काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयाजनाको काम सुस्त भएको छ । आयोजना सुरू भएको डेढ दशक बिते पनि अहिलेसम्म आयोजना सम्पन्न हुन नसकेको हो ।
२०६४/६५ देखि सुरू भएको पुष्पलाल राजमार्गको हालसम्म करिब ६० प्रतिशत काम पूरा भएको छ भने अझै एकतिहाई बढी काम बाँकी छ ।राष्ट्रिय गौरवको आयोजना भनिए पनि बजेट अभाव, कामदार अभाव, रुख कटानीमा ढिलाई, स्थानीयको विरोध, मुआब्जा विवाद लगायत कारणले राजमार्गको कामले गति लिन नसकेको हो ।
कुल १ हजार ८७९ किलोमिटर लम्बाइ रहेको यो राजमार्गको हालसम्म १ हजार १४७ किलोमिटर सडक कालोपत्र भएको चालु वर्षको बजेटको अर्धवार्षिक समीक्षामा उल्लेख छ । यसमध्ये ६८५ किलोमिटर आयोजनाबाट निर्माण भएको हो भने ४६२ किलोमिटर अन्य निकायबाट निर्माण गरिएको हो । अझै ७३२ किलोमिटर बढी सडक निर्माण गर्न बाँकी रहेको छ ।
त्यस्तै, सो आयोजना अन्तर्गतको १३७ पुल मध्ये हालसम्म ९१ वटा पुल निर्माण सम्पन्न भएको छ । अझै ४६ वटा पुल निर्माण गर्न बाँकी छ ।
अझै २ वर्ष म्याद थप्नुपर्ने
पछिल्लो पटक थपिएको म्याद अनुसार राजमार्ग आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुनु पर्नेछ । तर, निर्माण अवधि डेढ वर्ष मात्र बाँकी रहेकाले सो अवधिमा सम्पन्न हुन असम्भव जस्तै छ ।
सुरूमा २०७४/७५ सम्ममा निर्माण सम्पन्न गर्ने भनिएको थियो । सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०७९/८० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको थियो ।
आयोजनाको बाँकी काम सक्न कम्तीम २ वर्ष सयम थप्नुपर्ने सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शिवराज नेपालका अनुसार सडक विभागले कास्कीको एलाइमेन्ट विवाद भएका कारण थप २ वर्ष म्याद थप्नुपर्ने बताए । उनले आगामी वर्षभित्र निर्माण पूरा हुने सम्भावना नभएकाले एलाएमेन्ट पास भए बाँकी २ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको बताए ।
‘कास्कीको एलाइमेन्टको विवाद कायमै छ, एलाइमेन्ट पास भएपछि ठेक्का गरेर निर्माण पूरा हुन अझै २ वर्ष लाग्छ, त्यसैले २ वर्ष म्याद थप हुनैपर्छ,’ नेपालले चाणक्य पोष्टसँग भने ।
लागत तेब्बरले बढ्यो
काममा ढिलाई भएसँगै आयोजनाको लागत तेब्बरले बढ्ने देखिएको छ । २०६४/६५ मा काम सुरू गर्दा ३३ अर्ब ३६ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पूरा हुँदासम्म १ खर्ब खर्च हुने सडक विभागको अनुमान छ ।
२०६४/६५ देखि सुरू भएको यो सडक आयोजनाका लागि हालसम्म ५३ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आवका लागि ८ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
अझै झन्डै एक तिहाई बढी काम सम्पन्न हुन बाँकी रहेको छ । सो कार्य सम्पन्न हुँदा लागत तेब्बरले बढ्ने हुने देखिन्छ । उक्त आयोजना सम्पन्न हुँदासम्म १ खर्ब १ अर्ब खर्च हुने अनुमान गरिएको छ । यो सुरूआती समयकोभन्दा तेब्बरले बढी हो ।