चार भाइको चमत्कार : सुपारीका पातबाट बनेका भाँडा नेपालदेखि युरोपसम्म

काठमाडौं । अहिले घरमा गरिने कार्यहरू (भोज, भतेर, जन्मदिन, पास्नी लगायत) र पिकनिकमा प्लास्टिकका थाल, चम्चा, कचौरा प्रयोग बढ्दो छ । यो प्रयोग गर्दा सफा गर्नुपर्ने झन्झट हुँदैन । प्रयोग गरिसकेपछि फ्याँकीदिने (युज एण्ड थ्रो) गर्छन् ।

 

प्रयोग गर्न सजिलो भए पनि यस्ता प्लास्टिकजन्य भाँडा स्वास्थ्य र वातावरण दुवैका लागि हानिकारका छन् । यसको विकल्पमा हाल विभिन्न होटलहरूमा टपरी समेत चलन चल्तीमा आएको छ । तर, टपरीमा खानेकुराहरू चुहिने, हात पोल्ने र अफ्ठेरो समेत हुने हुँदा अलि झन्झटिलो नै मानिन्छ ।

 

पछिल्लो ५ वर्ष यता भने हानीकारक प्लाष्टिक र झन्झटिलो टपरीको विकल्प बजारमा आएको छ । इन्जिनीय पढेका ४ युवाको नवीनतम सोचले वातावरणमैत्री र लामो समयसम्म प्रयोग गर्न मिल्ने सुपारीको प्लेट, कचौरा लगायत भाँडा प्रयोगमा ल्याएका छन् ।

 

मःमः खाँदा हात पालेपछि फुर्यो आइडिया

 

हेटौंडाका कोवितसिंह बानियाँ, दाङका स्वाभिमान आचार्य, काठमाडौंका विधान पोखरेलसहित साथीहरू एक दिन काठमाडौंमा मःमः खान गए । टपरीमा मःमः खाँदा हात पोलेपछि उनीहरू टपरीको भरपर्दो विकल्प सोच्न थाले ।


इन्जिनीयरिङ पढेका यी साथीहरू टपरीको सट्टा अलि राम्रो गुणस्तरीय, नचुहिने र हात नपोल्ने खाल्का कुनै अर्को वस्तु पनि यसरी प्रयोग गर्न मिल्छ कि भनी सोच्न थाले । युट्यूब, वेबसाइट, सबै तिर अध्ययन गर्र्दा सुपारीको पातबाट पनि थाल, कचौरा, भाँडा बनाउन मिल्ने रहेछ भन्ने थाहा पाए ।

 

कोवित इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, स्वाभिमान मेकानिकल र विधान इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर हुन् । बजारमा चलेका टपरीमा केही समस्या रहेछन् । मेसिनमै भए पनि घरमा गाँसेजस्तै सिन्काको प्रयोग हुने रहेछ, खाना खाँदा कथंकदाचित ती सिन्का अट्किए के गर्ने ? तातो कुरा राख्न नमिल्ने रहेछ । झोल चुहिने र यसले भाँडो भिजाउने रहेछ, बानियाँ सुनाउँछन्,फेरि माइक्रोवेभ र फ्रिजमा पनि राख्न नमिल्ने रहेछ ।

 

सुरूआती समयदेखि नै समाज र देशलाई प्रभाव पार्ने किसिमको केही नवीनतम काम गर्ने सोच बोकेका यी साथीहरूले सुपारीको पात मोटो हुने र यसबाट थाल, कचौरा, चम्चा पनि राम्रो बन्ने विचारका साथ यसको स्रोत पत्ता लगाउन थाले । ‘सालको पात, केराको पात गर्दा गर्दै हामीले सुपारीको पात प्रयोग गर्न सकिन्छ भन्ने निष्कर्ष पनि निकाल्यौं,’ स्वाभिमान आचार्य भन्छन् ।

