काठमाडौं । चिया अधिकांश मानिसको दैनिकीको पर्यावाची हो । अर्थात् प्रायःजसोको दैनिकी चियाको चुस्कीसँगै सुरु हुन्छ । नेपाली संस्कारमा पनि साथी भेट्यो चिया, पाहुना आए चिया, गफ गर्नु परे चिया पिउने चलन छ । चाहे त्यो कालो होस् या दूधको चिया । चिया नपिउने मान्छे सायदै कम होलान ।
त्यही चिया खान गएका तीन साथी (राजीव शाही, विष्णु घिमिरे र कृष्ण गिरी)को दिमागमा फुरेको योजनाले अहिले कर्पोरेट रुप धारण गरिसकेको छ । निम्न वर्गीय परिवारमा हुर्केका यी साथी, चियाका पारखी थिए । जहाँ पुगेर भए पनि दिनमा २/३ कप चिया पिउनै पर्ने यी साथीहरु बाटोमा भेटिने हरेक पसलमा पाएसम्म हरेक स्वादका चिया पिउने गर्थे ।
पैसा तिरेर पनि स्वाद अनुसारको मिठो चिया खान नपाउँदा मनै खिन्न पार्ने यिनीहरुको अनुभवले चिया घर खोल्ने उपाए आयो । सानैदेखि सँगै हुर्केका राजीव र विष्णु ९/१० कक्षा पढ्दादेखि नै चामलको बोरा त कहिले पानीका जार बोकेर २/३ सय रुपैयाँ कमाउने गर्थे । १० कक्षापछि मासिक २ हजार तलबमा प्लाई पसलमा काम गर्दै १२ कक्षाको पढाई पूरा गरेका यी दुई साथीले १२ कक्षापछि आफै प्लाई पसल समेत खोले, जुन धेरै समय चल्न सकेन र पछि राजीव ट्रेकिङ तिर लागे भने विष्णु जापानीज भाषा पढ्न थाले ।

ट्रेकिङ सिजनल भएकाले ३ महिना काम हुन्थ्यो ३ महिना त्यतिकै बस्नु पर्ने अवस्था थियो । ट्रेकिङका क्रममा धेरै थरी चिया चाखेका राजीवले एकदिन काठमाडौं फर्केपछि साथी विष्णुलाई चिया घर खोल्ने योजना बताए । उनको आइडियाबाट निकै प्रभावित भएका विष्णुले चिया घर खोल्न सहमत भएपछि तेस्रो साथी कृष्णलाई पनि चिया घर खोल्ने प्रस्ताव राख्दा उस्ले पनि साथ दिने भयो ।‘ट्रेकिङ जाँदा नुन चिया, घिउ चिया, पुदिना चिया, हरेक प्रकारका जडिबुटी र फलफूलको फ्लेबर पाउने चिया पिएँ, यसैले चिया घरलाई अघि बढाउन सघायो,’ राजीव भन्छन् ।
‘चिया, साथी र गफ’
काठमाडौंको पुरानो बानेश्वरमै खेल्दै हुर्केका यी साथीले बानेश्वरबाट मांकाल जाने बाटोको अलिकति भित्र एउटा पसल लिए जहाँ, केही कुर्सी राखियो । जति सकिन्छ उती पैसा हाल्दै आफ्नो अनुभव अनुसारको भिन्न स्वाद मट्का स्पेसल ३ थरिका चिया बनाउन थाले ।
२०७४ मा केही भिन्न सोच ‘चिया, साथी र गफ’ थिमका साथ सुरु गरिएको उक्त पसलमा उनीहरुले २ वटा दूधको र एउटा कालो चिया बेच्थे । उनीहरुले ३ जना मिलेर दूधको मिल्क मट्का र मसला मिल्क चिया बेच्ने गर्थे भने कालो चियामा मसला बल्याक टी विक्री गर्थे । जसोतसो ठिकठाक चलिरहेको सो पसलको पारिपट्टी अर्को एउटा ठूलो रेष्टुरेन्ट थियो । जुन नचलेका कारण विक्रीमा रहेको थियो ।

