पर्सा । नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज एक कार्यक्रमगरि उद्घाटन हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर डिजेल पठाउने र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर ‘रिसिभ’ गर्ने कार्यक्रमतय भएको छ ।
नेपाल भारत पेट्रोलियम पाइपलाइन ३० महिनामा सक्ने लक्ष्यकासाथ सुरु गरिएको थियो । तर निर्धारित समयभन्दा एक वर्षअघि १८ महिनामै आयोजना पुरा भएको हो ।
पाइपलाइन भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको छ । यो पाइपलाईनको क्षमता प्रतिघण्टा २९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सक्ने रहेको छ ।

कम्प्युटरकै माध्यमबाट पाइपलाईन खुल्ला र बन्द गर्नका लागि कन्ट्रोल रुम अमलेखगञ्जमा बनाइएको छ । पाइपलाईनको क्षमता दैनिक २४ घण्टानै चल्न सक्ने भएपनि अहिले भने पूर्ण क्षमतामा चलाइएको छैन ।
प्रतिघण्टा २ सय ९४ किलोलिटर तेल ल्याउन सकिने पाइपबाट आएको तेल सोहि दिनदेखि नै बजारमा पठाउन सकिने छ ।
पाइपलाइनबाट आउने तेल शुरुमा नेपालमा प्रमुख सहर पोखरा, काठमाडौं र अमलेखगञ्जमा पठाइने छ । अमलेखगञ्ज डिपोमा पाइपलाईन बाट आएको तेल भण्डारणको लागि ४ वटा ट्याङकी पनि राखिएका छन् । २ वटा ट्याङकीको क्षमता ४१ सय किलोलिटर रहेको छ भने बाँकी दुईको ३९ सय किलोलिटर रहेको छ ।

हाल यी चारवटै ट्याङकीमा तेल भरेर राखिएका छन् । आज मंगलबारबाट नियमित रुपमा डिजेल आउने छ भने पेट्रोल ल्याउने तयारी भइरहेको जनाइएको छ ।
पाइपलाईन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको हो । पाइपलाईनको लम्बाई ६९.५ किलोमिटर रहेको छ ।
पाइपलाईनको हिस्सा भारतमा ३२.२५ र नेपालमा ३७.२५ किलोमिटर पर्छ । परियोजनामा कुल २ अर्ब ७५ करोड रुपैंयाँ खर्च भएको छ ।