काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गतका सडक निर्माणले गति लिएको छ । ठेकेदारको लापारबाही, मुआब्जा विवाद, स्थानीयको अवरोध, कोरोना लगायत कारणले अलपत्र ९ सडक आयोजनाको कामले पछिल्लो समय गति लिएको हो ।
उपत्यकामा निर्माण भइरहेका ती ९ सडक आयोजनाको आगामी चैत भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । मन्त्रिपरिषद्को निर्देशन अनुसार ९ सडक विस्तारको काम यथास्थितिमा सक्ने गरी अघि बढाइएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।
उक्त निर्देशन अनुसार सबै ठेकेदारले तोकिएको समयमा निर्माण काम सम्पन्न गर्नुपर्ने छ । ‘सबैतिर धमाधम भइरहेको छ, चैत मसान्तभित्र सक्ने गरी ठेकेदारले काम गरिरहेका छन्,’ जोशीले चाणक्य पोष्टसँग भने ‘चैतभित्र सक्नुको अर्को विकल्प छैन ।’
विभागका सूचना अधिकारी जोशीले सबै ठेक्कामा निर्माणको काम धमाधम भइरहेको जानकारी दिए । उनले चालु आवसम्म आयोजना भित्र ८० प्रतिशत भौतिक प्रगति भएको बताए । उनले वित्तियतर्फ हालसम्म ७० प्रतिशत प्रगति भएको जानकारी दिए । बजेट अभावका कारण भुक्तानीको काम हुन नसकेको उनले बताए ।
गत आर्थिक वर्षमा कोभिड १९ का कारण विस्तारको कामले भने जस्तो गति लिन सकेको थिएन । चालु आवमा चाडपर्व तथा वेमौसमी वर्षाका कारण निर्माणले गति लिन नसके पनि पछिल्लो समय भने सडक निर्माणले गति लिएको हो ।
कात्तिकसम्म गति लिन नसकेको आयोजनाले मंसिर यता गति लिएको जोशीले बताए । ‘गत आवसम्म कोभिडले काम हुन दिएन, यो आवमा सुरूमै चाडपर्वका कारण र लगातार वर्षाका कारण धेरै राम्रो काम हुन सकेन, तर अहिले काम धमाधम भइरहेको छ, ठेकेदारहरूलाई चैतभित्रै काम सक्ने गरी परिचालन गरिसकेका छौं,’ जोशीले भने ।
कुन सडकको कति बाँकी छ काम ?
जोरपाटी-सुन्दरीजल सडक : यस सडक आयोजना अन्तर्गत ७ किलोमिटर लम्बाइ मध्ये १ किलोमिटरमा मात्र काम हुन बाँकी रहेको छ । हालसम्म ८० प्रतिशत बढीकाम सकिसकेको यस आयोजनामा इन्द्रानी-मनमता खोला खण्डमा १ किलोमिटरमा काम हुन बाँकी रहेको छ ।

घर टहरा हटाएर विस्तार गर्न खोज्दा स्थानीयले विरोध सृजना गरेपछि सो खण्डमा यथास्थितिमा सडक कालोपत्र गर्ने काम भइरहेको छ । २०७३ असारमा सुरू भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको थिएन । पछि ठेक्काको म्याद २०७८ वैशाख सम्मका लागि थप गरिएको थियो कोभिडको कारण काम सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी चैतभित्र सम्पन्न गर्ने भएको हो ।
त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक : यस सडक आयोजना अन्तर्गत हालसम्मा ९५ प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । सो खण्डमा ३ वटा ठेक्का रहेको छ । उक्त सडक खण्डको कालोपत्र गर्ने काम सकिए पनि रेलिङ, फुटपाथ लगायतका काम बाँकी रहेकाले सो सम्पन्न गरी हस्तान्तरण गर्न ठेक्का व्यवसायीलाई मंसिर १६ देखि परिचालन गरिएको छ ।
विभिन्न खण्डमा सडक खाल्टाखुल्टी परेकाले समेत उक्त स्थानमा ठेकेदार आफैंले कालोपत्र गर्नुपर्ने आयोजनाले जनाएको छ । ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गरिएको हो ।
त्रिपुरेश्वर-नागढुंगा सडक आयोजना २०७२ असार ३१ गतेबाट सुरू हुने गरी सम्झौता भएको थियो । २०७६ चैतभित्र सम्पन्न गर्ने भनिए पनि सो समयमा सम्पन्न हुन नसकेपछि २०७७ पुससम्मको म्याद थप भएको थियो । उक्त समयमा समेत ठेक्का सम्पन्न गरी हस्तान्तरण नभएपछि आउदो चैतमसान्तभित्र सम्पन्न गर्नेगरी म्याद थप भइ काम भइरहेको छ ।
नख्खु खोला-भैसेपाटी-बुंमती सडक : यस सडक आयोजना अन्तर्गत २ वटा प्याकेजमा ५ किलोमिटर सडकमा माटो हाल्ने, हिमपाइप हाल्ने, रोड ग्रेडिङ, बेस र सबबेस लगायतको काम भइरहेको छ । यस आयोजनामा कुनै पनि खण्डमा हालसम्म कालोपत्र हुन सकेको छैन ।

