रुपैयाँसम्म वृद्धि गरेका थिए । त्यतिबेला प्रतिकेजी ७२ देखि ७६ रुपैयाँसम्ममा रहेको चिनीको मूल्य उद्योगीले बढाएर ९० रुपैयाँसम्म पुर्याएका थिए ।
अहिले चिनी उत्पादनका लागि उखुको अभाव भएको भन्दै उद्योगीहरुले चिनी विक्री नगरेको व्यापारीहरुले बताएका छन् । चिनी उत्पादन नभएको भन्दै मिलहरुले व्यापारीलाई माग अनुसार चिनी दिने गरेका छैनन् ।
चिनी उद्योगीहरुले आफूसँग भएको चिनी बजार पठाइरहेको बताएका छन् । तर, व्यापारीका अनुसार चिनी उद्योगीले पुरानो चिनी बेचिसकेको र नयाँ चिनीको मूल्य बढाउन विक्री नै रोकेका छन् । विगत ३/४ दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको व्यापारीको भनाइ छ ।
चिनीको नयाँ विक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरुले नमानेको एक व्यापारीले बताए । व्यापारी हरि कार्कीले चार दिनदेखि आफ्नो पसलको लागि चिनी ल्याउन नसकेको बताए । ‘चार दिनदेखि पसलको लागि चिनी ल्याउन सकेको छैन, सधैं चिनी ल्याउने गरेको होलसेल पसलेले चिनी छैन भन्छन्,’ उनले चाणक्य पोष्टसँग भने ।
कार्कीका अनुसार पुरानो चिनी बजारमा पठाएको हल्ला भए पनि नयाँ चिनीको लागि मूल्य नतोकिएको कारण बजारमा चिनीको अभाव भएको हो । अब बजारमा आयात हुने चिनीको मूल्य वृद्धि भएर आउने उनको भनाइ छ ।
हाल बजारमा चिनीको होलसेल मूल्य नै प्रतिकेजी ९० रुपैयाँसम्म रहेको छ भने खुद्रा बजारमा १०० रुपैयाँसम्ममा विक्री हुँदै आएको छ ।
मूल्य वृद्धिको गुनासो आएको छ, अध्ययन गर्दैछौं : विभाग
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चिनी अभाव भन्दा पनि चिनीको मूल्य वृद्धि भएको भन्ने गुनासो आएको बताएको छ । ‘विभागमा चिनीको अभाव भन्दा पनि मूल्य वृद्धि भयो भनेर अस्तिदेखि गुनासो आएको छ, हामी अनुगमन र अध्ययन प्रक्रियामा छौं,’ विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले भने ।
चिनी उद्योगीले चिनी किन पठाएनन्, यदि मूल्य वृद्धिकै लागि चिनी आयात नभएको भए कारवाही हुने श्रेष्ठको भनाइ छ । हालसम्म यस सम्बन्धी कुनै विवरण प्राप्त नगरेको उनले बताए ।
‘विभागले उद्योगीबाट हाल सम्म कुनै विवरण पाएको छैन, प्राइभेट सेक्टरले यहीँको उत्पादन र बाहिरबाट ल्याउँदाको आधारहरु जान्न चाहेर विवरण मागेका छौं,’ उनले भने ।
विगतका वर्ष साल्ट ट्रेडिङले चिनी ल्याएर दिने गरेको भए पनि यस वर्ष सरकारले अनमति नदिँदा ल्याउन सकेको छैन । सरकारी संस्थानले चिनी नल्याउँदा व्यापारीले अनेक बाहानामा भाउ बढाउने गरेका छन् ।