काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । आइतबार एकैदिन १०० अंकले घटेको नेप्से आज झिनो अंकले बढेको हो ।
सूचकमा झिनो सुधार भए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा २ अर्बले घटेर पौने ४ अर्बम सीमित भएको छ ।
सोमबार नेप्से ०.०८ अंकले बढेर २७००.९८ विन्दुमा पुगेको छ । आज २२७ कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ बराबरको ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक घटेको छ भने ८ समूहको बढेको छ । होटल समूह सबैभन्दा धेरै ०.६५ प्रतिशतले बढेको छ भने व्यापार समूह १.३४ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका २२७ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । गत वर्षको नाफाबाट १९.५ प्रतिशत लाभांश घोषणा गरेको नेशनलको झन्डै ५५ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम १७ र अरुण भ्याली १५ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
झिनो अंकले बढेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सबैभ्न्दा धेरै ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स ४.७२, नेशनल हाइड्रो ४.२८, किसान लघुवित्त ३.६०, नेपाल हाइड्रो डेभलपर ३.५५, कालिका लघुवित्त, सप्तकोशी विकास बैंक, ङादी ग्रुप, माउन्टेन हाइड्रो र वरुण हाइड्रोपावरको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।
आज मैलुङ खोला जलविद्युत्का सेयरधनीले भने सबैभ्न्दा धेरै ३.८५ प्रतिशत गुमाएका छन् ।