काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को खुद नाफामा झिनो सुधार आएको छ ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५.९१ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु वर्षको पुस मसान्तसम्ममा ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ५३ लाख बढी हो । गत वर्षको पुस मसान्तसम्म कम्पनीले ४२ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको ग्राहक सम्झौताबाट भएको आम्दानी ५७.९१ प्रतिशत बढेर ४ लाख ३९ हजार पुगेको छ भने वित्तीय आम्दानी २.१३ प्रतिशत बढेर ६९ करोड ४३ लाख पुगेको छ । त्यस्तै, कम्पनीले सर्वसाधारण सेयर लिलामीबाट प्रिमियमबापत ५० करोड ४० लाख र रूपैयाँ रकम संकलन गरेको छ।
नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.१९ रुपैयाँबाट घटेर ४.८५ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.५८ गुणा छ ।