काठमाडौं । कृषि क्षेत्रमा भण्डारको अवस्था निकै कम्जोर रहेको छ । सिजनमा उत्पादन भएको कृषि उपज अफसिजनका लागि सुरक्षित भण्डारण गर्न सकिने व्यवस्था छैन । सिजनमै विक्री नभएका उपज त्यत्तिकै खेर जाने गरेका छन् भने अफसिजनमा महँगोमा किन्नु पर्ने बाध्यता रहेको छ ।
यसैलाई मध्येनजर गर्दै सरकारले बजेटमा सबै प्रदेशमा भण्डारण सुविधा सहितको कृषि उपज प्रशोधन केन्द्र र औद्योगिक कृषि बजार स्थापना गर्ने बताएको थियो । जस अन्तर्गत इलाममा अलैँची, मकवानपुरको छत्तिवनमा तरकारी, सल्यानमा अदुवा तथा जुम्लामा स्याउ लक्षित औद्योगिक कृषि बजार स्थापनाको सम्भाव्यता अध्ययन पूरा गर्ने बजेट भाषणमा उल्लेख छ ।
तर, ती योजना बजेटका कागजी पानामा मात्र सीमित रहेका छन् । हालसम्म कुनै पनि भण्डारण अथवा औद्योगिक कृषि बजारका लागि अध्ययनसम्म सुरु गरिएको छैन । यस्तै, सरकारले स्थानीय तहमार्फत २०० खाद्य भण्डारण केन्द्र, ८९ शीतकक्ष र शीत भण्डार स्थापना गरिने जनाएको थियो ।
सरकारले आफ्नो लगानीमा भण्डारण गृह निर्माण गर्न नसके पनि निजी क्षेत्रका व्यवसायीले भने धमाधम भण्डारण केन्द्र तथा कोल्ड स्टोर निर्माण गर्न थालेका छन् । निजी क्षेत्रका व्यवसायीले तरकारी, फलफूल, मासु लगायतका वस्तुका लागि भण्डारण केन्द्र निर्माण गरिरहेका हुन् ।
कहाँ कहाँ बन्दैछन् कोल्ड स्टोर ?
एग्रीवस्तु कोल्ड स्टोरेले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा कोल्ड स्टोरे सञ्चालनमा ल्याउने भएको छ । पूर्ण आन्तरिक लगानीमा सञ्चालनमा आउन लागेको यो कोलड स्टोरे २३ सय मेट्रिकटन क्षमताको हुनेछ । २३ करोड रुपैयाँ लगानीमा बन्ने उक्त कोल्ड स्टोरले २७ जनालाई रोजगार प्रदान गर्नेछ ।
मोरङमा विराट कोल्ड स्टोरे सञ्चालनमा आउने भएको छ । २५ करोड रुपैयाँ लगानीमा खुल्ने यो कोल्ड स्टोर मोरङको विराटनगर महनगरपालिकामा बन्नेछ । पूर्ण आन्तरिक लगानीमा बन्न लागेके यो कोल्ड स्टोरेडको वार्षिक क्षमता १२ हजार ८ सय मेट्रिकटन रहेको छ । स्टोरमा वर्षेनी ४ हजार मेट्रिकटन आलु तथा आलुका बीउ, ८ सय मेट्रिकटमा तरकारी र १ हजार २ सय मेट्रिकटन फलफुल स्टोरे गर्नसकिनेछ । उक्त स्टोरेले सञ्चालनपछि ३४ जनालाई रोजगार प्रदान गर्नेछ ।
बर्दियाको पशुपतिनगरमा मासु भण्डारणका लागि लिअम शन मिटर म्यानुफ्याक्चरिङ उद्योग सञ्चालनमा आउन लागेको छ । १५ करोड रुपैयाँ लगानीमा खुल्न लागेको उक्त उद्योगले वर्षेनी १६ सय मेट्रिकटन राँगाको मासु स्टोर गर्नुका साथै ४ सय मेट्रिकटन ड्राइ राँगाको मासु स्टोरे गर्ने छ । पूर्ण वैदेशिक लगानीमा बन्न लागेको यो उद्योगले ६५ जनालाई रोजगार प्रदान गर्नेछ ।
यस्तै काभ्रेको बनेपा नगरपालिकामा चिरायु कोल्ड स्टोरे सञ्चालनमा आउने भएको छ । १६ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको उक्त उद्योगले वर्षेनी ३६ हजार मेट्रिकटन वस्तु स्टोर गर्ने क्षमता राख्ने छ । उक्त स्टोरेमा मासु, फलफुल, तरकारी, ड्राइ फुड लगायतका वस्तु राख्न सकिनेछ ।
काभ्रेको भुम्लु गाउँपालिकामा पाँच कन्या कोल्ड स्टोरे प्रालि सञ्चालनमा आउने भएको छ । ३२ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउने तयारीमा रहेको यो कोल्ड स्टोर मासु राख्नका लागि प्रयोग गरिनेछ । पूर्ण आन्तरिक लगानीमा बन्ने यस उद्योगले वर्षेनी १ हजार ५० मेट्रिकटन कुखुराको मासु, ३६ सय मेट्रिकटन खसीको मासु। ६ सय मेट्रिकटन बुङगुरको मासुर भण्डारण गर्नेछ । साथै ३ लाख ५० हजार पोल्ट्री कुखुरा समेत उत्पादन गर्नेछ । उक्त उद्योगले सञ्चालनपछि ६२ जनालाई रोजगार दिनेछ ।