काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन गर्ने चर्चा भएको दशक बित्दा समेत कुनै काम अघि बढ्न सकेको छैन् । बढ्दो यात्रु चाप र ट्राफिक जाम व्यवस्थित गर्ने उत्तम विकल्प मेट्रो भए पनि सरकारको दृढ इच्छाशक्तिको अभावमा अघि बढ्न नसकेको हो ।
सरकारले कागजमा मात्र योजना बनाउने र राजनीतिक दलहरूले पनि चुनावी नारा मात्र बनाउँदा मेट्रो रेलको काम गफमै मात्र सीमित भएको छ । सत्ता बाहिर हुँदा भोट तान्न एजेन्डा बनाउने र सत्तामा पुगेपछि कार्यान्यवनमा उदासीन हुने प्रवृत्तिले मेट्रो रेल छायाँमा पर्दै आएको छ ।
कोरियन कम्पनीले सन् २०१२ मा गरेको अध्ययन अनुसार सातदोबाटो–रत्नपार्क– नारायणगोपाल चोकसम्मको १२.१० किलोमिटर मेट्रो संचालन गर्न सकिने बताइएको थियो । यो रेल्वे लाइन जमिनमाथि नै बनाइने गरी डीपीआर तयार गर्ने योजना रहेको भए पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन् ।
सरकारले कागजमा मात्र योजना बनाउने र राजनीतिक दलहरूले पनि चुनावी नारा मात्र बनाउँदा मेट्रो रेलको काम गफमै मात्र सीमित भएको छ ।
२०६८ सालमा रेल विभागले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको संभाव्यता अध्ययन गरेको थियो । जस अनुसार नारायणगोपाल चोकदेखि सातदोबाटोसम्मको खण्डमा सबैभन्दा बढी यात्रुको चाप हुने देखिएकाले यो रुटमा पहिलो चरणमा रेल सञ्चालनका लागि अध्ययन गर्न थालिएको थियो ।
अध्ययन समेत भई रेल विभागले प्राथमिकतामा राखे पनि सरकारको प्राथमिकतामा नपर्दा र आवश्यक सहयोग नगर्दा मेट्रो रेल सुन्नका लागि आकर्षक नारा मात्र बनेको हो ।
रुट परिवर्तन गर्न छलफल सुरू
सातदोबाटो हुँदै रत्नपार्क, नारायण गोपालचोकसम्म मेट्रो रेल गुडाउनका लागि डीपीआर तथा डिटेल डिजाइनको काम अघि बढाउन खोजिए पनि हालसम्म स्थानीयको विरोधका कारण अघि बढ्न सकेको छैन । विभागले कुनै अर्को विकल्प लिन सकिने हो कि भनेर छलफल भइरहेको जनाएको छ ।
पहिलो चरणमा सतदोबाटो–नारायणगोपाल चोक खण्डमा निर्माण गर्ने रेलको रुट परिवर्तन गर्न छलफल सुरू गरेको छ । मच्छेन्द्रनाथको जात्रामा रेलबाट नाघिने भन्दै स्थानीयले विरोध जनाएपछि रेल विभागले रुट परिवर्तनका लागि छलफल अघि बढाएको हो ।
विभागका सूचना अधिकारी अमन चित्रकारका अनुसार सातदोबाटो–नारायणगोपाल खण्डमा मच्छेन्द्रनाथको यात्रा गर्दा रेलमा यात्रा गर्नेले नाग्ने भन्दै नेवारी समुदायले रेल निर्माणमा अवरोध सृजना गरेका हुन । उनले सो कारण तोकिएको खण्डबाहेक खुल्ला वस्ती नभएको स्थानबाट मेट्रो रेल सञ्चालन गर्न सकिन्छ कि भनेर पनि छलफल भइरहेको बताए ।
‘समुदायहरूको पुरानै कुराले अझै आयोजनाको डीपीआर रोकेको छ, अब त्यो खण्डबाहेक पातलो बस्ती भएको अथवा, धेरै जमिन भएको ठाउँबाट मेट्रो रेल लान सकिन्छ कि भनेर छलफल भइरहेको छ, निर्णय भएको छैन,’ चित्रकारले चाणक्य पोष्टसँग भने ।
