काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये २० प्रतिशत बढी ऋण थोक तथा खुद्रा व्यवसायमा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले विभिन्न १५ क्षेत्रमा कर्जा प्रवाह गर्ने गरेकोमा थोक तथा खुद्रा व्यवसायमा २० प्रतिशत ऋण लगानी गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ४६ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका छन् । सोमध्ये सबैभन्दा धेरै थोक तथा खुद्रा व्यवसायमा मात्रै ९ खर्ब २८ अर्ब कर्जा लगानी गरेका छन् । यो कुल कर्जा रकमको २०.१६ प्रतिशत हो ।
थोक तथा खुद्रा व्यवसायका लागि लिइने ऋण वस्तु आयातमा खर्च हुने गरेको छ । राष्ट्र बैंकले पछिल्लो समय वस्तु आयातमा कडाइ गरे पनि यस क्षेत्रमा जाने कर्जा भने बढेको देखिएको छ ।
पछिल्लो साढे २ वर्षमा थोक तथा खुद्रा व्यवसायमा प्रवाह हुने कर्जा झन्डै ३७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ सम्म बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा कुल ६ खर्ब १५ अर्ब कर्जा लगानी गरेकोमा अहिले बढेर सवा ९ खर्ब पुगेको हो । साढ २ वर्षमै यस क्षेत्रमा थप ३ खर्ब १२ अर्ब कर्जा लगानी गरेका हुन् ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले उपभोग्य कर्जामा पनि ठूलो रकम लगानी गरेका छन् । थोक तथा खुद्रा व्यवसायपछि बैंकहरूले यसक्षेत्रमा धेरै कर्जा लगानी गरेका हुन् । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले उपभोग्य कर्जा अन्तर्गत ७ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका छन् । यो कुल कर्जाको १७.२२ प्रतिशत हो ।
त्यसैगरी, धेरै कर्जा प्रवाह हुने क्षत्रमा कृषि क्षेत्र तेस्रोमा परेको छ । मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा ७ खर्ब ५२ अर्ब अर्थात् १६.३३ प्रतिशत कर्जा लगानी गरेका छन् । त्यस्तै, बैंकहरूले कृषि तथा वनजन्य उद्योगमा ३ खर्ब १२ अर्ब ऋण लगानी गरेका छन् ।
अनुत्पादक भनिने घरजग्गा, गाडी र सेयरमा पनि बैंकहरूले झन्डै ७ खर्ब लगानी गरेका छन् । जसमा घरजग्गा (व्यक्तिगत होम लोन र रियल स्टेट)मा ५ खर्ब १९ अर्ब, सवारी कर्जा १ खर्ब ६८ अर्ब र सेयर धितोमा १ खर्ब ऋण लगानी गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले वित्त, बीमा र अचल सम्पत्तिमा मात्रै बैंकहरूले ३ खर्ब ६२ अर्ब लगानी गरेका छन् । मंसिरसम्म माछापाल व्यवसायमा ११ अर्ब २७ करोड, खानी जन्य उद्योगमा ९ अर्ब १५ करोड, निर्माण उद्योगमा २ खर्ब २९ अर्ब, जलविद्युत् तथा ग्यासजन्य उद्योगमा २ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी, धातुका सामान, मेसेनरी, विद्युतीय सामग्रीमा ७५ अर्ब, यातायात र संचार क्षेत्रमा १ खर्ब २ अर्ब, होटल तथा रेष्टुरेन्टमा १ खर्ब ९० अर्ब, सेवा क्षेत्रमा १ खर्ब ८८ अर्ब र अन्य क्षेत्रमा ४ खर्ब २३ अर्ब लगानी गरेका छन् ।
घरजग्गामा ऋण लगानी ३५ प्रतिशतले वृद्धि
बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गामा ऋण लगानी बढाएका छन् । अनुत्पादक क्षेत्र भए पनि वित्तीय संस्थाहरूले रियल स्टेट र व्यक्तिगत घर कर्जामा ऋण लगानी बढाएका हुन् ।
पछिल्लो साढे २ वर्षमा वित्तीय संस्थाहरूले घरजग्गामा ३५.४१ प्रतिशतले कर्जा विस्तार गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानी ३ खर्ब ८४ अर्ब रुपैयाँ रहेकोमा साढे २ वर्षमा १ खर्ब ३५ अर्बले बढेर चालु वर्षको पुस मसान्तसम्म ५ खर्ब २० अर्ब पुगेको छ ।
वित्तीय संस्थाहरूको रियल स्टेट (१ करोड ५० लाख बढी)मा २ खर्ब ६ अर्ब र होम लोन अन्तर्गत ३ खर्ब १३ अर्ब रुपैयाँ गरी घरजग्गामा कुल ५ खर्ब २० अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले गरेको कुल ऋण लगानीको कर्जाको ११ प्रतिशत हो ।
वित्तीय संस्थाहरूले घरजग्गामा गरेको कुल ऋण लगानी मध्ये वाणिज्य बैंकहरूको मात्रै ४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ ।
सवारी कर्जा घट्दो
नेपाल राष्ट्र बैंकले महँगा गाडी आयातमा रोक लगाएसँगै पछिल्ला दुई वर्षमा सवारीसाधन खरिदमा हुने कर्जा घटेको छ । साढे २ वर्षको अवधिमा सवारी कर्जा १२ अर्ब रुपैयाँले घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ सम्ममा कुल १ खर्ब ८० अर्ब सवारी कर्जा लगानी गरेका बैंकहरूले चालु आवको मंसिर आइपुग्दा घर्टार १ खर्ब ६८ अर्बमा सीमित भएको छ ।
आव २०७६/७७ को तुलनामा ७७/७८ सम्ममा वित्तीय संस्थाहरूले ७.७० प्रतिशतले सवारी कर्जा घटाएर १ खर्ब ६० अर्ब रुपैयाँ राखेका थिए । बैंक तथा वित्तीय संस्थाले चालु वर्षको ५ महिनामा सवारीसाधनमा ८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।