काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने ‘सानिमा एनआरएन मुद्दती खाता’ योजना ल्याएको छ । बैंकका अनुसार यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् ।
विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५%, पाउण्ड स्टर्लिङमा ३% र यूरोमा २% को उच्चतम ब्याजदर प्राप्त गर्न सकिन्छ ।
सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम १०,००० (अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्ने छ । २ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भए पछि साँवा तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् ।
यो खाता खोल्न सानिमा बैंकको नजिकैको शाखा वा सानिमा बैंकको वेवसाईट www.sanimabank.com मा लगइन गरी अनलाईनबाटै आवेदन दिन सकिने छ ।
खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हाल सालै खिचिएको फोटो बैंकलाई बुझाउनु पर्ने छ ।
सानिमा बैंकका सात वटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।