आगलागीपछि तंग्रिँदै मुलुककै जेठो बिस्कुट उद्योग नेबिको, ६ नयाँ प्रोडक्ट ल्याउँदै

काठमाडौं । मुलुककै जेठो बिस्कुट उद्योग नेबिको भीषण आगलागीपछि तंग्रिने क्रममा रहेको छ । गत साउन २३ गते बालाजु स्थित काराखानामा भएको आगलागीबाट ५० करोडको क्षति बेहोरोको नेबिको विस्तारै उत्पादन बढाउनतर्फ लागेको हो ।

 

आगलागीपछि झन्डै डेढ महिना बन्द भएको उद्योग असोज २३ देखि पुनः संचालनमा आएको थियो । अझै पनि पूर्ण रुपमा उद्योग संचालन हुन नसकेको कम्पनीका ब्राण्ड म्यानेजर अरुणराज पौडेलले बताए ।

 

‘आगालगीबाट उद्योगले ठूलो क्षति बेहोर्नुपर्यो । सोपछि पनि डेढ महिना बन्द भयो,’ उनले चाणक्य पोष्टसँग भने, ‘अहिले विस्तारै उद्योग पुरानै लयमा फर्कने क्रममा छ । हाल क्षमताको ६० प्रतिशत हाराहारीमा उत्पादन हुन थालेको छ ।’

 

आगलागीपछि १० करोड रुपैयाँ लगानी गरी उद्योग संचालनमा ल्याइएको पोडैलले जानकारी दिए । उद्योगलाई पूर्ण क्षमतामा संचालनमा ल्याउन अझै २० करोड रुपैयाँ लगानी आवश्यक रहेको उनले बताए ।उद्योगले आगलागीबाट भएको नोक्सानीको पूर्तिका लागि २६ करोड रुपैयाँ बीमा दाबी गरेको भएपनि हालसम्म प्राप्त नभएको जनाएको छ ।

 

आगलागीपछि काम लाग्ने केही पुरानै र केही नयाँ मेसिन थप गरेर कम्पनीले पहिलाको उत्पादनको ६० प्रतिशत मात्र उत्पादन हुँदै आएको उनले बताए ।

 

नेबिको बिस्कुटको बजार माग मासिक ६०० देखि ७०० टनसम्म रहे पनि आगलागीकै कारण बजारको माग धान्न नसकिएको उनले बताए । पौडेलका कारण हाल भैरहवा र काठमाडौंको उद्योगमा गरी दैनिक १८ टन (मासिक करिब ५०० टन) मात्र उत्पादन हुँदै आएको छ ।

 

उत्पादन बढाउन नयाँ प्लान्ट जोड्दै

 

हाल कम्पनीले बजारको माग धान्न नसक्ने अवस्था रहेको छ । सो कुरालाई मध्येनजर गर्दै कम्पनीले उत्पादन बढाउन चाँडै बालाजु कारखानामा नयाँ प्लान्ट जडान गर्ने भएको छ ।

 

नयाँ प्लान्ट जोडिएपछि हालको तुलनामा उत्पादन दोब्बरले बढाउने कम्पनीको लक्ष्य रहेको छ । ‘आगलागी अघि हाम्रो उत्पादन दैनिक २८ टन थियो, हाल दैनिक १८ टनमा सीमित भएका छौं, तर नयाँ प्लान्ट जोडेपछि दैनिक ४० टन उत्पादन गर्न सक्छौ । मासिक १६ करोडको व्यापार गर्न सक्छौं,’ पौडेल भन्छन् ।

 

६ नयाँ प्रोडक्ट आउँदै

 

नेपालकै सबैभन्दा जेठो बिस्कुट नेबिकोले चालु वर्ष भित्रै ६ वटा नयाँ प्रोडक्ट बजारमा ल्याउने भएको छ । बजारमा बढ्दो नेबिकोको माग र उपभोक्तालाई फरकफरक स्वाद दिन नयाँ प्रोडक्ट ल्याउन लागेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले आगामी ५ महिना भित्रमा कुकिज, बिस्कुट गरी नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको पौडेलले बताए । ती प्रोडक्ट नयाँ स्वादमा आउने उनको भनाइ छ ।

 

कम्पनीले दुई साता अघि मात्रै नयाँ उत्पादन ‘मल्ट्रिग्रेन ट्रेकर्स्’ बिस्कुट बजारमा ल्याएको छ । सो बिस्कुट मासिक ५० लाख मूल्य बराबरको व्यापार गर्ने लक्ष्य रहेको पौडेलले बताए ।

 

यस बिस्कुटमा जौ, तिल, बदाम, ओट्ससहितको पौष्टिक तत्व समावेश गरिएको उद्योगले जनाएको छ । १०० ग्राममा उपलब्ध यस बिस्कुटको बजार मूल्य २५ रुपैयाँ तोेकिएको छ । सन् १९६४ देखि सञ्चालनमा आएको नेबिको हरेक नेपालीको रोजाइमा पर्ने बिस्कुट हो ।

 

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई जरिवाना Read Previous

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई जरिवाना

कवाडी बन्दै ५०० बढी मोटरसाइकल, वर्षौं बित्दा पनि हुन सकेन लिलामी Read Next

कवाडी बन्दै ५०० बढी मोटरसाइकल, वर्षौं बित्दा पनि हुन सकेन लिलामी