२१ बैंकको नाफा बढ्यो, १६ बैंक अर्बपति क्लबमा, ६ महिनामा कुनले कति कमाए ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको खुद नाफा बढेको छ । तरलता अभावका बाबजूद माग अनुसार कर्जा लगानी गर्न नसके पनि नाफा भने बढेको हो ।

 

अधिकांश बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढ्दा खुद नाफा बढ्न पुगेको हो । साथै, प्रोभिजनिङ बापतको रकम रिभर्स हुँदा र कमिशन तथाा फीबापतको आम्दानी बढ्दा नाफा बढ्न सहयोग पुगेको हो ।

 

बैंकहरुले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २७ मध्ये २१ बैंकको खुद मुनाफा बढेको छ भने ६ वटाको घटेको छ ।

 

दोस्रो त्रैमासमा बैंकहरुको खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशतले बढेको छ । २७ वटा वाणिज्य बैंकहरुले चालु वर्षको पुस मसान्तसम्म कुल ३४ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

 

यो गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब १३ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले कुल ३१ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

 

चालु आवको पहिलो त्रैमासमा एउटा बैंकले औसतमा १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष सोही अवधिमा औसतमा १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका थिए ।

 

२७ वटा बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । पुससम्म एनआइसीले २ अर्ब ६६ करोड खुद नाफा कमाएको छ । समीक्षा अवधिमा सिभिल सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ । यसले जम्मा ५० करोड नाफा आर्जन गरेको छ ।

 

१६ बैंक अर्बपति क्लबमा

 

दोस्रोे त्रैमाससम्म १६ बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । ६ महिनाको अवधिमा ती बैंकहरुले १ अर्ब बढी नाफा कमाएका हुन् । गत वर्ष सोही अवधिमा १३ वटा बैंकले मात्र १ अर्ब बढी नाफा कमाएका छन् । अर्बपति क्लबमा प्रवेश गरेका १६ बैंकमध्ये ३ बैंकले २ अर्ब बढी नाफा कमाएका छन् ।

२ अर्ब बढी नाफा कमाउने बैंकहरुमा क्रमशः ग्लोबल आइएमई, एनआइसी एशिया र नबिल बैंकका रहेका छन् । त्यस्तै, अर्बपति क्लबमा राष्ट्रिय वाणिज्य, एनएमबी, प्राइम कमर्शियल, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, कृषि, नेपाल, मेगा, प्रभु, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र माछापुच्छे रहेका छन् । यस्तै, दोस्रोे त्रैमासमा ११ बैंकले १ अर्ब कम नाफा कमाएका छन् ।

 

२१ बैंकको नाफा बढ्यो, ६ बैंकको घट्यो

 

समीक्षा अवधिमा २१ वटा बैंकले नाफा बढाउन सफल भएका छन् भने ६ वटाको घटेको छ । खुद नाफा घट्ने बैंकहरुमा प्राइम कमर्शियल, कुमारी, प्रभु, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंक रहेका छन् ।

 

जसमा सबैभन्दा धेरै कुमारी बैंकको २१.७७ प्रतिशतले घटेको छ । त्यसैगरी, सनराइज २१.४७ प्रतिशत, प्रभु १६.९० प्रतिशत, नेपाल बंगलादेश, १३.८२, एभरेष्ट १२.७९ र प्राइमको ७.४३ प्रतिशतले घटेको छ ।

 

यी बैंकहरुको खुद ब्याज आम्दानीका साथै खराब कर्जाबापत प्रोभिजनिङ गर्नुपर्ने रकम बढेकाले नाफा घट्न पुगेको देखिन्छ ।

 

सिभिलको छलाङ

 

दोस्रो त्रैमासमा खुद नाफाका साथै अधिकांश सूचकमा सिभिल बैंकले छलाङ मारेको छ । सिभिलले गत वर्षकोे तुलनामा चालु वर्षमा खुद नाफा साढे दुई गुणाले बढाउन सफल भएको हो ।

 

गत वर्ष पुससम्म जम्मा २० करोड कमाएको सिभिलिले चालु आवका अढार्ई गुणाले बढाएर ५० करोड पुर्याएको छ । त्यस्तै, सिभिलले निक्षेप संकलन, कर्जा लगानी, खुद ब्याज आम्दानी, संचालन मुनाफा, प्रतिसेयर आम्दानी जस्ता मुख्य सूचकमा उल्लेख्य प्रगति गरेको हो ।

 

सिभिलले ठूलो फड्को मारे पनि अन्य बैंकहरुको भने नाफामा सामान्य मात्र सुधार भएको छ । दोस्रो त्रैमासमा जम्मा ४ वटा बैंकले मात्र ५० प्रतिशतभन्दा धेरै नाफा बढाउन सफल भएका छन् ।

 

नोट : प्रस्तुत तथ्यांक बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट लिइएको हो ।

जापानले नेपाललाई दियो साढे १० अर्ब सहुलियतपूर्ण ऋण Read Previous

जापानले नेपाललाई दियो साढे १० अर्ब सहुलियतपूर्ण ऋण

१० वर्षमा नेपालको जनसंख्या २७ लाख बढ्यो, २ करोड ९२ लाख पुग्यो Read Next

१० वर्षमा नेपालको जनसंख्या २७ लाख बढ्यो, २ करोड ९२ लाख पुग्यो