चिया घरलाई अझ राम्रो बनाउन सके धेरै ग्राहक तान्ने सोचका साथ उनीहरुले जसोतसो ऋण लिएर भए पनि चिया घरलाई बढाउने सोचे । साथीहरु सबै सहमत भए । सबैले ५०/६० हजार हालेर सो पसल २६ हजार रुपैयाँ मासिक भाडामा लिए । ९ आनामा रहेको उक्त रेष्टुरेन्ट लिएको ३/४ महिना झिंगा पनि छिरेन । खल्तीबाट भाडा जुटाउनु पर्दा साथीहरु निरास हुँदै गए ।
‘केही दिनपछि एक युट्युब भल्गर त्यहाँ चिया खान आएको बेला चियाको स्वाद मन परी युट्युबमा हालेपछि विस्तारै चिया घरमा आउने मान्छेको संख्या बढ्न थाल्यो । वातावरणीय हिसाबमा निकै सुन्दर आकृती र फनिचरले भरिएको चिया घरमा आउने मान्छेको संख्या बढ्न थालेपछि उनीहरुले अझै १६ वटा विभिन्न स्वादका चियाहरु थपे । सय, २ सय, ३ सय हुँदै ६ सयका संख्यामा बढ्दै गएको मान्छेको भिडसँगै स्टाफ पनि पसलमा थपिँदै गए,’ राजीव भन्छन् ।
मान्छे नअट्ने भएपछि ब्रान्च थप्दै
एउटै ठाउँमा धेरै मान्छे अटाई नअटाई हुन थालेपछि साथीहरुले फेरि पेप्सीकोलामा चिया घरको अर्को ब्रान्च खोल्ने निधो गरे । चिया घरबाट संकलन भएको पैसा र केही ऋणले ३० लाख हाराहारी लगानीमा चिया घरलाई विस्तार गरियो । पेप्सीकोलामा ६ आनामा बनेको उक्त चिया घरले अझै धेरै मान्छेहरुलाई स्थान दिन थाल्यो ।

आफै विभिन्न स्वाद अनुसन्धान गर्दै चियाका भिन्न फ्लेबर बनाउन सफल यी तिन साथीले २०७६ सालमा कुमारीपाटीमा अर्को एउटा ब्रान्च खोल्ने योजना बनाए । सबैले आफ्नो आफ्नो बचतबाट ५०/५० लाख लगानी हालेर खोलेको चिया घर घाटामा गयो । झण्डै १७ महिनाको बन्दलाई छिचोल्दै कोरोनाको दोस्रो लहर पछि चिया घरको ओपनिङ गरियो ।
झण्डै ३ हजारभन्दा बढी प्रकारका चियाको जानकारी राखेका उनीहरुले आफ्नो ब्राण्ड मान्छेको मनमा राख्न सफल भइसकेका थिए । तर, बीचमा कोरोना आयो । निर्माण सुरु भइसकेको थियो, पूरा हुन पाएन भाडा तिर्दै बस्नु पर्ने भयो । राजीव भन्छन् ‘कोरोनाले गर्दा लस भए पनि हाम्रो केही रिजभ फण्डले भाडा तिर्न सकेका थियौँ, अहिले पनि पुरै नर्मल भएको छैन, अझै विक्री ४० प्रतिशत कम छ ।’
कतिपय मट्का सानो भएकाले ग्रहाकबाटै माग आएपछि उनीहरुले अलि ठूलो डबल मट्का चियाको समेत व्यवस्था गर्न थालेका थिए । हाल यी ३ साथीले चिया घरको फ्रेन्चाइज पुतलीसडकमा समेत सञ्चालनमा ल्याएका छन् ।
२ हजार ग्राहक तान्ने लक्ष्य राखेको चिया घरमा हाल १ हजार हाराहारीमा ग्राहक आउने जाने गर्छन् । चियाका पारखिहरुका लागि राम्रो स्थानको रुपमा विकास भएको चिया घर हाल हरेकको रोजाइ बन्न पुगेको छ ।चिया घरबाटै वर्षेनी ६० लाख कमाई गर्ने गरेको यी ३ साथीले चिया घरलाई अझै उपत्यका बाहिर यसको ब्रान्च खोल्ने लक्ष्य लिएका छन् ।

