विराटनगर । उद्योग संगठन मोरङले बाह्रखरी मिडियासंगको सहकार्यमा प्रदेश नंं. १ मा प्रदेश स्तरीय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ । बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्ने कर्पोरेट गल्फ अन्तर्गत सरकार र निजी क्षेत्रको सहभागितामा आर्थिक सम्मेलन फागुन १३ र १४ आयोजना हुने भएको हो ।
पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान भन्ने थिममा प्रदेश नं १ स्तरीय आर्थिक सम्मेलनको आयोजनाका लागि उद्योग संगठन मोरङले सहकार्य गरेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।
प्रदेश नं. १ को आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने उद्देश्यले सरकार, निजी क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामा विराटनगरमा आर्थिक सम्मेलनको आयोजनाका गर्न लागिएकोे जनाइएको छ ।
प्रदेशको राजनीतिक संरचना स्थापित भएपश्चात प्रदेश सरकारले समग्र प्रदेश १ को आर्थिक एवं सामाजिक विकासका लागि दीर्घकालीन सोच “स्वच्छ, सुखी र समुन्नत प्रदेश” र “सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने” समष्टिगत लक्ष्य निर्धारण गरेको सन्दर्भमा यस सम्मेलनले प्रदेश सरकारको दीर्घकालीन सोचको र लक्ष्य प्राप्तीमा सघाउ पुग्ने विश्वास आयोजकको रहेको छ ।
सम्मेलनमा प्रदेश १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के छन ? यस क्षेत्रको विकासका लागि हालसम्म के कस्ता प्रयासहरु भए ? कुन कुन क्षेत्रमा कस्ता नीति तथा कार्यक्रमहरु कार्यान्वयन गरिए ? र त्यस्ता नीति तथा कार्यक्रमहरुको उपादेयता कस्तोे रह्यो भन्ने विषयमा बृहत छलफल गर्ने आगामी दिनमा अपनाउनु पर्ने नीति तथा कार्यक्रमहरुका बारेमा ठोस मुद्दा पहिल्याउने अपेक्षा आयोजकको रहेको छ ।
पूर्व अर्थसचिव एवं उद्योग संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्ने छन् भने संघीय सरकारका अर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहने गरी तयारी भइरहेको सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता रहने छ ।
प्रदेश१ भरिका आर्थिक बिषय बस्तुहरुको उठानका लागि ५ ठाँउमा राउण्ड टेबुल बैठकहरुको आयोजना गरिँदैछ । १७ माघबाट धनकुटाबाट शुरु भएको राउण्ड टेबुल, इलाम, बिर्तामोड, गाईघाट र लुक्लामा आयोजना हुने छ । यसरी सबै क्षेत्रबाट प्राप्त सुझावहरुलाई समेत आधार बनाई कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
प्रदेश १ का आर्थिक एजेण्डाहरु स्थापित गराउन सम्मेलन अगाडि १ महिनासम्म बाह्रखरीले रिपोटिङ गर्ने र सम्मेलन पश्चात उद्योग संगठन र बाह्रखरी मिडियाले वर्ष भरि फलोअपका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।