काठमाडौं । जापान सरकारले नेपाललाई साढे १० अर्ब सहुलियपूर्ण ऋण दिएको छ । कोरोनाबाट प्रभावित नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापानले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको हो ।
मंगलबार उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान प्रत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।
२१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारले दिने उक्त सहायता ऋण स्वीकार गर्ने निर्णय गरेको थियो । जापानले यस सहयोगबाट कोरोनाले प्रभावित नेपालको अर्थतन्त्रलाई माथि उकास्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरेको छ ।