फास्ट ट्रयाकमा बन्ने सुरुङको डिजाइन स्वीकृत, फागुनभित्रै खन्न सुरू गरिने

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन स्वीकृत भएको छ । निर्माणको ठेक्का पाएका दुई चिनियाँ कम्पनीले बनाएको ३ वटा सुरुङको डिजाइन स्वीकृत भएको हो ।

 

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले फास्ट ट्रयाकको दुवै प्याकेजका ३ वटै सुरुङको डिजाइन पूरा भई स्वीकृत भइसकेको बताए । उनले डिजाइन स्वीकृत भएसँगै अब चाँडै निर्माण सुरू हुने जानकारी दिए ।

 

‘प्याकेज १ र २ दुवैको डिजाइन पूरा भई स्वीकृत भइसकेको छ, क्याम्प स्ट्याबलिस र फिल्ड सर्भेको काम बाँकी हो, सो काम अन्तिम चरणमा छ,’ सिलवालले चाणक्य पोष्टसँग भने ‘यी दुई काम सकिना साथ सुरुङ निमाण सुरू हुन्छ ।’

 

इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बन्ने सुरुङमार्गको निर्माण फागुन महिनाभित्रै सुरुङ निर्माण थाल्नेगरी तयारी भइरहेको फास्ट ट्रयाक निर्माण आयोजनाले जनाएको छ ।

 

प्याकेज १ र २ मा रहेको दुवै सुरुङ मार्ग निर्माणको ठेक्का चाइनिज कम्पनीले पाएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङ मार्ग निर्माणको ठेक्का पाएको छ । ३.३५५ किलोमिटर उक्त सुरुङ निर्माणको २१ अर्ब ६१ करोड रुपैयाँ लागतमा हुन लागेको हो  ।

 

धेद्रेदेखि लेनडाँडासम्मको सुरुङ मार्ग चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले बनाउँने छ । ३.०३ किलोमिटर उक्त सुरुङ मार्गको निर्माण २८ अर्ब ५३ करोड रुपैयाँमा हुने गरी ठेक्का लागेको हो ।२०७८ वैशाख ३१ गते दुवै ठेक्का सम्झौता सम्पन्न भई मोविलाइजेशन सहित काम सुरू भएको थियो ।

 

फास्ट ट्रयाक निर्माणमा हालसम्म १६.१० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । आयोजनाले चालु आर्थिक वर्षमा थप ५.१० किलोमिटर सडक निर्माणको काम सक्ने लक्ष्य राखेको छ ।

 

आयोजनाको विभिन्न पहुँच मार्ग सडक खण्डमा १४ वटा बेलि ब्रिज जडान गर्ने योजना मुताबिक अब्युटमेन्ट (पुलको मुखमा रहने पिलर) निर्माण गरी बेलि ब्रीज जडान गर्ने कार्य अगाडि बढाइएको सेनाले जनाएको छ । हालसम्म निजगढामा २ वटा, बागदेवमा ३ वटा, धेद्रेमा २ वटा र सिस्नेरीमा १, लेनडाडामा २ वटा गरी १० वटा पुल जडान गर्ने योजना रहेको छ ।

 

आयोजनालाई हाल ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । सोमध्ये ५ वटा प्याकेजका लागि ठेक्का आह्वान भइसकेको छ भने बाँकी ६ वटा प्याकेजका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको सेनले जनाएको छ । अब लेन डाँडादेखि खोकनासम्मका लागि करिब ४० किलोमिटर सडक र पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको सेनाले जनाएको छ ।

 

४ हजार ७६१ रोपनी जग्ग्गा प्राप्ति

 

आयोजना अन्तर्गत ५ हजार १७२ रोपनी जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित गरिएकोमा हालसम्म ४ हजार ७६१ रोपनी जग्ग्गा प्राप्ती भएको छ । हालसम्म ४११ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको छ । खोकनाको जग्गा विवादको समाधानका लागि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा २०७७ पुस १७ गते उपसमिति गठन भइ आवश्यक समन्वयन तथा पहल भइरहेको छ ।

 

यद्यपि, खोकना जग्गा विवादमा हालसम्म कुनै ठोस निकास हुन सकेको छैन । आयोजनाको निर्माण कार्य लक्ष्य २०८०/८१ रहेको छ । बजेटको अनिश्चताले निर्माण कार्य तोकिएको समय अवधिमै नसकिने संकेत देखिएको छ । बजेटमा ढिलाइ भए काम अझै २/३ वर्ष लम्बिन सक्ने अनुमान गरिएको छ । फास्ट ट्रयाक निर्माण अवधि २०८१ मंसिरसम्म रहेको छ ।

 

नेप्सेमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

नेप्सेमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

लक्ष्य हासिल नहुने भएपछि सरकारले घटायो बजेटको आकार Read Next

लक्ष्य हासिल नहुने भएपछि सरकारले घटायो बजेटको आकार