काठमाडौं । विश्वभर कोरोना महामारी फैलिएसँगै फेस मास्कको प्रयोग दुई वर्षदेखि लगातार बढी रहेको छ । अहिले सहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशले मास्कको प्रयोग गर्छन् भने, ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएको छ ।
अहिले तेस्रो चरणको कोभिड संक्रमण फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट जोगिन मास्कको प्रयोग अनिवार्य भनिरहेको छ । अहिले मानव जीवनमा मास्क अत्यावश्यक वस्तु भइसकेको छ । सुरुआती समयमा विदेशबाट पूर्ण रुपमा आयात भए पनि अहिले नेपालमै माग धान्ने सक्नेगरी मास्क उत्पादन भइरहेको छ ।
स्वदेशमै मास्क उत्पादन भइरहेकाले यसको लागत समेत कम रहेको तर, बजारमा मास्कको मूल्य कम नभएको भन्दै सर्वसाधारणको गुनासो सुनिने गरिएको छ । मूल्यसँगै बजारमा नक्कली मास्कको बिगबिगी पनि उस्तै देखिएको छ ।
यता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रति पिस मास्कको मूल्य ५ रुपैयाँ मात्र (लागत हेरेर, आन्तरिक तथा बाह्य आयात) भएको बताउँदै आएको छ । तर, ५ रुपैयाँमा बजारमा सर्जिकल मास्क खरिद गर्न पाइने अवस्था छैन ।
‘हामीले लागत हेरेर प्रति (सर्जिकल मास्क) पिस मास्कको मूल्य ५ रुपैयाँ कायम गर्न निर्देशन दिएका छौं । यदि कसैले ५ रुपैयाँभन्दा धेरै लिएर मास्कको व्यापार गरेको भए खबर गर्नुस्, तत्काल कारबाही गर्छौ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
विभागले नेपालमा कोरोनाको तेस्रो भेरियन्ट (ओम्रिकोन) देखापरेसँगै मास्कको मूल्य ५ रुपैयाँ कायम गर्न निर्देशन दिएको थियो । तर, बजारमा मास्कको मूल्य भने घटेको छैन । मास्कको मूल्य वृद्धि भएको भन्दै विभागमा कसैले गुनासो पनि गरेको छैन । नेपालमा कोरोना आउने बेला १० देखि १५ रुपैयाँमा कारोबार भएको सर्जिकल मास्क अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अहिले नेपाली बजारमा पाइने सामान्य मास्कको उत्पादन लागत बढीमा ३ रुपैयाँसम्म पर्ने उत्पादकहरु नै बताउँछन् । आफूहरुले पनि सोही हाराहारी बेच्ने गरेको उनीहरुको भनाइ छ । तर, बजारमा भने उद्योगको भन्दा चार गुणा बढीमा खुलेआम विक्री भइरहेको छ । फार्मेसीदेखि किराना पसलेसम्मले मास्क मंगोमा विक्री गरिरहेका छन् ।