काठमाडौं । राष्ट्रिय गौरव आयोजनाहरू दशकौँदेखि सम्पन्न हुन नसकिरहेका अवस्थामा २ वर्षअघि सुरू भएको नौबिसे–नागढुंगा सुरुङ मार्गले भने आशा जगाएको छ । सुरुआती समयमा स्थानीयको अवरोध, मुआब्जा विवाद, जनशक्ति अभाव, कोरोना प्रभावका बीच आयोजना निर्माणले तीव्रता पाएको हो ।
हालसम्म आयोजनाको २७ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीयतर्फ ३७ प्रतिशत प्रगति भएको नागढुंगा नौबिसे सुरुङमार्गका कन्सल्टिङ इन्जिनीयर रमेशप्रसाद कोइरालाले बताए ।
तिहारपछि आयोजनाले कामको गति बढाएको छ । नागढुंगा नौबिसे सुरुङमार्गका आयोजना प्रवक्ता कोइरालाका अनुसार अहिले मासिक ३०० मिटर सुरुङ खन्ने गरी काम भइरहेको छ । दशैंअघि दैनिक ६ मिटर सुरुङ खनिँदै आएकोमा हाल १० मिटर खन्न थालिएको उनले बताए ।
नागढुंगा सुरुङमार्गमा हालसम्म कुल २ हजार २२० मिटर सुरुङ खनिसकिएको छ । आयोजना प्रवक्ता कोइरालाका अनुसार हालसम्म ७६१.४० मिटर मुख्य सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ३८५.४० मिटर र धादिङतर्फ ३७६ मिटर मुख्य सुरुङ खनिएको छ ।

त्यसैगरी, स्केप सुरुङ अन्तर्गत हालसम्म १ हजार २९० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७५८.५० मिटर र धादिङतर्फ ५३१ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ भने हालसम्म ४३.४० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ २७.८५ मिटर र धादिङतर्फ १५.५५ मिटर निर्माण गरिएको छ ।
यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनीबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । सुरुङमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
सुरुङको हरेक ३०० मिटरमा मेन सुरुङ र स्किेप सुरुङ जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।
यसरी खनिन्छ सुरुङ
एसिस्टेन्ट रेसिडेन्ट इन्जिनीयर अशिम घिमिरेका अनुसार सुरुङ मार्ग निर्माणका क्रममा सुरूमा भूगर्भ अवलोकन गरी त्यस अनुसारको फेस मार्किङ गरिन्छ । सुरूमा मेसिनले खनिन्छ भने मेसिनले खन्न नमिल्ने स्थानमा ब्लास्टिङ गरी खनिन्छ । ब्लास्टको लागि सुरूमा मेटेरियल ड्रिल गरिन्छ । ब्लास्टिङ पछि अन्य मक मेटेरियललाई स्टक गरेर राखेर ग्रोसर गरिन्छ । त्यसपछि फेस मेटेरियल क्लियर भएपछि सटकिट राखिन्छ ।
फेस मेटेरियल क्लियर गर्न प्यानल रिभ तथा सटकिट रिटको प्रयोग गरिन्छ । रिभ भएकोमा रिभ हालिन्छ । रिभ नभएकोमा सटकिट हालिन्छ । त्यसपछि रकभोल्ट हुन्छ । २ वटा रिभको बीचमा वायर म्याससले कसिन्छ । सटकिटले वायर म्यासले लक गरेपछि अर्को सटकिट गरिन्छ । रकभोल्टीङ गरेपछि अर्को स्थानमा समेत त्यसै अनुसार फेरि साइकलको रुपमा काम सुरू गरिन्छ ।

