काठमाडौं । कारोना महामारीकै बीच बजारमा सिटामोलको चरम अभाव देखिएको छ । संक्रमण बढेसँगै माग अनुसार आपूर्ति हुन नसक्दा अभाव भएको हो ।
औषधि उत्पादकहरुले माग अनुसार उत्पादन नगर्दा महामारीकै बेला सिटामोल अभाव हुने पुगेको हो । व्यवसायीहरुले घाटा लाग्ने भन्दै उत्पादन रोक्दा र सरकारी कम्पनीले पनि क्षमता अनुसार उत्पादन नगर्दा बजारमा अभाव भएको हो । बजारमा सिटामोल अभाव भएको यो पहिलो पटक भने होइन् ।
बारम्बार सिटामोलको अभाव हुने गरे पनि सहज आपूर्तिमा भने सरकारको ध्यान जान सकेको छैन् । सरकारले व्यवसायीलाई उत्पादन बढाउन निर्देशन दिनुको सट्टा नजर अन्दाज गरेर बसेको छ ।
उत्पादनको लागत भन्दा सस्तोमा बेच्नुपर्ने भएपछि औषधि उत्पादकहरुले सिटामोल उत्पादन नै घटाएका छन् । जसका कारण जनताले सिटामोल समेत नपाउने अवस्था आएको हो । उद्योगीहरुले भाउ बढाए मात्र उत्पादन बढाउने बताइ रहे पनि सरकार भने टुलुटुलु हेरेर बसेको छ ।
अन्य औषधिहरुमा नाफा कमाइरहेकै उद्योगहरुले महामारीको बेला सिटामोलको उत्पादन घटाइ मूल्य बढाउन सौदाबाजी गरिरहेका छन् ।उद्योगीहरुले सरकारले मूल्य बढाए आफूहरुले उत्पादन बढाउने र आपूर्ति सहज बनाउने बताउँदै आएका छन् । लागत नै नउठ्ने भएपछि उत्पादन रोक्नु स्वभाविक भए पनि औषधिजस्तो अत्यावश्यक वस्तुमा पैसाका लागि सौदाबाजी गर्नु स्वभाविक रुपमा लिन सकिँदैन ।
एकातिर कच्चा पदार्थको मूल्य अत्याधिक बढेकाले घाटा खाएर औषधि उत्पादन गर्नु परेको व्यवसायीहरुको भनाइ छ । अर्कोतर्फ सरकारी स्वामित्वकै औषधि उत्पादक नेपाल औषधि लिमिटेडले क्षमता अनुसार औषधि उत्पादन गर्न नसक्दा बजारमा अभाव देखिएको हो ।
३ करोड चक्की उत्पादन गर्न सक्ने कच्चा पदार्थ मौज्दात
महामारीमा नाफा घाटा नहेरी औषधि सहजै उपलब्ध गराउनु पर्ने भए पनि व्यवसायीले भने उत्पादन नै मूल्य बढाउने दाउ हेरिरहेका छन् । कतिपय उद्योगीले कच्चा पदार्थ नभएर उत्पादन रोकेको बताए पनि वास्तविकता त्यस्तो नभएको देखिएको छ ।
औषधि व्यवस्था विभागले स्वदेशी औषधि उत्पादकसँग कुल ३ करोड चक्की सिटामोल उत्पादन गर्न सक्ने १५ हजार ७३४ केजी कच्चा पदार्थ मौज्दात रहेको बताएको छ । सिटामोल उत्पादन गर्ने २२ उद्योगसँ उक्त परिमाणमा कच्चा पदार्थ स्टक रहेको विभागले जनाएको छ ।
तर, उद्योगहरुले भने उत्पादन नै रोकी कृत्रिम अभाव गराएका छन् । जसरी पनि मूल्य नबढाइ आपूर्ति सहज नबनाउने व्यवसायीको दाउ देखिन्छ । सरकार पनि सिटामोलको मूल्य बढाउन तयार रहे पनि विरोध हुने देखेर चुप लागेर बसेको छ ।
लागत समेत नउठ्ने भएपछि उत्पादन घट्यो : वरिष्ठ उपाध्यक्ष प्रधान
