सीएनएन । एलन मस्कले ४ वर्ष अघि आफ्नै व्यक्तिगत टेस्ला रोडस्टर गाडीलाई विश्वकै सबैभन्दा शक्तिशाली रकेटमा अन्तरिक्ष पठाएका थिए । यसपछि कृत्रिम चालकसँगै तैरिरहेको उक्त रातो लक्जरी गाडीको विश्वभर सर्वाधिक चर्चा भएको थियो ।
यसरी चार वर्ष बितिसक्दा अझैपनि सो कार सूर्यको वरिपरि एक्लै तैरिरहेको छ । यो कहिले पृथ्वीको पथ नजिक आउँछ भने कहिले मंगल ग्रह भन्दा टाढा पुग्ने गरेको छ ।उक्त कारको कुनै वैज्ञानिक प्रयोजन छैन । यो त्यतिबेला स्पेसएक्सको परीक्षण लन्च मात्र थियो भने एक प्रकारले मस्कको सपना थियो ।
मस्कले यसलाई हामीले कल्पना गर्न सक्ने सबैभन्दा व्यर्थको कुरालाई साँचो बनाएको भनेका थिए । यसकारण उनले यो मिसनका लागि आफ्नै व्यक्तिगत लक्जरी टेस्ला रोडस्टर रोजेका थिए ।
सोमबारसम्म आइपुग्दा यो गाडी पृथ्वीबाट २३ करोड ४० लाख माइल्स टाढा पुगिसकेको छ । यो भनेको बाहिरी अन्तरिक्षमा कुनै मानिस नभएको ‘नो–म्यान्स ल्यान्ड’ हो । नासाको डाटा मार्फत सो कारबारे जानकारी राखिएको छ ।
तर, पनि सो कार केकस्तो हालतमा छ भन्ने चाहिँ निश्चित छैन । अन्तरिक्षयात्री जोनथन मेकडोवेलका अनुसार त्यो कार सम्भावित रुपमा जस्ताको त्यस्तै छ । तरपनि केही क्षुद्रग्रहहको ठक्करबाट बाहिरि स्वरुपमा सानोतिनो क्षति पुगेको हुन सक्छ ।यसरी पछिल्लो चार वर्षमा यो गाडीले अन्तरिक्षमा तैरिँदै झन्डै २ अर्ब माइल्स सम्म यात्रा गरिसकेको छ ।
त्यस्तै यसले सूर्यको वरिपरि २.६ पटक चक्कर लगाइसकेको छ । तर कतिपय अवस्थामा यो ग्रहहरुको एकदम नजिक पनि पुगिरहेको हुन्छ । जस्तै २०२० मा यो गाडी मंगल ग्रहको एकदम निकट थियो । नासाको डाटा अनुसार अब चाहिँ यो गाडी २०३५ सम्म अर्को ग्रहको नजिक पुग्ने छैन । र २०३५ मै फेरि मंगल ग्रहसँग ठोक्किने अनुमान गरिएको छ ।
एक एकेडेमिक पेपरले गरेको विश्लेषणमा सो गाडी पृथ्वीसँग अर्को १ करोड वर्षमा ठोक्किन सक्ने सम्भावना २२ प्रतिशत रहेको जनाएको थियो । त्यस्तै सूर्य या शुक्र ग्रहसँग ठोक्किन सक्ने सम्भावना पनि १२ प्रतिशत रहेको बताइएको छ ।
अन्तरिक्षविद्हरुका अनुसार सो दर वास्तवमा उच्च हो । अन्तरिक्ष भ्रमणमा धेरै अप्रत्याशित र जटिल घटनाहरुको सम्भावना रहेकाले पनि उक्त टेस्ला गाडीको भविष्यबारे केही निश्चित भन्न सकिँदैन ।
तरपनि यसअघि मस्कले यो गाडी लामो समयसम्म तैरिरहने आशा गरेको र धेरै पछि मान्छेले मंगल ग्रहमा बसोबास गर्न थालिसकेपछि यो गाडी फेला पारि संग्राहलयमा राखिने अपेक्षा रहेको बताएका थिए ।