यही प्रकृयाबाट हाल सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ । ब्लास्टिङ गर्दा सुरुङ भित्रको काम हुँदैन । सुरुङको मुख नजिक ब्लास्ट हुँदा १५/२० मिनेट सुरुङमा कोही प्रवेश गर्न पाउने छैन । सुरुङको मुखभन्दा टाढा ब्लास्टिङ गरिएको खण्डमा आधा घण्टा बाहिर बस्नुपर्छ हुन्छ । त्यसपछि मात्र भित्र सुरक्षित पोशाकसहित कामदारहरू भित्र छिर्ने गर्छन् ।
ब्लास्टिङको बीचमा बाहिर अरु काम हुन्छ । सुरुङ फेसिड बनाउने कामहरू हुन्छ । एउटा कामलाई डिस्टर्ब नहुने गरी अन्य कामहरू पनि गरिन्छ । सुरुङ भित्र ५०/६० जनाले काम गर्छन् । जापानिज जनशक्तिले निर्देशन दिन्छन्, भने नेपाली जनशक्तिले त्यो निर्देशन अनुसार काम गर्छन् ।
सुरुङ बाहिर २०० नेपाली जनशक्ति खटिएका छन् । आयोजनामा करिब आधादर्जन संख्यामा फिलिपिन जनशक्ति समेत रहेका छन् । सुरुङ बाहिर मेन सुरुङमा लाइनिङ कङ्क्रिट (चिल्लो बनाउने) राख्नका लागि ‘फम वर्क’ भइरहेको छ । लाइनिङ कन्ट्रोल गर्न फम वर्क (सुरुङ आकारको फलामको भर्याङ जस्तो उपकरण) तयारी भइरहेको छ । यसमा चढेर लाइनिङको काम गरिनेछ । यसको फर्मिङ बन्दैछ । फिनिसिङ भएपछि लाइनिङको काम सुरू गरिन्छ । मेन सुरुङमा फिनिसिङ कङक्रिटका लागि फर्मिङ प्रयोग गरि लाइनिङ कन्ट्रोलको काम गरिनेछ ।

अहिले लाइनिङ कङक्रिट राख्ने काम भएको छैन । हाल वाटर प्रुफ मेम्रेन राख्ने काम मेन सुरुङमा भइरहेको छ । वाटर प्रुफ मेम्रेन राखिएको ठाउँमा लाइनिङ कङक्रिटको काम गरिनेछ ।
सुरुङ भित्र छिर्ने मुखैमा कार्यरत सबै जनशक्तिको नामहरू राखिएको छ । सुरुङ प्रवेश गर्ने क्रममा उक्त निलो रङमा रहेको नेम प्लेट रातो रङतर्फ फर्काएर जानु पर्ने हुन्छ । केही दुर्घटना भएको खण्डमा को कति सुरुङमा छन् भनेर थाहा पाउन यस्तो व्यवस्था गरिएको छ ।
सुरुङ भित्र अक्सिजनको कमी नहोस भनेर ठूलो पाइपमार्फत हावा जानका लागि भेन्टिलेसन राखिएको छ । यस्तै ड्रिलिङका क्रममा पानी आवश्यक पर्ने हुँदा पानीका दुई वटा पाइप जोडिएको छ । एउटा पाइपले ड्रिल गर्दा पानी भित्र पठाउने काम गर्छ भने, भित्र जम्मा हुने पानी अर्को पाइपमार्फत बाहिर फ्यालिन्छ ।

सुरुङ बाहिर हुँदै गरेका काम
सुरुङ बाहिर सडकमा ४५ मिटर वर्कपास ब्रिज बनाउने काम सम्पन्न भएको छ । दहचोक हुँदै आउने सवारी आवत जावतका लागि वर्कपास ब्रिज निर्माण गरिएको हो । नागढुंगा सुरुङमार्गबाट बाहिर बलम्बु जोड्ने एप्रोच रोड निर्माण गरिँदै छ । बलम्बुमा फ्लाइओभर बन्ने छ । यस सडकमा सर्भिस रोडहरू रहने छन् । त्यहाँ एकतर्फी सर्भिस रोडहरू निर्माण गरिनेछ । अहिले बक्स कल्भटहरू निर्माणको काम हुँदैछ ।
हालसमम एप्रोच रोडको १४० मिटरमा सब बेस खन्ने काम पूरा भएको छ । अहिले रोडको काम धेरै नभएको घिमिरेले बताए । सुरुङ बाहिर एप्रोच रोडमा ‘टोलगेट’ निर्माण गरिनेछ । उक्त टोलगेटबाट सवारीको तौल तथा उचाइ अनुसार मूल्य लिइ गाडी सुरुङबाट पास गरिनेछ ।
सुरुङबाट पठाउन नमिल्ने गाडी अर्को सडक बाट पठाइने छ । पेट्रोलियम ढुवानी सवारी र दुई पाङग्रे गाडी सुरुङबाट पास गर्न दिइने छैन । टोलगेटमा हाइट चेक गर्ने उपकरण राखिने छ ।
सुरुङको उचाइ १० मिटर हाराहारीमा रहेको छ । सुरुङ मुखबाट ७ मिटरसम्म उचाइ भएका गाडी प्रवेश दिइने छ । सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनले निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क भने सुरुङमार्ग संचालनमा आएपछि तोकिने जनाइएको छ । आयोजना हस्तान्त्रण गरेपछि अपरेसन एण्ड मेन्टेनेन्सका क्रममा मूलय निर्धारण गरिनेछ ।