ढिलाइ हुँदा लागत झनै बढ्ने
सन् २०१२ मा तयार भएको रिपोर्ट अनुसार प्रतिकिलोमिटर ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । १० वर्ष बितिसक्दा अब निर्माणको खर्च प्रति किलोमिटर १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
अझै समयमा निर्माण सुरू नगर्ने हो भने भविष्यमा मेट्रो रेल निर्माणको लागत झन बढ्ने अनुमान गरिएको छ । हाइवेकै लाइनबाट मेट्रो रेल बनाउँदा माथि माथिबाट गुड्ने गरी बनाइने छ । यसरी निर्माण गर्दा केही घरहरू हटाउनुपर्ने हुनसक्छ ।
सन् २०१२ मा गरिएको अध्ययन अनुसार प्रतिकिलोमिटर ३ लागत ३ अर्ब खर्च हुने अनुमान गरिएको थियो भने अहिले उक्त लागत बढेर प्रतिकिलोमिट १० अर्ब खर्च हुने अनुमान छ ।
जति पछि धकेलियो उति लागत बढ्ने देखिएको छ । वर्षैंपिच्छे जग्गाको भाउ बढ्दा मुआब्जा पनि बढ्ने र निर्माण सामग्रीको भाउ समेत वृद्धि हुने भएकाले निर्माण लागत पनि बढ्ने देखिन्छ ।
मेट्रो रेल निर्माणका चुनौतीहरू
मेट्रो रेल निर्माण गर्दा सडकको बीचमा पिलर राखी फ्लाइओभरमा रेल गुडाउनु पर्छ । जसमा पिलरहरूका कारण साना सवारी एकै पटक दुईवटाभन्दा बढी गुडाउन कठिन हुने देखिन्छ । सो खण्डमा वरपरका घर भत्काउँदा मुआब्जाले रेल निर्माणको लागत नै महंगो पर्नेछ ।
यस्तै, लगनखेल क्षेत्रमा रेलभन्दा मुनि मच्छिन्द्रनाथको रथ गुडाउन नमिल्ने भन्दै स्थानीयले विरोध गरेका छन् । पानी पोखरीमा रहेको खानेपानीको ट्याङ्की पनि भत्काउनुपर्ने देखिएकाले विभाग रेललाई अण्डरग्राउण्ड गर्ने कि भनेर छलफलमा रहेको थियो ।
हाल रेल विभाग रुट नै परिवर्तन गरेर खुल्ला जमिन भएको स्थानबाट रेल लाने कि भनेर छलफलमा रहेको छ । विभाग यसरी अध्ययनमै अल्मलिँदा उपत्यकामा मेट्रो रेल निर्माण गर्न ढिलाइ भइसकेको बिज्ञहरू बताउँछन् । सरोकारवालाहरू सरकारको प्राथमिकतामा उपत्यकाभित्रको रेल नपरेकाले पनि रेल विभाग अध्ययनमै सीमित भएको बताउँछन् ।
अध्ययन भएको एक दशक बित्यो
उपत्यकामा मेट्रो रेल संचालन बारे अध्ययन भएको १ दशक बिते पनि अझै काम अघि बढ्न सकेको छैन । सन् २०१२ मा नेपाल सरकारले नै कोरियन परामर्शदाताबाट उपत्यकामा मेट्रो रेल सञ्चालन गर्नेबारे सम्भाव्यता अध्ययन गराएको थियो । उक्त अध्ययनअनुसार सन् २०१५ मा निर्माण थालेर २०१९ मा सम्पन्न गरिएको भए मेट्रो रेल चढ्नेको संख्या यतिबेला दैनिक १० लाख २० हजार पुग्ने थियो ।

कोरियन कम्पनीले चक्रपथ मात्र समेट्ने गरी अध्ययन गर्दा पाँच लाइनमा मेट्रो सञ्चालन गर्न सुझाएको थियो । फेरि सन् २०१७ मा जापानी सहयोग नियोग (जाइका) ले पनि उपत्यकामा सार्वजनिक यातायात सञ्चालनको मास्टर प्लान बनायो । सो अनुसार सन् २०३० भित्र सञ्चालनमा ल्याउने गरी दुई लाइनको मेट्रो चलाउने मास्टर प्लानमा उल्लेख थियो । यसमा नारायणगोपाल चोकदेखि सातदोबाटोसम्म उत्तर–दक्षिण लाइन र एयरपोर्टदेखि कलंकीसम्म पूर्व–पश्चिम लाइनको मेट्रो सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको थियो ।
