
काठमाडौं । हाल राष्ट्रिय गौरवका आयोजना अन्तर्गत तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा रहेका छन् । बढ्दो हवाई चापलाई व्यवस्थित गर्न र यात्रुलाई सहजता दिलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा ती विमानस्थल निर्माण अगाडि बढाइएको हो ।
हाल भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल, पोखरामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ ।
यी मध्ये भैरहवा र पोखरा विमानस्थलको ठेक्का लागि निर्माण समेत अन्तिम चरणमा पुगेको छ भने निजगढको डीपीआर सम्पन्न भई प्रारम्भिक काम भइरहेको छ । यद्यपि, निजगढ विमानस्थल निर्माणको अझै ठेक्का भने लाग्न सकेको छैन ।
कुन विमानस्थलको कति भयो काम ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय (भैरहवा) विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ भने संचालनको तयारीमा हुँदैछ । यस विमानस्थलको निर्माण सम्पन्न हुन ३ प्रतिशत मात्र काम बाँकी रहेको नेपाल नागरिक उड्डन प्राधिकरणले जनाएको छ ।
सो बाँकी काम मध्ये १.७५ प्रतिशत काम सम्पन्न गरी प्राधिकरण क्यालिब्रेसन फ्लाइट गर्ने तयारीमा रहेको छ । निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ए३२०/३३० जहाजबाट परीक्षण उडान गर्ने तयारी गरेको छ ।
उक्त जहाज नेपाल एयरलाइन्सले अन्तर्र्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको ठूलो जहाज हो । भौरहवा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रविन न्यौपानेका अनुसार विमानस्थल सञ्चालनका लागी क्यालिब्रेसन (जमिनमा रहेका पूर्वाधारको अवस्था सही गलत छुट्टाउने प्रविधि) गर्ने कार्य सुरू गर्न लागिएको हो ।
हाल भैरहवाको मौसम प्रतिकूल रहेको र सधार हुने बित्तिकै परीक्षण उडान हुने प्राधिकरणले जनाएको छ । फागुनभित्र क्यालिब्रेसन फ्लाइट गर्ने गरी योजना रहेको उनले बताए ।
‘मौसमविदहरूसँग ३ वर्ष अघिदेखिको विवरण माग गरिएकोछ, त्यस अनुसार फागुनबाट मौसम सफा हुने अनुमान गरिएको छ । मौसम सफा भए लगतै फ्लाईट क्यालिब्रेसन सुरू गरिनेछ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ।
प्राधिकरणका अनुसार विमानस्थल सञ्चालनमा ल्याउन ‘मिसन भैरहवा विमानस्थल’ सुरू गरिएको छ । यो आयोजनामा उपकरण जडानसहीत प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले पाएको छ । उक्त कम्पनीले क्यालिब्रेसन फ्लाइटको जिम्मा समेत लिएको छ । एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।
१० फेब्रुअरी वा यस आसपासको दिनमा उपकरणजडित विशेष जहाज नेपाल ल्याइने छ । उक्त जहाजबाट यान्त्रिक उपकरणहरूले काम गरे–नगरेको अध्ययन गरिने छ । त्यसको एक/दुई दिनमै नेपाल एयरलाइन्सको एयरबस जहाजबाट परीक्षण उडान गर्ने गरी कार्यतालिका बनेको जनाइएको छ ।
क्यालिब्रेसन उडानका दौरान कन्ट्रोल टावरको समेत परीक्षण हुने भएको छ । क्यालिब्रेसन फ्लाइटबाटै उपकरणहरूले काम गरे÷नगरेको पत्ता लाग्ने छ । क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका संचारदेखि उडान–अवतरणका लागि आवश्यक अन्य उपकरणहरूले काम गरे–नगरेको परीक्षण हुन्छ । यसअघि गत डिसेम्बरमै क्यालिब्रेसन उडानको तयारी गरिएको थियो ।
क्यालिब्रेसन उडान र परीक्षण उडानपछि विमानस्थल संचालनका लागि योग्य बन्ने छ । परीक्षण सफल भएपछि आन्तरिक उडान नयाँ धावनमार्गबाटै गरिने छ । तर, तत्कालका लागि विदेशी उडान भने गरिने छैन । अन्तर्राष्ट्रिय उडान अगाडि कम्पनीहरूबाट ५६ दिनको समय राखेर प्रस्ताव आह्वान गर्नुपर्ने प्रावधान रहेकाले तत्काल अन्तर्राष्ट्रिय उडान सम्भव नभएको हो ।
