काठमाडौं । दूधको मूल्य पोकामा १० रुपैयाँले बढ्ने भएको छ । सरकारले किसानबाट किन्ने दूधको मूल्य बढाएसँगै बजारमा पाइने पोका दूधको मूल्य ५ रुपैयाँसम्म बढ्ने भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले विक्री गर्ते दूधको निर्धारण मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ४८ पैसा मूल्य बढाएको नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार २/३ दिनपछि बजारमा दूधको मूल्य बढेर आउने छ ।
३ वर्ष यता किसानले प्रतिलिटर ४९ रुपैयाँ १५ पैसासम्ममा दूध विक्री गर्दै आएको थिए । सरकारले ६.४८ रुपैयाँ बढाएसँगै किसानले बेच्ने दूधको मूल्य ५६ रुपैयाँ ४० पैसा पुग्ने उनले बताए । यसरी उद्योगीले सकन्ने दूधको मूल्य बढेसँगै बजारमा पाश्चराइज भएर आउने दूधको मूल्य समेत बढ्ने भएको हो ।
‘हिजो सरकारले निर्धारित मूल्य बढाएको छ, भोलिसम्म डीडीसी ( दूग्ध विकास संस्थान) ले बढाउने कुरा सुनेको छु, त्यही मूल्य अनुसार निजी संस्थानहरुले पनि मूल्य तोक्नेछन्, र पर्सिको दिनबाट बजारमा लिटरमा १० रुपैयाँ जति मूल्य बढेर आउने छ,’ सापकोटाले चाणक्य पोष्टसँग भने ।
सिजनमै दूध अभाव
यो वर्ष दूध ओभरफ्लो हुने सिजनमै दूधको अभाव भएको छ । विगतमा यस समयमा दूध राख्ने ठाउँ नभएर पाउडर बनाउनु पर्ने बाध्यता रहेको उनले बताए । उनका अनुसार हाल दूधको उत्पादन २३ लाख मेट्रिकटन रहेको छ ।
मौसम अनुसारको दूधको उत्पादनको कारण जाडो महिनामा (असोज–फागुन) सम्ममा उत्पादन बढीभई किसानको दूधले बजार नपाउने अवस्थमा हुने गर्थ्यो । गर्मी महिना (चैत्र–भाद्र) सम्मको दूधको अभाव हुने गरेको थियो । उनले दूधको ओभर फ्लो हुने सिजनमै दूधको अभाव हुन थालेकोले चैत्र–भाद्रमा दूध अभाव बढ्ने अनुमान गरिएको थियो ।
उनले यो पटक कोभिडका कारण समेत किसानहरुले दूधको रकम भुक्तानी नपाएको बताए । दूधको भुक्तानी नपाउँदा किसानले गाइवस्तु पाल्नको लागी मात्र काम गरेको दूध उत्पादनका लागि जोर नदिएको उनको भनाइ छ ।
‘यो दूधको ओभर फ्लो हुने सिजन हो, तर यो पटक सिजनमा दूध अभावन हुन थालेको छ, अहिले यस्तो हुँदा पछि ड्राइ सिजनमा दूध अभाव बढ्ने देखिन्छ,’ सापकोटाले भने ‘कोरोनाका कारण पनि किसानहरु दूधका लागि वस्तु पाल्ने भन्दा पनि त्यसलाई जिउदो राख्न मात्र पालिरहेका छन् ।’
हाल दैनिक ४ लाख लिटरको हाराहारीमा दूध उत्पादन हुँदै आएको छ । बजारमा दैनिक ५ लाख लिटर दूध माग रहेको छ ।