काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा सचेत हुन सबैलाई आग्रह गरेको छ । पछिल्लो समय विभिन्न विद्युतीय उपकरणको
माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति/समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो आइरहेको भन्दै राष्ट्र बैंकले सबैलाई सचेत हुन् आग्रह गरेको हो ।
राष्ट्र बैंकले सामाजिक सञ्जालबाट चिनजानका मान्छेको नाममा रकम माग्ने, बैंकबाट फोन गरेको भनि इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने घटनाहरु बढेको भन्दै राष्ट्र बैंकले यी कुनै पनि विवरणहरु कसैलाई पनि नदिन सचेत गराएको छ ।
यस्तै, नक्कली वेबसाइट बनाएर ग्राहकहरुको गोप्य सूचना लिने, ठूलो रकमको चिठ्ठा परेको भन्दै लोभ देखाएर हस्तान्तरण गर्ने बहानामा रकम माग्ने काम भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अत्यधिक नाफाको लोभ देखाएर गैरकानूनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेगरी ठगी भइरहेको तर्फ सजग हुन राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ।
राष्ट्र बैंकले अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील विवरण नदिन भनेको छ। मोबाइल तथा अन्य डिभाइस एवम् एपमा पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्न र त्यस्ता पासवर्डहरु गोप्य रुपमा सुरक्षित राख्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
यदि कसैले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले माग गरे नगरेको यकिन गरी मात्रै रकम पठाउन आग्रह गरेको छ ।
त्यसैगरी, अनावश्यक तथा अनधिकृत एप आफ्नो फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न समेत राष्ट्र बैंकले सचेत गराएको छ। कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड वा क्यूआर कोड पठाएको वा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरे शंकाको आँखाले हेर्न राष्ट्र बैंकले आग्रह गरेको छ। रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड वा पासवर्ड पठाउन आवश्यक पर्दैन।
यस्तै, कुनै पनि बेवसाइटबाट विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो वा होइन यकित गरेर मात्रै कारोबार गर्न आग्रह गरेको छ।कुनै पनि वेबसाइटको ठेगाना ‘http://’ बाट सुरु भएको छ भने सुरक्षित वा भरपर्दो हुने भन्दै राष्ट्र बैंकले यसमा समेत ध्यान पुर्याउन आग्रह गरेको छ।