विमानस्थलका लागि चालु आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा पुस महिनासम्ममा १८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । सन् २०१५ मा सुरू भएको यस आयोजना ६ अर्ब २२ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने प्रारम्भिक अनुमान गरिएको थियो । हाल आयोजना अन्तर्गत ८ अर्ब १ करोड १२ लाख रुपैयाँ खर्च भइसकेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना अन्तर्गत जग्गा अधिग्रहणको कार्य भइरहेको प्राधिकरणले जनाएको छ । चालु आव सम्ममा ९२ प्रतिशत भौतिक प्रगति भएको छ ।
आयोजना अन्तर्गत ३ हजार ८९९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा कुल ३ हजार ८८० जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ । २० रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ। जग्गा अधिग्रहणकै क्रममा आयोजनाले साढे ३ अर्ब रुपैयाँ बढि मुआब्जा वितरण गरिसकेको आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
उनका अनुसार अब आयोजना अन्तर्गत थोरै जग्गा अधिग्रहण र फिनिसिङको काम बाँकी रहेको हो । ‘जग्गा अधिग्रहण र फिनिसिङको केही कामहरू बाँकी छ, यो सकिएपछि आयोजना हस्तान्तरण गरिन्छ,’ मुनाकर्मीले चाणक्य पोष्टसँग भने ।
चालु आर्थिक वर्षमा आयोजनाका लागि ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षसम्म १३ अर्ब ४१ करोड २९ लाख रुपैयाँ खर्च भइसकेको छ । २०६८ सालमा सुरू भएको यस आयोजना २२ अर्ब लगानी अनुमान गरिएको थियो ।
हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिँदै छ ।
पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् । २ हजार ५०० मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १९२ हाराहारीमा रहने छ ।
निजगढ विमानस्थलको जग्गा अधिग्रहण र नदी नियन्त्रण हुँदै
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रारम्भिक काम सुरू भएको छ । आयोजना अन्तर्गत हाल नदी नियन्त्रण र जग्गा अधिग्रहणको काम भइरहेको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका अनुसार हालसम्म ७० बिघा जग्गा अधिग्रहण गरिसकिएको छ । विमानस्थल क्षेत्रमा परेका १५० बढी जग्गाधनीलाई हालसम्म ४७ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ । विमानस्थल क्षेत्रको ११० बिघा ३ कठ्ठा जग्गा अधिग्रहण गर्नुपर्ने छ ।
केही जग्गा धनीहरूले मुआब्जाको रकम अपुग भएको भनेर जमिन दिन नमान्दा केही अवरोध सृजना भएको आयोजनाले जनाएको छ ।
आयोजनाले जग्गाधनीलाई जग्गाको प्रकृति अनुसार सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा ४ लाख ६० हजार, भित्री सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा २ लाख ४९ हजार २५० र बाटो नभएको जग्गाको प्रतिकट्ठा २ लाख ४ हजार १५० रुपैयाँका दरले जग्गा धनीलाई मुआब्जा दिने गरेको बताइएको छ ।
यस्तै निजगढ विमानस्थल अन्तर्गत रुख कटानको काम अझै सुरू हुन सकेको छैन । रुख कटानका लागि कुनै निर्देशन नआएसम्म काम सुरू नहुने भएको हो । अर्कोतर्फ निजगढ अन्तर्र्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
पहिलो चरणमा १९ सय हेक्टरभित्र पर्ने रुखहरूको संख्या किटान गरेर वन मन्त्रालयले भनेपछि रुख कटान सुरू गरिने आयोजनाले जनाएको छ । निजगढ विमानस्थल निर्माणमा इआईएका अनुसार २५ लाख रुख कटान गर्नुपर्ने देखिन्छ । त्यो हेर्दा यदि २५ लाख रुख काटिएमा एउटा रुख बराबर २५ रुख रोप्नुपर्ने छ ।
चालु आर्थिक वर्षमा मात्र आयोजनाका लागि ३६ करोड बजेट विनियोजन गरेकोमा हालसम्म ३० करोड रुपैयाँ खर्च भएको छ । २०७१÷७२ सालमा सुरू भएको यो आयोजना १ खर्ब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । चालु आवसम्ममा यस आयोजनामा कुल १ अर्ब २८ करोड रुपैयाँ खर्च भइसकेको छ ।