काठमाडौं । घोराही चेम्बर अफ कमर्सको अध्यक्षमा मञ्जु बज्रचार्य चयन भएका छन् । हालै सम्पन्न पहिलो अधिवेशनबाट बज्रचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो ।
पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले एशियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भावना रहेकोले उत्पादनमा वृद्धि लगायत सम्बद्र्धनका लागि अघि बढ्नुपर्ने बताए ।
उलने दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएको र पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाएर जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएकोमा खुसी व्यक्त गर्दै वैदेशिक निर्यातमा दाङका सिमेन्ट एक हुनुपर्ने बताए ।
दाङ कृषिको दृष्टिले अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागि मुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमी तथा वेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तरदेशिय निर्याततर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।
साना तथा मझौला उद्योगको विकास, महिला उद्यमी तथा व्यापारीलाई प्राथमिकता दिन घोराही चेम्बर अफ कमर्स द्रूत रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।