काठमाडौं । माथिल्लो तामाकोशीको नोक्सानी गत वर्षको तुलनामा साढे १० गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नोक्सानी ३३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ९४६.९० प्रतिशत धेरै हो। गत वर्षको पुस मसान्तसम्म तामाकोशीको खुद नोक्सानी ३ करोड १५ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट कम्पनीले ३ अर्ब ६४ करोड ६५ लाखभन्दा बढी आम्दानी गरे पनि वित्तीय खर्च उल्लेख्य रुपमा बढ्दा कम्पनी नोक्सानीमा गएको हो । गत वर्ष १ करोड १२ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ अर्ब २० करोड बढी यो खर्च गरेको छ।
साथै, आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने इनर्जी डिसप्याच नभएको एवम् २०७८ मंसिरसम्म विद्युत् विक्रीबाट भएको आय बापतको ७२ करोड ९५ लाख सम्झौता अनुसार उत्पादन सुरु नभएको भनी घटाइएकाले नोक्सानी बढेको कम्पनीले जनाएको छ । सो बारे प्राधिकरणसँग छलफल भइरहेकाले घटाइएको रकम फिर्ता भएपछि घाटा कम भइ नगद प्रवाहमा सधार आउने कम्पनीको भनाइ छ ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन सुरु भइ भदौ २५ गतेदेखि आयोजनामा जडित ६ वटै युनिटबाट विद्युत उत्पादन भइरहेको छ ।
हाल १० अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३९ करोडभन्दा बढी ऋणात्मक छ । कम्पनीको दीर्घकालीन कर्जा ४१ अर्ब र अल्पकालीन कर्जा ४ अर्ब रहेको छ ।
नोक्सानी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ३.१२ रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.८६ रुपैयाँ रहेको छ ।