ट्र्याक खुलेको १६ वर्षपछि सडक कालोपत्र हुँदै

सांकेतिक तस्वीर

म्याग्दी । ट्र्याक खुलेको १६ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्र हुने भएको छ ।

 

जीसी निर्माण सेवाले स्तरोन्नतिको जिम्मा लिएको सो सडकको ट्र्याक विसं २०६३ खोलिएको थियो । अहिले हाँडेभीरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब २ किलोमिटर क्षेत्रमा बाटो विस्तार र स्तरोन्नतिको काम सकिएर कालोपत्रको तयारी गरिएको छ ।

 

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु ४ लाख ९५ हजार गरी कुल रु ५३ लाखको लागतमा सो सडकको स्तरोन्नति गरिएको हो ।

 

सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको सडक उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनका अनुसार सो सडकखण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ । सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा सावित हुने स्थानीयवासीले बताएका छन् ।

 

यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए । सडक कोलोपत्र भएपछि यस क्षेत्रका करिब २० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने समाजसेवी तीर्थबहादुर गुरुङले बताए ।रासस

आगामी साता आइपीओ ल्याउन लागेको नेष्डो लघुवित्तको ईपीएस १२४ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था Read Previous

आगामी साता आइपीओ ल्याउन लागेको नेष्डो लघुवित्तको ईपीएस १२४ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त Read Next

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त