सवा ५ करोडको आइपीओ ल्याएको जाल्पा लघुवित्तमा एनजीओ र बैंकको लगानी, कसको हिस्सा कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

 

निष्काशन भएकोे कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

सञ्चालनमा आएको ३ वर्षमा ८७ शाखा विस्तार

 

यस लघुवित्त २०७५ भदौ ३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो भने २०७५ कात्तिक १ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित पाएको थियो।

 

लघुवित्तले २०७५ चैत १ गते देखि औपचारिक रुपमा कारोबार सुरु गरेको थियो । त्यस्तै, साविकको महिला सामुदायिक लघुवित्तलाई गाभी २०७७ मंसिर १६ देखि एकीकृत कारोबार सुरु गरेको थियो ।यद्यपि, अनौपचारिक रुपमा भने २०६० सालदेखि नै कारोबार गर्दै आएको थियो । जाल्पा हाल राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कारोबार गर्दै आएको छ ।

 

सञ्चालनमा आएको झन्डै ३ वर्षको अवधिमा लघुवित्तले देशका २४ जिल्लामा शाखा संजाल विस्तार गरेको छ । हाल लघुवित्तले १ वटा केन्द्रीय कार्यालय, २ वटा प्रदेश कार्यालय, १४ वटा अनुगमन कार्यालयहरु, ८७ शाखा कार्यालयहरु र ३ वटा संकलन केन्द्रहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

जाल्पा लघुवित्तको रजिष्टर्ड कार्यालय कास्कीको पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौरमा रहेको छ ।

 

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

 

२५ करोड अधिकृत पूँजी रहेको लघुवित्तको जारी पूँजी १६ करोड रुपैयाँ रहेको छ । हाल १० करोड ७८ लाखरुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न कम्पनीले ५ करोड २२ लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

 

आइपीओपछि कम्पनीको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ६७.३७५ प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३२.६२५ प्रतिशत रहने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ५ करोड ८० लाख खुद मुनाफा कमाएको छ । हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ३६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।

 

चालु वर्षमा लघुवित्तको प्रतिसेयर आम्दानी ७४.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९७.४२ रुपैयाँ छ । आगामी वर्ष २०७९/८० मा लघुवित्तको प्रतिसेयर आम्दानी ८७.३३ रुपैयाँ र आव २०८०/८१ मा ११२.८७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०७९/८० मा ३८३.०१ र २०८०/८१ मा ४९३ रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

 

गत आर्थिक वर्ष २०७७/७८ सम्म १३ करोड ८० लाख रुपैयाँ सञ्चित नाफा रहेको लघुवित्तले चालु आव २०७८/७९ मा यस्तो नाफा २३ करोड ७ लाख पुर्याउने प्रक्षेपण गरेको छ । त्यसैगरी, आगामी आव २०७९/८० मा ३३ करोड ९७ लाख र आव २०८०/८१ सम्म ४८ करोड ६ लाख पुग्ने प्रक्षेपण गरेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

को-को छन् प्रमोटर सेयर होल्डर ?

 

कुल चुक्त पूँजीको ६७.३७ प्रतिशत संस्थापक सेयर स्वामित्व रहने लघुवित्तमा बैंक तथा वित्तीय संस्था र सामाजिक संस्थाहरु प्रमोटर सेयर होल्डरका रूपमा रहेका छन् । लघुवित्तमा प्राइम कमर्शियल बैंक, ज्योति विकास बैंक, पोखरा फाइनान्स, सृजन विकास केन्द्र, नेपाल महिला सामुदायिक सेवा केन्द्र र गीता कुमारी योगी गिरी मुख्य लगानीकर्ताका रुपमा रहेका छन् ।

 

लघुवित्तको मुख्य संस्थापक सेयर होल्डरको रूपमा सृजना विकास केन्द्र रहेको छ । संस्थामा यसको ३ करोड ४३ लाख रुपैयाँ लगानी अर्थात् ३ लाख ४३ हजार १०० कित्ता सेयर हिस्सा रहेको छ ।

त्यसैगरी, लघुवित्तमा नेपाल महिला सामुदायिक सेवा केन्द्र पनि मुख्य सेयर होल्डर रहेका छन् । लघुवित्तमा यस संस्थाको २ करोड ५८ लाख रुपैयाँ लगानी अर्थात् २ लाख ५८ हजार कित्ता सेयर रहेको छ ।

 

त्यस्तै, प्राइम कमर्शियल बैंकको ६५ लाख ८० हजार (६५ हजार ८०० कित्ता), ज्योति विकास बैंकको ५६ लाख ४० हजार (५६ लाख ४०० कित्ता), पोखरा फाइनान्सको ५६ लाख ४० हजार रुपैयाँ र गीताकुमारी योगी गिरीको २० लाख (२० हजार कित्ता) सेयर लगानी रहेको छ ।

 

लघुवित्तले आइपीओबाट प्राप्त पैसा कहाँ लगानी गर्छ ?

 

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न आइपीओ जारी गर्न लागेको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरेको छ । साथै, लघुवित्तका उद्देश्य अनुसार गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आइपीओ निष्काशन गर्नु परेको जनाएको छ ।

 

लघुवित्तले आइपीओ विक्रीबाट प्राप्त हुने ५ करोड २२ लाख रुपैयाँमध्ये भौतिक पूर्वाधार तथा शाखा विस्तार गर्न ५० लाख रुपैयाँ, पशुपालन तथा कृषि कर्जामा २ करोड रुपैयाँ, खुद्रा व्यापार र सेवा कर्जामा २ करोड रुपैयाँ र साना तथा घरेलु उद्योग कर्जामा ७२ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

 

भावी रणनीति

 

लघुवित्तले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउँदै लैजाने रणनीति लिएको छ। आगामी दिनमा पनि संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा प्रशासकिय सुदृढिकरणमा जोड दिने जनाएको छ।

 

कर्जामा दोहोरोपना/वहुपनाको कारणले अस्वस्थ देखिएको लघुवित्त क्षेत्रको सुधारको लागि ‘‘स्वच्छ लघुवित्त हाम्रो अभियान’’ लाई सार्थक रुप प्रदान गर्न संस्थामा मात्र आवद्ध भई कर्जा उपभोग गर्ने ऋणी सदस्यहरुलाई प्रोत्साहन स्वरुप ब्याजदरमा सहुलियत प्रदान गर्ने रणनीति लघुवित्तले लिएको छ।

 

यस्तै ग्राहकको आवश्यकता अनुरुप नै सेवाहरु उपलब्ध गराउँदै लैजाने, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा प्रशासकिय सुदृढिकरणमा विशेष जोड दिने, ऋण रकमको उपयोग उत्पादनशील कार्यमा लगाउनका लागि ऋणीहरुको उद्यमशिलता विकासमा जोड दिने, संस्थाको पूँजीकोष नेपाल राष्ट्र बैंक लगायत नियमनकारीको निर्देशन पालना गर्नेरगराउने, परम्परागत कारोवार प्रणाली प्रविधियुक्त हुने गरी रुपान्तरण गर्ने कार्यमा नीतिगत व्यवस्था गर्ने लगायतको रणनीति लघुवित्तले लिएको छ। लघुवित्तले लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिने गरी आवश्यक कार्यहरु गर्ने तयारी समेत गरेको छ।

 

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त Read Previous

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

आधाफिट बाक्लो हिउँ परेपछि त्रिभुवन राजपथमा यातायात अवरुद्ध Read Next

आधाफिट बाक्लो हिउँ परेपछि त्रिभुवन राजपथमा यातायात अवरुद्ध