सुपारीको पात अलि मोटो हुने भएकाले माइक्रोवेभ र फ्रिजको चिसोतातो थेग्ने रहेछ भन्ने थाहा पायौँ उनले भने ‘हामी सबैजना मिलेर इन्टरनेटमा सुपारीको पातबाट कसरी प्लेट बन्छ, यसका लागि के चाहिन्छ, भनेर खोज्न थाल्यौं र इन्टरनेटमार्फत भारतको तामिलनाडुमा सुपारीको पातबाट टपरी÷प्लेट बनाइन्छ भन्ने फेला पारेका थियौं ।’

 

सुपारीको पात खोज्न पूवी तराईका जिल्ला पुगे

 

यता काठमाडौँमा सुपारीको पातबाट दुना टपरी बनाउने सम्भाव्यताको खोजी भइरहेको थियो । पात कहाँबाट कसरी संकलन गर्ने भन्ने विषय अनुसन्धान भइरहँदा झापा, मोरङ र सुनसरी लगायतका पूर्वी जिल्ला सुपारी खेतीका निम्ति प्रसिद्ध छन् भन्ने उनीहरूलाई थाहा भयो ।

 

अध्ययनपछि त्यहाँ करिब ३६ लाख सुपारीका बोट भएको उनीहरूले थाहा पाए । एउटा बोटबाट वर्षमा ८ देखि ९ वटा पात झर्छ । सबैतिर गरी वार्षिक ३ करोडभन्दा धेरै पात खेर गइरहेको हिसाब गरे । उक्त क्षेत्रमा यस्ता पात गाईवस्तुले खाने कुँडो पकाउन बाहेक अन्य केहीमा पनि उपयोग हुँदैन रहेछ । कि त यसलाई फोहोरमा फाल्नुको विकल्प रहेनछ ।

झापामा पात संकलन गरिने निधो भयो । हेटौँमा उद्योग खोल्न सन् २०१७ मा २ कठ्ठा जमिन लिजमा लिए । भारतबाट मेसिन मगाइयो । सुरूमा आफैंले पातबाट प्लेट, कचौँरा बनाउन थाले । पछि केही मान्छे राखेर उनीहरूलाई भारतमै तालिमका लागि पठाई काममा राखेको आचार्यले बताए । उद्योगको नाम लिफ प्लस प्राइभेट लिमिटेड भनेर राखियो ।

 

‘त्यति बेलासम्म फोहोरमा फालिएका सुपारीको पात किसानसँग किन्छौं भन्दा सुरूआती चरणमा त त्यहाँका किसानहरूले पत्याउनु भएन । तर हामीले उहाँहरूलाई सबै प्रक्रिया बुझायौं र पछि बल्ल विश्वास गर्न थाल्नु भयो । फोहोरको रुपमा खेर गइरहेको पात किन्छौंभन्दा किसानहरूपनि निकै उत्साहित भएका थिए, आचार्य भन्छन् ‘उहाँहरूले त्यसलाई निकै राम्रो आयआर्जनको स्रोतको रुपमा लिन थाल्नु भयो ।’

 

उनीहरूले किसानबाट पातको साइज हेरेर २ देखि ३ रुपैयाँमा प्रतिपात किन्ने गरेको बताए । हाल एउटै किसानले एक÷डेढ लाख रुपैयाँसम्मको पात उनीहरूलाई बेच्ने गरेको आचार्य बताउँछन् ।

उनका अनुसार झापाको शान्तीनगर, बुधबारे लगायतका स्थानहरूमा पात संकलन गर्नका लागि कलेक्सन सेन्टर स्थापना गरिएको छ । उक्त स्थानमा किसानहरू आफैं आएर पात बेचेरा जाने गर्छन् ।

 

४ करोड बढी लगानी

 

हाल ४ करोड लगानी भइसकेको यसमा उनीहरूले १८ जना कामदार राखेका छन् । वर्षेनी १० लाख पात किन्ने गरेको उनले बताए । उनीहरूले ३० थरी सामग्री सुपारीको पातबाट बनाउने गरेका छन् । लिप प्लसबाट उत्पादन हुने प्लेट तथा भाँडाकुडाहरू भाटभटेनी, सेल्सवे, सेल्सबेरीमा सहजै पाउन सक्ने उनी बताउँछन् ।