प्रतिचक्की १ रुपैयाँ घाटा खाएर औषधि उत्पादन गर्नु परेको व्यवसायीहरु बताउँछन् । सरकारले प्यारासिटामोल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढे पनि औषधिको मूल्य नबढाएका कारण यस प्रकारको औषधि उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ ।
प्यारासिटामोलको मूल्य प्रतिचक्की १५ वर्ष अघि १ रुपैयाँ निर्धारण गरिएको थियो । अहिले पनि सोही मूल्यमा बेच्नु परेपछि उत्पादन लागत समेत नउठ्ने गरेको नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष महेशप्रसाद प्रधान बताउँछन् ।
‘१५ वर्ष अघि मूल्य निर्धार गरियो, त्यो मूल्यलाई असर पार्ने वस्तुहरुको मूल्य बढे पनि त्यसको बढेन्’ प्रधान भन्छन्,‘त्यो बेला प्यारासिटामोल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य प्रति केजी करिब १५० डलर थियो । अहिले १ हजार डलर पुगिसकेको छ, उत्पादनको लागत आकासियो तर वस्तुको मूल्य बढेन् ।’
सरकारले मूल्य नियन्त्रण गर्नुपर्ने भएपनि कच्चापदार्थ र अन्य बस्तुहरुको मूल्य बढ्दा यसको यथावत रहेकाले उत्पादनमा समस्या आएको उनले बताए । नेपालमा औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भारत र चीनबाट आयात हुने गरेको छ ।
सामान्य प्रतिचक्की सिटामोल उत्पादनको लागत १.२५ रुपैयाँदेखि १.४० रुपैयाँसम्म पर्ने र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादन गर्दा २ रुपैयाँसम्म पर्ने व्यवसायीको भनाइ छ । तर, उक्त चक्की १ रुपैयाँमा बेच्नु परेको उनीहरुको गुनासो छ ।
आपूर्ति सुनिश्चिता गरिरहेका छौँ : महानिर्देशक ढकाल
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भने आपूर्ति सुनिश्चिताको लागि पहल गरिरहेको बताउँछन् । ‘हामीले औषधि आपूर्तिका लागि सबै उत्पादक,पैठारी कर्ताहरुसँग सम्वन्य गरेर प्यारासिटामोलको अभाव नहोस भनेर बजारमा लैजान निर्देशन दिएका छौँ’ उनले चाणक्य पोष्टसँग भने, ‘बजारमा गए/नगएको अनुगमन गर्ने टीम बनाएर सुनिश्चितता गरिरहेका छौँ ।’
अचानक माग बढेपछि आपूर्ति नहुँदा सिटामोलको अभाव देखिएको निर्देशक ढकालले बताए । ‘मानिसहरुलाई प्यारासिटामोल जस्तो औषधि पाइँदैन् भनेर हल्ला गरेपछि नचाहिए पनि जो कोहीले किनेर घरमा राख्छ, यसले माग बढ्ने बित्तिक्कै आपूर्तिमा असन्तलन आयो’ उनले भने ।
व्यवसायीहरुले घाटा हुन्छ भनेर अहिले नै औषधि उत्पादन घटाएर सिटामोल अभाव गर्न नहुने उनले बताए । विभागले औषधि उत्पादन र बिक्रि वितरणको कार्य निरन्तर रहेको भन्दै बजारमा सिटामोल अभाव नहुने बताएको हो ।
उत्पादकसँग भएको कच्चा पदार्थ तथा पैठारीको बारेमा विवरण संकलनको काम जारी रहेको महानिर्देशक ढकालले बताए । साथै, विभागले बजारमा औषधिको आपूर्तिबारे टिम बनाएर अनुगमन गरिरहेको उनको भनाइ छ ।