पाथीभरा जाने सडक कालोपत्र हुने

सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो ।

 

पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ ।

 

योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

 

२ वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म ८ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ ।

 

पाथीभरा जाने सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। काफ्लेका अनुसार अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्रीहरु पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने पाथीभरा क्षेत्र विकास समितिले अपेक्षा राखेको छ ।

 

हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको तीर्थयात्रा सकसपूर्ण रहँदै आएको छ । तीर्थयात्री आफैँले लिएर आएको सानो गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारदेखि यहाँका स्थानीयवासी गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निकै सास्ती खेप्दै आएका छन् ।

 

अब पाथीभरा सडक कालोपत्र बनेमा भने तीर्थयात्रीले लिएर आएको गाडी नै पाथीभरा क्षेत्रसम्म पुग्ने हुँदा देश विदेशका तीर्थयात्रीलाई सहज हुनाका साथै ठूलो राहत मिल्ने कार्यकारी निर्देशक काफ्ले बताउँछन् ।

 

यता पाथीभारा क्षेत्रको कालोपत्र भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटेल व्यवसायीहरुको अपेक्षा छ ।रासस

उद्योग संगठन मोरङले विराटनगरमा आर्थिक सम्मेलन आयोजना गर्ने Read Previous

उद्योग संगठन मोरङले विराटनगरमा आर्थिक सम्मेलन आयोजना गर्ने

नेप्से दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने ११ कम्पनी Read Next

नेप्से दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने ११ कम्पनी