धनाढ्यलाई कोरोनाकाल फाप्दै, विश्वका शीर्ष १० धनी व्यक्तिको सम्पत्ति दोबरले वृद्धि

काठमाडौं । कोभिड महामारी फैलिएका बेला विश्वका सर्वाधिक धनी मानिसहरू अझ बढी धनी भएको तर विपन्नतामा बाँचिरहेका मानिसहरू अझ गरिबीतिर धकेलिएको अक्सफाम नामक परोपकारी संस्थाले जनाएको छ।

 

उक्त संस्थाको प्रतिवेदनअनुसार विपन्न मानिसको आयका न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भयो। तर सन् २०२० को मार्चयता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति दुई गुनाभन्दा बढी भएको उसले जनाएको छ।

 

डाभोसमा वर्ल्ड इकोनमिक फोरमको बैठक सुरु हुँदा अक्सफामले विश्वमा व्याप्त असमानताबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। डाभोस बैठकमा हजारौँको सङ्ख्यामा व्यापारिक तथा राजनीतिक नेताहरू, चर्चिव व्यक्ति, अभियानकर्मी, अर्थशास्त्री र पत्रकारहरू भेला हुने गर्छन्।

 

उनीहरू स्विट्जरल्यान्डस्थित स्की रिसोर्टहरूमा भेला भएर छलफल, खानपानसहितका रमाइला भेला र चिनापर्ची गर्ने कार्युक्रममा सहभागी हुन्छन्।यद्यपि यस साताको लागि तय गरिएको उक्त बैठक यस वर्ष पनि ओमिक्रोन भेरिअन्ट देखा परेसँगै लगातार दोस्रो वर्ष अनलाइनमार्फत् हुँदैछ।

 

यस साताका छलफलमा महामारीपछिको सम्भावित भावी बाटो, खोप असमानता र ऊर्जा सङ्क्रमणको विषय समेटिने जनाइएको छ।अक्सफाम जीबी (ग्रेट ब्रिटेन) का प्रमुख कार्यकारी धनञ्जयन श्रीस्कन्दराजाले अक्सफामले आर्थिक, व्यावसायिक र राजनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिको ध्यानाकृष्ट गर्न सकियोस् भनेर यो समयमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताएका छन्।

 

‘यो वर्ष जे भइरहेको छ त्यो मापन गर्न सकिनेभन्दा परको छ,’ उनले भने, ‘महामारीका बेला दिनदिनैजसो एउटा नयाँ अर्बपति थपिएका छन् जबकि विश्वको ९९ प्रतिशत जनसङ्ख्या लकडाउनका कारण सकसमा छ, अन्तर्राष्ट्रिय व्यापार कम भइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटकहरू कम छन् र त्यसको परिणामस्वरूप थप १६ करोड मानिसहरू गरिबीतर्फ धकेलिएका छन्।’

 

अक्सफामको प्रतिवेदनमा थप के छ ?

 

अक्सफामले उद्धृत गरेको फोर्ब्सको तथ्याङ्कअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिमा इलोन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जकरबर्ग, स्टीभ बाल्मर र वारन बफेट छन्।

 

समग्रमा उनीहरूको सम्पत्ति ७०० अर्ब अमेरिकी डलरबाट १५ खर्ब डलर पुगेको छ। यद्यपि त्यसमा मस्कको सम्पत्ति १,००० प्रतिशतभन्दा धेरैले बढेको छ भने गेट्सको हकमा ३० प्रतिशतको मात्र वृद्धि छ।

 

विश्व बैंकबाट पनि प्राप्त हुने तथ्याङ्कमा आधारित हुने अक्सफामको प्रतिवेदनले स्वास्थ्यस्याहार, भोकमरी, लैङ्गिक हिंसा र जलवायुका असरले प्रत्येक चार सेकन्डमा एक जनाको मृत्यु गराइरहेको जनाएको छ।

 

उसले १६ करोडभन्दा धेरै मानिसहरू दैनिक ५.५० डलरभन्दा कममा काम गरिरहेको जनाउँदै कोभिड नभएको भए त्यसो हुँदैनथ्यो भनेको छ। विश्व बैंकले दैनिक .५० डलरको कमाइको आधारलाई उच्चमध्यम आय भएका देशको गरिबी मापन गर्न प्रयोग गर्छ । –बीबीसी

इलामको सुकिलुम्बा विमानस्थलमा फागुन ८ देखि तारा एयरले उडान गर्ने, भाडा कति ? Read Previous

इलामको सुकिलुम्बा विमानस्थलमा फागुन ८ देखि तारा एयरले उडान गर्ने, भाडा कति ?

मध्य भोटेकोशीको सेयर मूल्यमा लगातार १६ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ? Read Next

मध्य भोटेकोशीको सेयर मूल्यमा लगातार १६ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?