आयोजनाको काम गर्न ठेकेदारले सुरू गरिसकेको जोशीको दाबी छ । ७५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको यस आयोजना चैतभित्र सम्पन्न गर्ने अनुमान गरिएको छ । यो सडक निर्माण २०७३/७४ मा सुरू भएको हो ।आयोजनाका सूचना अधिकारी जोशी रोड ग्रेडिङ, बेस र सबबेस सबै सकेपछि कालोपत्र गर्न धेरै समय नलाग्ने भएकाले समयमै निर्माण सम्पन्न हुने बताउँछन् ।
चाबहिल-जोरपाटी-साँखु सडक : यस सडकखण्ड अन्तर्गत अझै १ किलोमिटर हाराहारीमा सडक निर्माण बाँकी रहेको छ । उक्त खण्डको थली उकालोको ५० मिटर, खुलमटार र तिवारी गाउँमा गरी १ किलोमिटरमा कालापत्र गर्न बाँकी रहेको छ ।
चाबहिल-साँखु खण्डमा कुल ११.६ किलोमिटर मध्ये ९० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । ४ वटा ठेक्कामा काम भइरहेको सो खण्डमा यथावत स्थितीमा सम्पन्न गर्नेगरी काम भइरहेको जोशीले बताए ।
इमाडोल-हरिसिद्धि-गोदावरी-लामाटार सडक : यस आयोजना अन्तर्गत हरिसिद्धि-गोदावरी क्षेत्रमा ४ किलोमिटर कालोपत्र भएको छ । उक्त खण्डमा ३०० मिटर मा सडक कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
इमाडोल-लामाटार खण्डमा सडक कालोपत्र सम्पन्न भए पनि पुल खण्डमा ३०० मिटरमा आरसीसि ढलान गर्न बाँकी रहेको आयोजना प्रवक्ता जोशीले बताए । ८ किलोमिटर लम्बाइ रहेको सो सडक चैतभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।
कर्मनाशा खोला-गोदावरी सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । कुल साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्डमा ५०० मिटरमा कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
करिब २०० मिटरमा आरसीसी गर्न बाँकी रहेको छ । आयोजनाको अन्य क्षेत्रमा बेस हाल्ने काम भइरहेको छ । २०७३/७४ मा सुरू भएको यस आयोजनामा ४०० घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।
पेप्सीकोला-सल्लाघारी सडक : यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस क्षेत्रमा कालोपत्रको काम मात्र बाँकी रहेको बताइएको छ ।

साढे ४ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभिले निर्माण ठेक्का लिएको छ । सो आयोजना अन्तर्गत साढे २ किलोमिटरमा कालोपत्रको काम सम्पन्न भएको छ । २०० मिटरमा आरसीसी ढलान गर्न लागिएको आयोजनाले जनाएको छ ।
ढोलाहिटी-चापागाउँ-लेले सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ७५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डको लेले क्षेत्रमा बेस हालिएको छ । ढोलाहिटिमा सब-बेस र कालोपत्रको काम बाँकी रहेको छ । उक्त खण्डमा ग्रेडीङ, बेस, सबबेस हाल्ने काम भइरहेको छ ।
सुरूमा यो सडक १७.२० मिटर चौडाइमा निर्माण थालिएको थियो । पछि २० मिटर चौडाइमा निर्माण गर्ने भनिए पनि स्थानीय वासिन्दाले १७.२० मिटर चौडाइमै निर्माण गर्न माग गरेका छन् । स्थानीयको माग अनुसार मापदण्ड घटाइ निर्माण गर्न थालिएको थियो । २०७३/७४ मा सुरू भएको यस आयोजनामा यथास्थितिमा भए पनि यही चैतभित्र पूरा गरिने भनिएको छ ।
थप डेढ अर्ब बजेट माग
काठमाडौं उपत्यका विस्तार आयोजना अन्तर्गत भुक्तानीका लागि बजेट अभाव भएको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी जोशीका अनुसार हालसम्म आयोजना भित्र ७० प्रतिशत बजेट भुक्तानी भइसकेको छ ।
आयोजना सम्पन्न हुन २ अर्ब बजेट लागत अनुमान गरिए पनि आयोजनाले डेढ अर्ब बजेट माग गरेको उनले बताए । बजेट थप गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात विभागमा माग गरिएको हो । भुक्तानी समयमा नहुँदा ठेकेदारले काम गर्न आनाकानी गर्ने सम्भावना हुने भन्दै उनले बजेट स्वीकृत भए समयमै काम सक्ने बताए ।