यस्तै कोभिडको दोस्रो लहरपछि कुमारीपाटीमा ५० लाख लगानीमा बनेको चिया घर ११ आना जमिनमा रहेको छ । इनडोर र आउट डोर फ्यासिलिटी सहित बनेको यो चिया घरमा हरेक प्रकारका चिया सहित बेकरी फुडको पनि स्वाद लिन सकिन्छ । यस्तै चिया घरको फ्रेन्चाइज पुतलीसडकमा समेत रहेको छ । साथै, आगामी दिनमा उपत्यकाका साथै देशका मुख्य सहरमा शाखा विस्तार गर्ने लक्ष्य रहेको राजीव बताउँछन् ।
३० स्वादका चिया
३ थरी चियाका स्वादबाट सुरु भएको चिया घरमा हाल ३० थरी चियाका स्वाद चाख्न सकिन्छ । विभिन्न मन्छेहरुबाट चिया पत्तिहरुको बारे थाहा पाएका यी साथीहरुले आफै चाख्दै अनुसन्धान गर्दै फ्लेबर बनाएका छन् ।
हाल मसला मिल्कमा ४ वटा भेराइटी रहेको छ । मट्का, मसला मिल्क, चक्लेट मिल्क, क्यारामिल फ्लेबरमा रहेको छ । ब्ल्याक टीमा कागती, अदुवा, मरिच, पुदिना लगायतका विभिन्न फ्लेबर राखेर चिया विक्री गरिन्छ । साथै विभिन्न फलफूरुललाई घोलेर चिया बनाइन्छ । आइस चिया, लेमन आइस चिया, मसला आइस चिया, हर्बल चियाहरुमा , अर्गानीक ग्रिन टि, चिया घरमा पिउन सकिन्छ ।
झण्डै ३ करोड लगानी भइसकेको यस चिया घरले कञ्चनजंगा, इलाम, तेह्रथुमबाट चिया ल्याउने गरेको छ । चिया घरमा बन्ने चिया इन हाउसमै रिफाइन गरी मसलाहरु मिसाएयर बनाइने गरिन्छ । प्रोसेसिङ भएर चिया घरमा आउने चिया रिफाइन पछि प्रयोग हुन्छ । सोही चिया, चियाघरका ४ ब्रान्चमा पठाइन्छ । चिया घरमा मासिक १००/१५० केजी चिया पत्ती प्रयोग हुन्छ । ३ थरीको मसला प्रयोग गरी बनाइने चियामा चिया मसला, स्विट मसला, मट्का मसला हालिन्छ । चिया घरमा प्रयोग हुने सामग्रीहरु ८० प्रतिशत नेपालमै उत्पादित वस्तु हुन ।

वातावरणमैत्री माटोका भाँडा
चिया घरमा प्रयोग हुने मट्का भक्तपुरमा बन्ने गर्छ । चिया घरले आफ्नै इनहाउस उद्योगबाट मट्का तथा क्लेका कप र भाँडा उत्पादन गर्ने गरेको छ । मट्का बनाउँदा माटो र भट्टीको पैसा तिरेर आफैले मान्छे राखेर मट्का बनाउने गरेको राजीव बताउँछन् ।
एउटा मट्काको उत्पादन खर्च १० रुपैयाँ पर्छ । मट्का कप पुनः प्रयोग हुँदैन । यो कप प्रयोग पछि फेरि उद्योगमा लगी डिस्पोज गरिन्छ । मट्का कप ८०/९० दिनमा नष्ट हुन्छ ।
सेरामिक्स कपहरु चाहिँ ३ देखि ४ महिना पुनः प्रयोग गर्न सकिन्छ । यो मट्का भन्दा फरक हुनाले डिस्पोज हुन १२० दिन लाग्छ । चिया घरमा मासिक ७ हजार मट्का कप प्रयोग हुन्छ । सेरामिक्स कप भने वर्षमा ३ पटक ल्याइन्छ । यी मट्का कप र सेरामिक्स कप चिया घरका ब्रान्चहरुमा समेत पठाइन्छ ।
चिया घरको फ्रेन्चाइज
हाल चिया घरको एक मात्र फ्रेन्चाइज रहेको छ । पुतलीसडक फ्रेन्चाइजबाट चिया घरको चियाको स्वाद पाउन सकिन्छ ।
चिया घरको फ्रेन्चाइज लिनका लागि रोयलीटी तिर्नुपर्ने हुन्छ भने चिया बनाउन आवश्यक पर्ने सबै सामग्री चिया घरबाटै लिनुपर्ने हुन्छ । चिया घरको फ्रेन्चाइज बन्नका लागि ३२ सय स्क्वायर फिटमा संरचना बनेको हुनुपर्छ भने कम्पनी दर्ता भएको हुनुपर्छ ।
नयाँ भवन बन्दै
व्यवसाय फस्टाएसँगै चिया घरले नयाँ भवन निर्माण गर्दैछ । टी क्याफेका लागि उपत्यका बाहिर समेत चिया घर लैजाने योजनामा रहेको अब २२ आनामा बानेश्वरमै नयाँ भवन बन्नेछ ।
कोभिडले असर नगरे छिट्टै नयाँ भवनमा चिया घर विस्तार गर्ने राजीव बताउँछन् । झण्डै डेढ करोड रुपैयाँ लगानीमा बन्दै गरेको नयाँ भवनमा पार्किङ, इनडोर तथा आउट डोरको व्यवस्था हुनेछ । कोभिडले असर नगरेको खण्डमा आगामी बैशाखबाट उक्त नयाँ चिया घर सञ्चालन गर्ने लक्ष्य रहेको छ।
४० जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको चिया घरले वर्षेनी २ करोड रुपैयाँ बराबरको चिया बेच्ने लक्ष्य राखेको छ ।