यस्तै, नेपाल लगानी बोर्डले नारायण गोपाल चोकदेखि सातदोबाटोसम्मको मेट्रो लाइन विस्तार गरेर बुढानिलकण्ठबाट काठमाडौं–तराई फास्ट ट्रयाकको विन्दुसम्म पुर्याउन सुझाएको थियो । त्यस्तै, कोटेश्वर–कंलकी लाइनको मेट्रो विस्तार गरेर धुलिखेल पुर्याउन सुझाएको थियो ।यसरी बारम्बार भएका अध्ययनहरूले विभिन्न प्रस्ताव राखे पनि काठमाडौंवासीको मेट्रो सपना साकार हुने कुनै छाँट देखिएको छैन ।
५ रुटमा मेट्रो चलाउने लगानी बोर्डको योजना कागजमै सीमित
लगानी बोर्डले तयार पारेको परियोजना अध्ययन प्रतिवेदन अनुसार काठमाडौंका विभिन्न ५ रुटमा मेट्रो रेल संचालन गर्न सकिने उल्लेख छ । काठमाडौं मेट्रो रेलको रेल्वे लाइन २ रुट भूमिगत (अण्डर ग्राउण्ड) र बाँकी तीनमा जमीनमाथि नै हुने भनिएको थियो ।
जस अनुसार सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्मको १२.१० किलो मिटरको रुटमा चढ्ने ओराल्ने ११ स्टेशन प्रस्ताव गरिएको थियो । यो रेल्वेलाइन जमीनमाथि नै बनाइने अध्ययनमा उल्लेख छ ।
यस्तै कीर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्टसम्मको ११.५ किलोमिटरको जमिनमाथिको रुटमा ९ वटा स्टेशन बनाइने योजना रहेको थियो । जमीनमाथि नै बन्ने कोटेश्वर–चावहील–स्वयंम्भूनाथ–कोटेश्वरसम्मको २८ किलोमिटरको रुटमा १७ वटा चढ्ने–ओर्लनेले स्टेशन प्रस्ताव गरिएको थियो ।
स्वयम्भूनाथ–डिल्लीबजार–बौद्धसम्म बन्ने ११.७० किलोमिटर र धोवीघाट–सिंहदरबार–नक्साल–गोगंबुसम्मको १३. ८० किलोमिटरको अण्डरग्राउड रुटमा १०/१० वटा स्टेशन बनाइने प्रस्ताव आएको थियो ।
यसरी मेट्रो रेल बनाउँदा कूल ५७ वटा आधुनिक स्टेशन र २ वटा टर्मिनल बन्ने योजना रहेको थियो । प्रत्येक स्टेशनमा यात्रुको सहजताका लागि रेल आउने जाने समयतालिका र अन्य जानकारी दिनेगरी ‘रियलटाइम इन्फरमेसन डिस्प्ले’ राखिने र यो मेट्रो रेल २ तर्फी हुने गरी परियोजना अध्ययन गरिएको थियो ।
यो रेल्वे २० घण्टा सञ्लान गर्ने योजना सरकारले गरेको थियो । काठमाडौं मेट्रो रेल सञ्चालनमा आए दैनिक १ लाख १९ हजार बढी यात्रु ओहोर दोहोर गर्ने अनुमान गरिएको थियो ।
सार्वजनिक–निजी साझेदारी (बुट) मोडेलमा बन्ने काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) १ वर्षसम्ममा तयार गरी त्यसको ५ वर्ष भित्र रेलवे निर्माण सक्ने योजना रहेको थियो । रेलवेको फिजिबिलिटी, डीपीआर, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत कार्य निर्माण कम्पनी आफैले गर्ने गरी योजना बनाइएको थियो ।