थानकोटमा १ अर्ब लगानीमा विशेषज्ञ सेवा दिने अस्पताल बन्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्ल्यू) १ अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।

 

सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ ।

 

नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्ल्यूले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारी अन्तिम चरणमा पुर्याएका छन् । नगरप्रमुख गिरीले भने, “डीपीआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।”

 

अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्याउने अपेक्षा गरिएको छ ।

 

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ ।

 

अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले जानकारी दिए ।

सुकेटार विमानस्थल पुनः सञ्चालनमा, साताका यी तीन बार उडान हुने Read Previous

सुकेटार विमानस्थल पुनः सञ्चालनमा, साताका यी तीन बार उडान हुने

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा Read Next

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा