५ कम्पनीलाई कालोसूचीम राख्न सिफारिस, ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने विषयलाई लिएर ५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

 

विभिन्न कार्यालयबाट ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भइ आएको सन्दर्भमा ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

 

कार्यालयद्वारा आज जारी सूचनामा लिखित रुपमा कालोसूचीमा राख्न नपर्ने आधार प्रमाणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न ती कम्पनीलाई निर्देशन दिएको उल्लेख छ । कार्यालयले यसअघि नै ती ५ वटै कम्पनीमा कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गर्दासमेत स्पष्टीकरण पेस नभएको जनाएको छ ।

 

सूचना अनुसार सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषा जनकपुरधामले कर्णाली बिल्डर्स जनकपुरधाम तथा नौकुण्ड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रसुवाले तितुङ कन्स्ट्रक्सन प्रालि काठमाडौँ र कुशलदेष निर्माण सेवा नौकुुण्ड रसुवालाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

 

यस्तै प्रहरी प्रधान कार्यालय नक्सालले एसियन लेदर इन्डस्ट्रिज प्रालि विराटनगर र मोर्डन सुज प्रालि टोखा काठमाडौँलाई कालोसूचीमा राख्न सिफारिस गरेको सो कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

यसअघि कार्यालयले यही माघ ६ गते समयमा सम्झौताअनुसारको निर्माण सम्पन्न नगरेको भन्दै सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो ।

यी हुन् अचाक्ली मूल्य वृद्धिले निकै अफ्ठेरोमा परेका विश्वका ४ देश Read Previous

यी हुन् अचाक्ली मूल्य वृद्धिले निकै अफ्ठेरोमा परेका विश्वका ४ देश

गफमै सीमित मेट्रो रेल : जति ढिला उति लागत बढ्दै, रुट परिवर्तन गर्न छलफल सुरू Read Next

गफमै सीमित मेट्रो रेल : जति ढिला उति लागत बढ्दै, रुट परिवर्तन गर्न छलफल सुरू