काठमाडौं । सरकारले प्राथमिकतामा राखेको राष्ट्रिय गौरवका आयोजनाको प्रगति दयनिय रहेको छ । अधिकांश आयोजनाका लागि छुट्याइएको असाध्यै कम मात्रै बजेट खर्च भएको पाइएको छ ।
अर्थमन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८/७९ को अर्थवार्षिक समीक्षामा गौरवका आयोजनाअन्तर्गत सञ्चालित परियोजनाकोे खर्च न्यून भएको पाइएको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि २५ वटा आयोजनालाई गौरवका आयोजनामा समावेश गरेको थियो । जसअनुसार ती योजनाका लागि ८२ अर्ब २४ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटमध्ये चालु आवको पहिलो छ महिनामा १६.३९ प्रतिशत मात्र बजेट खर्च भएको हो ।
तथ्याङ्कअनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पूँजीगततर्फ ६६ अर्ब ४७ करोड र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ३८ करोड ४६ लाख गरी ८२ अर्ब २४ करोड ४४ लाख बजेट विनियोजन गरिएको थियो ।
उक्त विनियोजन गरिएको बजेटअन्तर्गत चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालुतर्फ १ अर्ब ३६ करोड ८० लाख, पूँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख र वित्तीय व्यवस्थापनतर्फ ४८ अर्ब ५० लाख गरी १३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।
आयोजनाको कति भयो खर्च ?
मन्त्रालयको तथ्याङ्कअनुसार पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनामा २४.१ प्रतिशत बजेट खर्च भएको छ । सो आयोजनाका लागि ८ अर्ब १३ करोड ३३ लाख बजेट विनियोजन गरिएकोमा ६ महिनाको अवधिमा १ अर्ब ९६ करोड ४६ लाखमात्र बजेट खर्च भएको छ ।
हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड ४२ लाख बजेट विनियोजन भएकोमा हालसम्म २ अर्ब ४४ करोड ९९ लाख खर्च भएको छ ।उत्तर दक्षिण लोकमार्गका लागि १ अर्ब ११ करोड १४ लाख बजेट विनियोजन भएकोमा १५ करोड ९० लाख, उत्तर दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर मालढुङ्गा–राम्दी) परियोजनका लागि २ अर्ब ४२ करोड ५५ लाख बजेट विनियोजन गरिएकोमा ७७ करोड ७२ लाख र उत्तर दक्षिण लोकमार्गका लागि ५८ करोड ८९ लाख बजेटमध्ये ५ करोड २६ लाख रुपैयाँ बजेट खर्च भएको छ ।
यस्तैगरी रेल मेट्रो रेल तथा मनोरेल विकास आयोजनाका लागि ६ अर्ब ५३ करोड २५ लाखमध्ये रु ९५ करोड ६२ लाख, काठमाडौँ तराई मधेश द्रुत मार्गका लागि ८ अर्ब ९२ करोड ७९ लाखमध्ये १ अर्ब ४० करोड ८४ लाख, गल्छी त्रिशूली मैलुङ स्याफ्रुेवेसी रसुवागढी सडक आयोजनाका लागि १ अर्ब ६२ करोड १७ लाखमध्ये ८२ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि ३ अर्ब ७२ करोड ८० लाखमध्ये १८ करोड ५० लाख खर्च भएको छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि १३ अर्ब ४१ करोड २९ लाखमध्ये ८ अर्ब ५० करोड खर्च भएको छ ।
यस्तै पशुपति क्षेत्र विकास कोषका लागि रु ३५ करोडमध्ये ८ करोड ५१ लाख, बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि ७ अर्ब ९९ करोड ५८ लाखमध्ये १८ करोेड ६५ लाख खर्च भएको छ ।