काठमाडौं । संयुक्त राज्य अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन अवरुद्ध बनाइदिने जनाएको छ।
नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।
पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ।
उक्त १ हजार २२५ किलोमिटर पाइपलाइन निर्माण गर्न ५ वर्ष लागेको थियो। त्यसलाई बनाउन ११ अर्ब डलर भन्दा बढी लागेको थियो।उक्त इन्धन परियोजना बालटिक समुद्र मुन्तिरबाट अघि बढ्छ र त्यसले जर्मनीमा हुने रुसी ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखेको छ।
गएको नोभेम्बरमा नियामक निकायले उक्त परियोजना जर्मनीको नियम अनुसार नरहेको भन्दै त्यसको अनुमतिलाई स्थगन गरिदिएपछि हालसम्म उक्त परियोजना सञ्चालनमा आइसेको छैन।
नोर्ड स्ट्रिम टुमा प्रमुख युरोपेली व्यापारिक समुदायले ठूलो लगानी गरेका छन्। वातावरणविद्हरूले रुसबाट उत्पादित ऊर्जामा युरोपको निर्भरता बढाउने उक्त परियोजना कसरी उत्सर्जन कटौती गर्ने र मानव सृजित जलवायु परिवर्तनका असर कम गर्ने रुसी प्रयाससँग मिल्न गयो भनेर प्रश्न गरेका छन्।
विगतमा युक्रेनका राष्ट्रपति भोल्दीमिर जेलेनस्कीले उक्त पाइपलाइनलाई ‘खतरनाक भूराजनीतिक अस्त्र’ भनेका थिए।