खस्कँदै नेपाली गलैँचा उद्योग, बजारका लागि विदेशकै भर

काठमाडौं । एक/डेढ दशक अघिसम्म नेपालबाट निर्यात हुने वस्तुहरु मध्ये प्रमुख वस्तु हो गलैँचा । तर, पछिल्ला वर्षहरुमा यसको उत्पादन घटेसँगै निर्यात पनि घट्दै गएको छ । विगतमा फस्टाएको गलैँचा उद्योग पछिल्ला वर्षहरुमा कामदार अभाव, लगानी रकमको अभाव, झन्झटिलो निर्यात प्रक्रिया, बजारीकरणको अभाव लगायत कारणले खस्किँदै गएको हो।

 

विगतको तुलनामा गलैँचा उत्पादन १० गुणासम्मले घटेको छ । सन् १९९६ सम्म वार्षिक ३३ लाख मिटर उत्पादन र निर्यात हुँदै आएकोमा हाल करिब ३ लाख मिटर मात्र गलैँचा उत्पादन हुने गरेको नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघले जनाएको छ ।

 

डेढ दशक यता ओरालो लागेको गलैँचा उत्पादन कोरोनापछि झनै ओरालो लागेको संघको भनाइ छ । कोरोनाअघि वार्षिक ४ लाख मिटर उत्पादन हुँदै आएकोमा हाल करिब ३ लाख मिटर हाराहारीम मात्रै उत्पादन हुने गरेको छ ।

 

उत्पादन घटेसँगै निर्यातसमेत खुम्चिएको छ । पछिल्ला वर्षहरुमा नेपाली गलैँचाको बजार आधाभन्दा धेरैले खुम्चिएको नेपाल गलैैँचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समिक विक्रम शाहले बताए । ‘नेपालमा १५ वर्ष अघिसम्म वार्षिक १३ अर्बसम्मको गलैँचा निर्यात हुने गरेकोमा हाल वार्षिक ६ अर्बमा सीमित भएको छ,’ उनले चाणक्य पोष्टसँग भने । विगतमा वार्षिक ३० अर्बसम्मको गलैँचा निर्यात भएको रेकर्ड छ ।

 

गत आर्थिक वर्षमा ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको गलैँचाजन्य उत्पादनको कारोबार र निकासी भएको तथ्याङ्क छ । अहिले अन्तर्राष्टिय बजारमा नेपाली गलैँचाको माग उच्च भए पनि आपूर्ति हुन सकेको छैन । उत्पादन नै कम हुँदा माग अनुसार गलैँचा निर्यात गर्न नसकिएको उनको भनाइ छ ।

 

पछिल्लो समय नेपालीहरु वैदेशिक रोजगारीमा जाने क्रम वृद्धि भएकाले जनशक्तिको अभाव भएको शाह बताउँछन् । त्यस्तै, गलैँचा उत्पादनमा नयाँ प्रविधि तथा तालिमको अभाव हुँदा उत्पादन वृद्धि हुन नसकेको उनको भनाइ छ । हाल उत्पादन हुने अधिकांश गलैँचा विदेश निर्यात हुने गरेको छ । नेपालमा हातले बनाउने गलैँचा महँगो हुने भएकाले नेपालीले प्रयोग नगर्ने र अधिकांश विदेश निर्यात हुने शाहले बताए ।

 

सरकारको सहयोग कम भयो : उद्योगी

 

गलैँचाको उत्पादन र निर्यात बढाउन सरकारले आवश्यक सहयोग नगरेको उद्योगीहरु बताउँछन् । गलैँचाको उत्पादन र प्रबद्र्धनका साथै करमा समेत सहुलियत दिनुपर्नेमा त्यस्तो नगरेको संघको भनाए छ ।

 

विगतमा युरोपका ३२ देशसहित टर्की, न्युजिल्याड, अष्ट्रेलिया,क्यानडा, अमेरिकासम्म नेपाली गलैँचा निर्यात हुने गरेको थियो । तर सरकारले बजारीकरणमा सहयोग नगर्दा हाल निर्यात खुम्चिँदै गएको व्यवसायीहरु बताउँछन् ।

 

‘सरकारले नेपाली गलैँचा प्रबद्र्धनको लागि आवश्यक पहल गरेको देखिँदैन । घरमै तान राखेर गुजारा चलाएका मान्छेलाई सुविधा दिन मिल्दैन भन्ने जस्तो सरकारको व्यवहार छ,’ शाह भन्छन्, ‘सरकारले उद्योगीलाई करमा सहुलियत दिनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैँचा बजारीकरण गर्न सके उत्पादन र व्यापार दुवै बढ्छ ।’

 