 

हामीले उत्पादन सुरू गर्दा मानिसहरूमा सचेतना पनि थिएन, उनीहरू सामानभन्दा पनि मूल्य हेर्ने गर्दथे । प्लाष्टिक तथा आल्मुनियम फोइलहरूका प्लेटहरूको तुलनामा यो केही महँगो पर्न जाँदा उनीहरूको रोजाई त्यसैतर्फ थियो । तर, यसलाई समेत पन्छाउँदै आफूहरू अघि बढेको उनको भनाइ छ । हाल मानिसहरूले यस्ता भाँडाको बारेमा थाहा पाइ, यसकै माग गर्ने गरेको उनले बताए ।

 

३० प्रकारका भाँडा, मासिक ३ लाख पिस उत्पादन

 

हेटौँडामा उद्योग सञ्चालन गरेको डेढ वर्षमा उनीहरूले उद्योगलाई हेटौंडाबाट हटाएर झापामै स्थापना गरे । सुरूमा दैनिक ५/६ सय प्लेट उत्पादन गर्ने गरेका उनीहरूले हाल दैनिक ८ हजार हाराहारीमा प्लेट उत्पादन गर्ने गरेका छन् । अब प्लेटको संख्या बढाउँदै दैनिक १० हजार प्लेट उत्पादन गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

 

लिफ प्लस्बाट उत्पादन हुने भाँडाको मूल्य ४ रुपैयाँदेखि १८ रुपैयाँसम्म रहेको छ । अन्य कागज तथा लास्ष्टिकको तुलनामा निकै गुणस्तरीय मानिसएको यस्ता भाडा उनले जर्मनमा समेत निर्यात गर्न थालेका छन् ।

हेटौंडाबाट उत्पादन सुरू गर्दा त्यतिबेला मासिक ३० हजार पिस उत्पादन हुन्थ्यो हाल मासिक ३ लाख हाराहारीका भाँडा उत्पादन हुन्छन् । हाल ३० प्रकारका भाँडा उत्पादन हुन्छन् । होटेल, रेष्टुराँ तथा स्टलहरूमा प्रयोग हुने यी प्लेट, कचौरा, चम्चालगायतका सामानहरूको माग जर्मनमा बढ्दो रहेको आचार्यले बताए ।

 

युरोपदेखि अमेरिकासम्म निर्यात

 

स्वदेशी प्रयोग नै बढिरहेको समयमा लिफ प्लसले अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न थालिसकेको छ । उनका अनुसार, जर्मनीमा यसको माग उच्च रहेकाले त्यहाँ निर्यात भइरहेको छ ।

कोरोना काल सुरू हुँदै निर्यात थालेका उनीहरूले हाल प्रत्येक ३ महिनामा एक कन्टेनर प्लेट, कचौरा जर्मनी पठाउने गर्छन् । एउटा कन्टेनर ४० फिटको हुन्छ । उनले वार्षिक २ लाख ५० हजार पिस प्लेट तथा कचौरा जर्मनी निर्यात गर्ने गरेको बताउँछन् ।

 

यसबाहेक अष्ट्रेलिया, वेलायत, जापान, अमेरिका लगायतका देशमा पनि केही मात्रामा सामान निर्यात भइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको माग निकै रहेको छ आचार्य भन्छन् ‘अब अझै उत्पादन बढाएर निर्यात पनि बढाउने सोचेका छौँ ।’ उनले वार्षिक ६० देखि ८० लाख रुपैयाँ बाराबरको भाँडा निर्यात गर्ने गरेको बताए ।

 

 

२१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरू Read Previous

२१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरू

सेयर बजारमा एकाएक किन आयो उछाल ? Read Next

सेयर बजारमा एकाएक किन आयो उछाल ?