काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हमालले अन्तिम तीनमा परेका गोपालप्रसाद भट्ट र कृष्णराज पोखरेललाई पछिपार्दै बाजी मारेका हुन् । झन्डै ६ महिनापछि बोर्डले नेतृत्व पाएको हो ।
हमाल काँग्रेस निकट मानिन्छन् । सत्ता गठबनधन बीच भएको भागवण्डा अनुसार नेपाल स्टक एक्स्चेन्जको सीईकोमा माओवादी निकट कृष्णबहादुर कार्की नियुक्त भएका थिए भने हमाल काँग्रेसको कोटामा बोर्ड अध्यक्षमा नियुक्त भएको बताइन्छ ।
हमालले भारतको जम्सेदपुरबाट इन्जिनियरिङमा स्नातक गरेका छन् थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबीए गरेका छन्।
हमालसँग रियल इस्टेट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव छ। हमाल लामो समय थाइल्याण्डमा बस्दै आएका थिए भने ३ वर्ष यता नेपालमै बसिरहेका छन् ।उनी एनआरएन थाइल्याण्डका पूर्व अध्यक्ष समेत हुन्
बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले गत असोजमा बर्खास्त गरेको थियो । त्यसयता बोर्ड नेतृत्वविहीन भएको थियो ।