काठमाडौं । विभिन्न मोबाइल एप्सको प्रयोग गरी अमेरिकी डलरको अवैध कारोबार गरेको अभियोगमा एकैपरिवारका ३ सहित ४ जना विरुद्ध मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धा विभागले सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध ३७ करोड ६४ लाख ११ हजार बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।
विभागले कैलाली लम्कीचुहा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का, उनका बुबा नरबहादुर खड्का, दिदी भगवती खड्का र अनिता धिताल विरुद्ध मुद्दा दायर गरेको हो । अनिता दिनेशको केटी साथी हुन् ।
उनीहरूले विभिन्न बैंकमा गरेको कारोबार र बरामद गरिएको मोबाइलको प्राविधिक अध्ययनपछि विभागले उनीहरू विरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धी कसुरमा मुद्दा दायर हो ।
दिनेश खड्का र उनको परिवारका सदस्यहरू मिलेर मोबाइल एप्लिकेसन ई–स्कृल र बाइनान्स प्रयोग गरी विदेशी विनिमयको अपचलन गरेको तथा अमेरिकी डलरको अवैध कारोबारमा संलग्न रहेको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।
दिनेशले ई–स्कृल र बाइनान्स नामका मोबाइल एप्लिकेसनको प्रयोग गरी ग्लोबल आईएमई बैंकबाट ९ करोड ७९ लाख ९८ हनार ५८१, बुबा नरबहादुर खड्काको ग्लोबल आईएमई खाताबाट १ करोड ६४ लाख ११ हजार, दिदी भगवती खड्काको एनआइसी एसिया बैंकको खाताबाट २० करोड ४२ लाख ९४ हजार ५२६ बराबरको विदेशी विनिमय मुद्राको कारोबार गरेको उल्लेख छ ।
त्यस्तै दिनेशको केटी साथी अनिता धितालले लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ बराबरको कारोबार भएको विभागले जनाएको छ ।