काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारले घट्ने क्रम अझै जारी राखेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको बजारमा आजपनि झण्डै १० अंकले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषणा गरिरहेका भएपनि त्यसले लगानीकर्ताको ध्यान तान्न सकेको छैन् । दिनदिनै दोहोरो अंकले बजार घट्न थालेपछि लगानीकर्ता थप निराशावादी भएका छन् ।
सेयर बजार मापक सूचक नेप्से ९.५४ अंकले घटेर ११६८.९१ अंकमा आइपुगेको छ । आज १७३ कम्पनीको २९ करोड ९२ लाख ७६४ रुपैयाँको कारोबार भएको छ । १४ लाख २८ हजार ८३८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये उत्पादन समूह बाहेक बाँकी सबै समूहको सूचक ओरालो लागेका छन् । उत्पादनमूलक समूहको सूचक ५.३९ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६६.०८ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि ६.८१ अंकले झरेको छ ।
कारोबार रकमको आधारमा सिभिल बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा कुमारी बैंक र एभरेष्ट बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । यी दुवै बैंकको कुमारीको १ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै आँधीखोला लघुवित्तको सेयर मूल्य करिब ५.१८ प्रतिशतलेले बढेको छ भने यूनाइटेड इन्सुरेन्सको कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.३१ प्रतिशतले घटेको छ ।