काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनल बीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे ।
बैंकले मोबाइल बैकिङ्ग सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो ।
अब गरिने स्तरोन्नती पश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाइल एप मार्फतनै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गरि सहज तथा सरल ढंगबाट आफूलाई आवश्यक वित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ ।
बैंकले हाल देशभरका ११५ शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ९७ एटीएममार्फत करिब ७ लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।