अन्तर्राष्ट्रिय स्तरमा हुने ठूला मेला तथा प्रदर्शनीमा नेपाली गलैँचाको प्रचारप्रसारमा सरकारले जोड दिनुपर्ने उनको भनाए छ । साथै, त्यस्ता मेलामा धेरैभन्दा धेरै स्टल राख्न सरकारले पहल गर्नुपर्ने उनले बताए । नेपाली गलैँचाको प्रचारप्रसारका लागि सरकारले विदेशस्थित नेपाली दूतावासहरुमा नेपाली गलैँचा प्रयोग गर्ने घोषणा गरेको भए पनि कार्यान्वयनमा नल्याएको संघको भनाइ छ ।

 

कच्चा पदार्थमा विदेशै भर

 

गलैँचा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भने विदेशबाटै आयात हुने गरेको छ । गलैँचाको मुख्य कच्चा पदार्थ ऊन तथा धागो हो । नेपालमा ऊनको उत्पादन अत्यन्त न्यून हुने भएकाले विदेशमै भर पर्नुपर्ने अवस्गथा छ ।

 

नेपालमा हाल मुख्यगरी चीन, न्युजिल्याण्ड लगायत मुलुकबाट ऊन तथा धागो आयात हुने गरेको छ । ‘केही वर्ष अघि नेपालमा ऊन तथा धागो उत्पादन नै थिएन । हाल मागको करिब १० प्रतिशत कच्चा पदार्थ नेपालमै उत्पादन हुन्छ भने ९० प्रतिशत बढी चीन, न्युजिल्याड लगायत देशबाट ल्याइन्छ,’ शाहले भने ।

 

प्रविधि प्रयोगभन्दा परम्परागत सीपलाई नै निरन्तरता

 

पछिल्लो समय हरेक क्षेत्रमा विभिन्न नयाँ प्रविधिहरु आएका छन् । जसले उत्पादनलाई छिटो, छरितो बनाएको छ । तर, नेपाली गलैँचा निर्माणमा भने प्रविधिको सट्टा परम्परागत सीपलाई नै निरन्तरता दिएको पाइन्छ ।

 

नेपाली गलैँचाको विशेषता नै हस्त निर्मित हुनु रहेको शाह बताउँछन् । ‘नेपाली गलैँचाको मुख्य विशेषता भनेकै हातले ९ह्यान्ड मेड० निर्माण गर्नु हो, जसले गर्दा लामो समय लाग्छ,’ शाह भन्छन्, नेपाली गलैँचा एउटा व्यक्तिले महिना दिनमा ३ मिटर भन्दा बढी निर्माण गर्न सक्दैनन्, मेहनत धेरै लाग्छ, तर पनि निर्यातको लागि हातले बनाएको गलैँचाको नै माग धेरै छ ।’

 

तर नेपालमा इण्डिया र न्युजिल्याण्डबाट आयात हुने सस्तो साथै टप टेक (मेसिनले निर्माण गरिएको) गलैँचा प्रयोग गर्ने चलन छ । बजारमा नेपाली गलैँचाको क्वलीटी अनुसार आधार मिटर कार्पेटको २५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्छ ।

 

‘गलैँचा उद्योगले बेरोजगारी घटाउन सक्छ’

 

गलैँचा उद्योग बेरोजगारी समस्यालाई समाधान गर्न सक्ने क्षेत्र बन्न सक्ने शाह बताउँछन् । यस क्षेत्रको विकास र विस्तारमा सरकारी र निजी क्षेत्र दुवैले लगानी बढाए हजारौं संख्यामा रोजगारी सृजना गर्न सकिने उनको भनाइ छ ।

 

विदेशबाट उच्च माग भइरहेको र माग अनुसार उत्पादन हुन नसकेको अवस्था छ । यस क्षेत्रमा नयाँ उद्योग स्थापना गरी एकातर्फ निर्यात बढाई विदेशी पैसा भित्र्याउन सकिने र अर्कोतर्फ स्वदेशमा रोजगारी वृद्धि हुने शाहको भनाइ छ ।

 

विदेशीने युवाहरुलाई गलैँचा उत्पादन सम्बन्धी दिलाउन सके ठूलो मात्रमा रोजगारी सृजना गर्न सकिने उनले बताए । विगतमा विभिन्न संघसंस्थासँग समन्वय गरेर संघले तालिम दिने गरेको भए पनि हाल प्रदान गर्न नसकिएको उनको भनाइ छ ।

 

विगतमा गलैँचा उद्योगमा ५ लाख बढीले रोजगारी पाएका थिए । तर, पछिल्लो समय यो क्षेत्र खस्कँदै गएसँगै रोजगारी पाउनेको संख्या ५० हजारको हाराहारीमा सीमित भएको छ । हाल देशभर साना ठूला गरी ७०० हाराहारीमा गलैँचा उद्योगहरू सञ्चालनमा छन् ।

फागुन २ देखि ग्रीन भेञ्चरले आइपीओ जारी गर्ने Read Previous

फागुन २ देखि ग्रीन भेञ्चरले आइपीओ जारी गर्ने

धमाधम जहाज थप्दै श्री एयरलाइन्स, थप ३ वटा ल्याउँदै Read Next

धमाधम जहाज थप्दै श्री एयरलाइन्स, थप ३ वटा ल्याउँदै