काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । मंगलबारदेखि लगातार ओरालो लागेको बजारले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ३ कारोबार दिनमा मात्रै नेप्से ६५ अंकले घटेको छ भने समग्रमा यस सता ९० अंकले घटेको छ ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार ३५ करोडले बढेर पौने ४ अर्ब पुगेको छ ।
बिहीबार नेप्से ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा आइपुगेको छ । आज २२७ कम्पनीको ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँ बराबरको ६९ लाख ५० हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको १० समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १.५७ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स ०.६९ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका २२७ कम्पनीमध्ये ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेशनल हाइड्रो २२ करोड र आइएमई जनरल इन्स्योरेन्स झन्डै २० करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज मिथिला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ । त्यसैगरी, ग्लोबल आइएमई सम्मुनत स्कीम १, नेरुडे लघुवित्त, नेपाल फाइनान्स र बुद्धभूमि लघुवित्तको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।
त्यस्तै, समृद्धि फाइनान्स, नेपाल हाइड्रो डेभलपर, मनकामना स्मार्ट लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।