हिमालय बन्यो आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स

काठमाडौं । नेपाल – चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ ।

 

हिमालयलाई आइएसओको स्तरीय व्यवस्थापन प्रणाली (आइएसओ ९००१ः२०१५)का मापदण्डअनुरुप व्यवस्थित भएकाले गत २९ डिसेम्बर २०२१ मै सम्मानित गरिएको थियो ।

 

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरे वापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।

 

हिमालयले यसअघि अगस्ट २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइएसओ बाट प्रमाणीकरण भएको थियो ।

 

आइएसओ ९००१ः२०१५ विश्वव्यापी रुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठनद्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो । जसबाट प्रमाणीत संस्थाले प्रदानगर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

 

आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र नं. 120057/A/0001/UK/En संयुक्त अधिराज्य स्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिसद्वारा हिमालय एअरलाइन्सलाई प्रदान गरिएको थियो । व्यवस्थापन प्रक्रियाका सुक्ष्म आयामहरु, मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परीक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली बैधानिक एवम् नियामकता सम्बन्धी महत्वपूर्ण सबै मापदण्ड अनुरुप भएका प्रमाणीत गर्दै एअरलाइन्सले यो प्रमाणीकरण प्राप्त गरेको हो ।

 

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्सले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।

 

एअरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्सले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स एक मात्र एअरलाइन्स हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स हो ।

 

हिमालय एअरलाइन्सले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्सको ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना छ ।

 

धमाधम निर्माण हुँदै टिमुरे सुक्खा बन्दरगाह, २० प्रतिशत काम पूरा Read Previous

धमाधम निर्माण हुँदै टिमुरे सुक्खा बन्दरगाह, २० प्रतिशत काम पूरा

सेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी Read Next

सेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी