काठमाडौं । पछिल्लो समय बजारमा कुरिलोको मूल्य अचाक्ली बढेको छ । उत्पादन कम भए पनि बजारमा माग धेरै हुँदा मूल्य ह्वात्तै बढेको हो । साथै, व्यापारीहरुले अफसिजन र कोरोनालाई देखाउँदै आफूखुसी भाउ बढाउँदा पनि बजारमा कुरिलोको मूल्य उच्च भएको हो ।
एक वर्षअघिसम्म प्रतिकिलो ६०० रुपैयाँ हाराहारीमा पाइने कुरिलो अहिले ५ हजारभन्दा बढीमा किनबेच हुन थालेको छ । मूल्य बढेसँगै कालिमाटी तरकारी बजारमा यसको होलसेल विक्री समेत हुन छाडेको छ ।
‘हिजोआज कालिमाटी तरकारी बजारमा कुरिलोको खुद्रा मूल्य प्रतिकिलो ५ हजार रुपैयाँ रहेको छ, बजारमा नेपाली कुरिलो आयात नभएकाले इण्डियन कुरिलो विक्री हुँदै आएको छ,’ कालीमाटी तरकारी बजारस्थित व्यापारी भिमसेन भारतीले चाणक्य पोष्टसँग भने ।
विगतका वर्षहरुमा राम्रो भाउ नआउँदा कृषकहरुले कुरिलो खेती गर्न छाडेकाले उत्पादनमा कमी आएको बताइन्छ । उत्पादन कम भएको बेला माग बढेपछि मूल्य अस्वभाविक बढेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजारमा करिलो आयात एकदमै न्यून मात्रामा हुने गरेको जानकारी दिएको छ । आयात नै न्यून भएपछि समितिले आफ्नो मूल्यसूचीमा समेत कुरिलो समावेश गर्न छोडेको छ । दैनिक न्यून मात्रामा कुरिलो आउने भएपछि मूल्य सूचीमा कुरिलोको मूल्य राख्न छोडेको समितिको भनाइ छ ।
‘कुरिलो आयात साह्रै न्यून छ, रेगुलर पनि आउँदैन, त्यसले गर्दा मूल्य सूचीमा समावेश गरिएको छनै, विगतमा धेरै मात्रामा आउँदा समावेश हुन्थ्यो, अहिले कुरिलोको सिजन होइन, सिजन नहुँदा माग पनि छैन, धोरै मात्रामा आयात हुने कुरिलो व्यापारी आफैले खुद्रामा बेच्छन्, होलसेल बजारसम्म आइपुग्नै पाउँदैन,’ समितिका उपनिर्देशक मनोज धितालले चाणक्य पोष्टसँग भने ।
धितालका अनुसार हाल बजारमा कुरिलोको मूल्य ३ हजार ५०० देखि ५ हजारसम्म रहेको छ । कुरिलो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । कतिपय अवस्थामा डाक्टरहरुले समेत बिरामीलाई कुरिलोको सुप पिउन सिफारिस गर्छन् । पछिल्लो समय कोरोनका कारण यसको माग ह्वात्तै बढाएको र मूल्य पनि सोही अनुसार बढेको व्यापारीहरु बताउँछन् । गर्मी मौसममा भन्दा जाडो महिनामा कुरिलोको माग अत्यधिक हुने उनीहरुको भनाइ छ ।
वर्ष दिनमै किलोमा साढे ४ हजार बढ्यो भाउ
पछिल्लो एक वर्षको अवधिमा कुरिलोको भाउ झन्डै १० गुणाले बढेको छ । विकास समितिका अनुसार १ वर्षको अवधिमा कुरिलोको भाउ साढे ४ हजार रुपैयाँले बढेको छ ।
२०७७ फागुनमा प्रतिकिलो ६०० रुपैयाँ रहेको कुरिलो अहिले बढेर ५ हजार रुपैयाँ हाराहारीमा पुगेको छ । गत फागुन यता कुरिलोको भाउ निरन्तर उकालो लागेको समितिको तथ्यांक छ । गत भदौमा प्रतिकिलो १ हजार २००, मंसिरमा २ हजार २००, माघमा ४ हजार थियो भने हाल ५ हजारसम्म पुगेको छ ।
उत्पादन कम र माग बढ्दै गएकाले भाउ निरन्तर बढेको व्यापारीहरु बताउँछन् । पछिल्लो समय ठूला होटल तथा रेष्टुरेन्टमा समेत यसको माग बढेको छ भने आमउपभोक्ताले पनि यसको फाइदा बुझेसँगै माग बढेको हो ।
मूल्य बढेसँगै मंसिर यता कुरिलो होलसेल मूल्यमा आयात नभएको विकास समितिले बताएको छ । अहिले व्यापारीहरुले अर्डर आए अनुसार फाट्फुट्ट रुपमा कुरिलो ल्याएर बेच्ने गरेका छन् ।
वर्ष दिनमा जम्मा १५ हजार किलो आयो
कुरिलो महँगो हुने भएकाले खपत पनि कम हुने गरेको छ । पछिल्लो १ वर्षको अवधिमा कालिमाटी तरकारी बजारमा जम्मा १५ हजार किलो कुरिलो आयात भएको छ ।
विकास समितिका अनुसार २०७७ फागुन ३ गतेदेखि २०७८ फागुन ३ गते सम्म १५ हजार ५१९ किलो कुरिलो आयात भएको छ । जसमध्ये नवलपरासीबाट ११ हजार किलो, कास्कीबाट ३ हजार ७०० किलो, चितवनबाट ४०० किलो र भक्तपुरबाट ४१९ किलो कुरिलो आयात भएको समितिको तथ्याङ्कले देखाएको छ ।
कालीमाटीमा नवलपरासी, भक्तपुर, चितवन, कास्की लगायत जिल्लाबाट कुरिलो आयात हुने गरेको छ । तर, पछिल्लो समय उत्पादन नै न्यून भएकाले आयात नभएको समितिले जानकारी दिएको छ ।
कुरिलोमा भिटामिन र मिनरल्सको मात्रा उल्लेख्य रूपमा हुन्छ । माछामासु नखाने विरामीलाई विकल्पमा कुरिलोको सुप खुवाउने चलन पनि छ । साथै, नेपालमा तारे होटल खुल्ने क्रम बढ्दै गएसँगै माग पनि बढ्दो क्रममा छ ।