काठमाडौं । उपत्यकामा दिनप्रतिदिन ट्राफिक व्यवस्थापन पेचिलो बन्दै जाँदा यहाँका व्यस्त चोकहरुमा आकाशेपुलको आवश्यकता बढ्दै गएको छ । सोही आवश्यकता महशुस गर्दै काठमाडौं महानगरपालिकाले सहरका विभिन्न चोकहरुमा आकाशेपुल निर्माण गर्ने योजना सहित अघि बढाएको छ ।
उपत्यकाको सडकमा अतिआवश्यक स्थानमा पनि आकाशेपुल नहुँदा पैदल यात्रुहरुले अकालमै वर्षेनी ज्यान गुमाउनु परिरहेको छ । यो समस्या समाधानको विकल्प भनेको आकाशे पुल निर्माण गर्नु नै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजीव शर्मा दासले बताए ।
प्रवक्ता दासका अनुसार उपत्यकाभित्र अहिले ४७ वटा आकाशेपुल छन् । उपत्यकाका मुख्य–मुख्य चोकमा आकाशेपुल भएमा पैदल यात्रुको ज्यान जोगिने उनी बताउँछन् ।
यता महानगरले पनि पछिल्लो समय धमाधम आकाशे पुल निर्माण गरिरहेको छ । सोहीक्रममा कामपा मेयर विद्या सुन्दर शाक्यले गत माघ ९ गते मात्र चाबहिल र मित्रपार्कमा दुई वटा पुलको शिलान्यास गरेका थिए ।

हाल मित्रपार्कको पुल निर्माण गर्ने काम अघि बढिसकेको छ । यी दुवै ठाउँको पुल निर्माण गर्ने जिम्मा निर्माण व्यवसायी सविरा कन्स्ट्रक्सन, काठमाडौंले पाएको छ । यी दुवै आकाशेपुल आगामी २०७९ जेष्ठ मसान्त सम्म सक्नेगरी कम्पनीले निर्माणको जिम्मा लिएको हो । दुवै पुलको संयुक्त लागत इस्टिमेट भ्याट सहित १ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
कामपा पूर्वाधार विभागका अनुसार हालसम्म कामपाले माईतीघर पुरातत्व विभाग अगाडी गतवर्ष पुल निर्माण सम्पन्न गरेको छ । त्यसैगरी, चाबहिल चोकमा निर्माण सम्पन्न, डल्लु बिष्णुमती करिडोर वडा १५ मा आकाशेपुल निर्माण सम्पन्न भएको छ ।
त्यसैगरी, कामपाले विभिन्न १० ठाउँमा आकाशेपुल निर्माण गर्ने बताए पनि कतिपय स्थानमा पुल निर्माणका लागि ठाउँ अभाव भएको बताएको छ । वडा नम्बर १६ सोह्खुट्टे चोक र शिक्षण अस्पताल मूल सडकमा आकाशे पुल निर्माण गर्ने योजना बनाए पनि सडक विस्तार हुँदा पैदल यात्रु हिँड्डुल गर्ने पेटी सानो भएका कारण योजना अघि बढ्न नसकेको बताएको छ ।
कामपाले मुख्य सडकमा ट्राफिक जाम कम गर्न र दुर्घटना कम गर्न समेत आकाशे पुल जरुरी भए पनि सडक पेटी सानो हुँदा पुल निर्माण गर्न सम्भव नभएको बताएको छ । कामपाले विभिन्न १० ठाउँमा आकाशेपुल बनाउने योजना बनाए पनि ठाउँ अभावमा उक्त योजना अघि बढ्न नसकेको जनाएको छ ।
यी ठाउँमा अझै बनेनन् आकाशे पुल
कामपाले विभिन्न ठाउँमा पुल बनाउँन कम्मर कसे पनि कतिपय ठाउँमा निर्माणाधीन पुल अलपत्र परेका छन् । ठेक्का लागेको ३ वर्ष बिते पनि काटेश्वर चोकमा अझै काम सुरु हुन नसकेको हो । स्थानीयको विरोधका कारण ठाउ नपाउँदा उक्त पुल निर्माण अघि बढ्न नसकेको हो ।

त्यस्तै, गौशलास्थित जयवागेश्वरीमा बनाएको आकाशेपुल भने अलपत्र परेको छ । गत वर्षसंगै निर्माण थालिएको चाबहिलको पुल संचालनमा आईसके पनि जयवागेश्वरीको पुल भने दायाँबायाँको खम्बा गाड्नेभन्दा अरु कुनै काम हुन सकेको छैन ।
कामपा पुर्वाधार विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार व्यवस्थित नगरी दिएकाले जयवागेश्वरी स्थित आकाशे पुल निर्माण कार्य रोकिएको हो । विभागकाअनुसार उक्त क्षेत्रमा ११ हजार भोल्टेजको बिजुली तार र पोल भएकाले काम गर्न बठिन भएको छ । अलपत्र पुलको कारण पैदल यात्रुलाइ भने निकै असहज भएको छ ।